धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,२६ माघ ।
मिनी एयर क्राफ्ट (सानो प्लेन) निर्माण गरिरहेका राप्ती नगरपालिका–२, गड्यौलीका २० वर्षीय सरोज चेपाङलाई आर्थिक अभावले सताएको छ । ५ लाख रुपैयाँ खर्च गरिसकेको काम अहिले आर्थिक अभावले अघि बढ्न सकेको छैन ।
सरोज एक्लैले घरमै प्लेन निर्माण गरिरहेका छन् । उनले प्याराग्लाइडिङ पनि बनाइरहेका छन् । ६ कक्षासम्म मात्रै अध्ययन गरेका सरोजले ६ महिना अगाडिदेखि काम सुरु गरेका थिए । उनले पछिल्लो २० दिनयता नियमित निर्माणको काम गरेका थिए । तर, अहिले आर्थिक अभावले प्लेन निर्माण अवरुद्धजस्तै भएको छ ।
दुई जना चढ्न मिल्ने प्लेन बनाउने सोंचका साथ काम गरेपनि अहिले ठूलो ईञ्जिन खरिद गर्न आर्थिक अभाव भएको सरोजले बताए । “सुरक्षितरुपमा प्लेन उडाउन ठूलो ईञ्जिन आवश्यक पर्छ”, सरोजले भने, “तर आर्थिक अभावका कारण निर्माणको काममा अवरोध आएको छ ।” ६.५ हर्स पावरको तीन वटा ईञ्जिन भएपनि त्यसले नधान्ने भएकाले ठूलो ईञ्जिनको आवश्यकता रहेको उनले बताए ।
ठूलो ईञ्जिनका लागि करिब ७० हजारभन्दा बढी रकम आवश्यक पर्छ । सीमान्तकृत समुदाय चेपाङ युवा प्लेन निर्माण गर्दै भन्ने विषयमा कायाकैरनमा पहिलो पटक समाचार प्रकासित भएको थियो । प्लेन निर्माणमा आल्मुनियम, स्टील, स्कूटरको टायर, मोटरसाइकलको ब्रेक र क्लजलगायत सामग्री प्रयोग गरिएको छ । निर्माण कार्य सकिदा करिब डेढ क्वीन्टल तौलको सानो प्लेन बन्ने सरोजले बताए । प्लेन निर्माणको काम रोकिदा सरोजले प्याराग्लाईडिङ वनाएर उडाउने तयारी गरिरहेका छन् ।
प्लेन बनाउन आर्थिक समस्या परेकाले पहिला प्याराग्लाईडिङ उडाउने गरी काम गरिरहेको सरोजले बताए । प्याराग्लाइडिङको लागि प्यारासुट ल्याउन उनी यसैसाता पोखरा जाँदैछन् । प्यारासुट ल्याएको दुई तीन दिनभित्र खुल्ला चौरमा यसको परिक्षण गर्ने उनले वताए । सरोजको यो काममा उनको परिवारले पूर्ण साथ दिएको छ । कतारमा ड्राईभरको काम गर्ने उनका बुवाले कमाएको रकम छोराको इच्छा अनुसार प्लेन निर्माणमा खर्च गरेको सरोजकी आमा लिला प्रजाले जानकारी दिइन् । “सुरुआतमा छोराले काम गर्न सक्दैन कि भन्ने डर लागेको थियो”, लीला प्रजाले भनिन्, “तर, अहिले प्लेनको आकार आईसकेकाले ढुक्क पनि छु, सवैले तारिफ समेत गरिरहेका छन् ।”