भरतपुर, २६ माघ ।
चितवनको पटिहानीमा शनिबारदेखि सुरु हुने प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता–२०७४ को सबै तयारी पूरा भएको छ । भलिबल महोत्सवको रुपमा सञ्चालन गर्न लागिएको प्रतियोगिताका लागि कोर्ट निर्माणदेखि परिसर सजावटका सबै काम सम्पन्न भएको शुक्रबार खेलस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
दुई विदेशीसहित ७ टिम सहभागी हुने प्रतियोगितामा रोमाञ्चकारी महिला भलिबलसँगै सांस्कृतिक कार्यक्रम र खेलकुदका सामग्रीसहितको स्टलको अवलोकन पनि गर्न पाइने भएको छ । त्यसका लागि स्टल बनाइएका छन् ।
प्रतियोगितामा भारतबाट हरियाणा पुलिसको महिला टिम आउने भएको छ । यसअघि फ्रेञ्च क्लब कोलकाता आउने भनिएपनि अन्तिम समयमा भारतबाट हरियाणा पुलिस आउने तय भएको प्रतियोगिता संयोजक तथा भरतपुर महानगरपालिका २२ नम्बर वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।
त्यस्तै बंगलादेशको राष्ट्रिय महिला भलिबल टिम पनि सहभागी हुने भएको छ । साथमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड एकेडेमी काठमाडौं सहभागी हुनेछन् । तर, पहिले आउने भनिएको पश्चिमाञ्चल भलिबल संघको टिम भने खेलाडी घाइते भएका कारण अन्तिम समयमा नआउने भएका छन् । त्यसको ठाउँमा चितवनको एक टिमले सहभागिता जनाउने भएको प्रचारप्रसार समिति संयोजक रामहरि सेढाईंले जानकारी दिए । चितवनको टिम ‘चितवन टाइगर्स’ को नामले खेल्नेछ ।
जसमध्ये नेपाल आर्मी र न्यू डायमण्डका खेलाडीहरु पटिहानी झरिसकेको र अरु टिम क्रमशः आउने सेढार्इंंले जानकारी दिए । प्रतियोगिता हेर्नलाई अस्थायी प्याराफिटको व्यवस्था गरिएको छ । त्यसमा बस्नका लागि ५०, १०० र २०० का टिकट व्यवस्था गरिएका छन् ।
ठूला भलिबल प्रतियोगिताका लागि परिचित भरतपुर महानगरपालिकाको पटिहानीमा यो प्रतियोगिताकोे शनिबार आधारभूत विद्यालय धनौजीको खेलमैदानमा पूर्व प्रधानमन्त्री तथा यसै क्षेत्रका प्रतिनिधिसभा सांसद् पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।
प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने छ । प्रतियोगिता सम्पन्न गर्न २७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न १३ सदस्यीय स्टेयरिङ समिति, विभिन्न १६ उपसमिति, ५९ सदस्यीय सल्लाहकार समिति गठन गरिएका छन् ।