भरतपुर, २१ माघ ।
अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा भरतपुर अस्पतालका सञ्जय बराल निर्वाचित भएका छन् ।
भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा शनिबार सम्पन्न तेस्रो महाधिवेशनले बरालको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । युनियनको वरिस्ठ उपाध्यक्षमा सेती अञ्चल अस्पतालका लोकराज पाण्डे, महासचिवमा कोशी अञ्चल अस्पतालका नवराज लुइँटेल, सचिवमा भेरी अञ्चल अस्पतालका अरुण खनाल, सहसचिवमा मनोजकुमार देव र कोषाध्यक्षमा बद्री बस्नेत चयन भएका छन् ।
त्यस्तै महाधिवेशनले ५ वटा प्रदेशमा प्रदेश प्रमुख चयन गरेको छ । बाँकी २ प्रदेशमा मनोनीत गरिने छ । प्रदेश नम्बर १ मा बद्रीप्रसाद दाहाल, प्रदेश २ मा सञ्जयकुमार गुप्ता, ३ मा सुरेन्द्र केसी, ५ मा अर्जुनजंग शाही र ७ मा नरेन्द्र थारु चयन भएका छन् । महाधिवेशनले ६१ सदस्यीय परिषद् पनि गठन गरेको छ । शनिबारै नवनिर्वाचित पदाधिकारीलाई प्रमुख निर्वाचन अधिकृत राधा पोखरेलले सपथ ग्रहण गराएकी छन् ।
महाधिवेशनले ९ बुँदे चितवन घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा नियामालीअनुसार वृत्तिविकास र बढुवाको व्यवस्थापन, तहगत कर्मचारी व्यवस्थामा कर्मचारी समायोजनको समस्या समाधानको पहल गर्नुपर्ने उल्लेख छ । नवनिर्वाचित अध्यक्ष बरालले कर्मचारीहरुमाथि करारको नाममा हुने श्रमशोषण अन्त्य गर्नुपर्ने बताए । उनले करार निर्देशिका खारेज तथा नियमावली संसोधन गरी दरबन्दीअनुसार करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई यथाशीघ्र स्थायी गर्ने प्रबन्ध गर्न माग गरे । युनियनमा देशभरिबाट करिब १२ हजार कर्मचारी संलग्न छन् ।