भरतपुर, २३ माघ ।
प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगितामा अन्तिम आठको समीकरण पूरा भएको छ । कूल १६ टिम सहभागी प्रतियोगितामा मंगलबार भएको खेलसँगै ८ टिम दोस्रो चरणमा प्रवेश गरेका छन् भने बाँकी ८ टिम प्रतियोगिताबाट बाहिरिएका छन् ।
मंगलबारको खेलमा आयोजक एभरेष्ट क्लब चितवन ३–० गोलअन्तरले विजयी भएको छ । उसले नयाँवस्ती फुटबल क्लबलाई पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो । पहिलो हाफको १४औं मिनेटमा एभरेष्टका जर्सी नम्बर १० का देव गुरुङले गोल गरी टिमलाई सुरुआती अग्रता दिलाए ।
त्यस्तै कप्तान जर्सी नम्बर २० का मिलन गुरुङले पहिलो हाफको २५ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । मिलनले नै दोस्रो हाफको १७औं मिनेटमा व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्दै ३–० को जित दिलाए ।
म्यान अफ दी म्याच बनेका दोहोरो गोलकर्ता मिलनलाई युवा व्यवसायी हिम्मत पुरीले ट्रफी प्रदान गरे । फागुन २ गतेसम्म चल्ने खेलको विजेताले नगद २ लाख २२ हजार र उपविजेताले १ लाख ११ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा बुधबारबाट क्वाटरफाइनलका खेल सुरु हुने आयोजक क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । बुधबार पहिलो क्वार्टरफाइनल खेलमा बसन्तपुर युनाइटेड क्लब माडी र रामपुर फुटबल क्लब रामपुर भिड्नेछन् ।
यसैबीच सोमबारबाट सुरु गरिएको एभरेष्ट लक्की ड्रमा बुधबार ८३५३ नम्बरको टिकट खरिदकर्ता दर्शकले आकर्षक मोबाइल प्राप्त गरेको सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । एभरेष्ट लक्की ड्रमार्फत हरेक दिन एकजना टिकट खरिदकर्तालाई मोबाइल प्रदान गरिने आयोजकले जनाएको छ ।