गीतानगर,२१ माघ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयले देशका लागि चाहिने योग्य र दक्ष जनशक्ति उत्पादन गर्ने सवालमा विशिष्ट भूमिका निर्वाह गरेको बताएकी छन् ।
शहीद स्मृति माध्यमिक विद्यालय भरतपुर–६, पारसनगरको ५१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको शनिबार उद्घाटन गर्दै महानगर प्रमुख दाहालले सामुदायिक विद्यालयको स्तरोन्नति देशकै समस्याको रूपमा रहेको भन्दै महानगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरूको क्षमता विकास र बिस्तारमा महानगरपालिकाले विशेष पहल गर्ने बताइन् । उनले अधिकांश निम्न र मध्यमवर्गीय परिवारका विद्यार्थी पढ्ने सामुदायिक विद्यालयको स्तर निजी विद्यालय सरह बनाउनुपर्नेमा जोड दिए । सामुदायिक विद्यालयले राष्ट्रका लागि आवश्यक योग्य जनशक्ति उत्पादन गरिरहेको बताउँदै उनले अबको शिक्षा सीपमूलक र जीवनोपयोगी हुनुपर्ने बताइन् ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विष्णु तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष हरिविलास कोइरालाले विद्यालयको क्षमता बिस्तारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । उक्त अवसरमा विद्यार्थीले साँस्कृतिक कार्यक्रम र पिटी प्रस्तुत गरेका थिए । वार्षिकोत्सवको अवसरमा विद्यालयका पूर्वविद्यार्थी तथा समाजसेवी झलक केसीले स्वर्गीय बाबुआमाको स्मृतिमा एक लाख रूपैयाँको असहाय विद्यार्थी अक्षयकोष स्थापनाको घोषणा गरे । विद्यालयका प्रधानाध्यापक दिपेश पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सव समारोहमा चन्दादाता, अक्षयकोष स्थापनाकर्ता तथा सहयोगीलाई सम्मान गरिएको थियो । विद्यालयमा शिशुदेखि १० कक्षासम्म छात्रा २ सय ७ र छात्र २ सय ३४ गरी ४ सय ४१ जना विद्यार्थीले अध्ययनरत छन् ।