भरतपुर,२६ माघ ।
सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले तेस्रो डिजीकम क्यान इन्फोटेक मेला बिहीबारदेखि भरतपुरमा सुरु भएको छ । कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान), चितवनको आयोजनामा भरतपुरको औद्योगिक प्रदर्शनी केन्द्रमा सुरु भएको तेस्रो संस्करणको क्यान इन्फोटेक मेला आगामी माघ २९ गतेसम्म चल्नेछ । मेलाको रोबर्टद्वारा उद्घाटन गरिएको छ ।
विभिन्न सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहेको मेलामा ८० कक्ष रहेका छन् । मेलाको उद्घाटन समारोहमा सम्बोधन गर्दै चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद् कृष्णभक्त पोखरेलले राज्य प्रणालीलाई प्रविधिमैत्री बनाउन आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिनुपर्नेमा जोड दिए । क्यानका अध्यक्ष हेमन्तकुमार चौरेसियाले सूचना प्रविधि क्षेत्रको विकासका राज्यको ध्यान जानुपर्नेमा जोड दिए ।
मेलामा व्यवसायीले व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनुका साथै एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने छन् ।
मेलामा हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, कन्सलटेन्सी र अन्य स्टल रहेका छन् । मेलाको प्रमुख आकर्षणमा विभिन्न प्रविधि प्रदर्शनी रहेका छन् । यस्तै इन्टर कलेज क्वीज प्रतियोगिता, अनुभव आदन प्रदान कार्यक्रम,सामाजिक संजाल र व्यापार सम्वन्धी गोष्ठी समेत मेलामा आयोजना गरिएको छ ।