विप्लव काफ्ले/कायाकैरन
भरतपुर, २० माघ ।
उपप्रधान तथा ऊर्जा तथा शहरी विकासमन्त्री कमल थापाले अब नेपालमा लोडसेडिङ नहुने अवस्था सिर्जना भएको बताएका छन् । मिडिया नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले भारतबाट विद्युत् आपूर्ति भरमा लोडसेडिङमुक्त बनाउने कामको अन्त्य हुन लागेको दावी गरेका छन् । “भारतबाट आपूर्ति हुँदै आएको विद्युत् चैतसम्म आउने सम्झौता थप भएको छ”, उनले भने, “त्यसलगत्तै २÷३ वटा आयोजना थपिदैछन्, सधैका लागि लोडसेडिङ अन्त्य हुन्छ ।” विगतको सरकारले भारतसँग सम्झौता गरी विद्युत् आपूर्ति गरेर नेपालमा लोडसेडिङ अन्त्य गरेको थियो ।
“सम्झौताको म्याद सकिएको थियो, पैसा बढाउनुपर्ने माग भारतसरकारको थियो”, उनले भने, “सम्झौता नथपिदा लोडसेडिङ गर्नुपर्ने अवस्था थियो, तर पुरानै सम्झौताको म्याद बढाइएको छ, पुरानै रकमा विद्युत् आपूर्ति हुनेछ ।” उनले ऊर्जा मन्त्रालयले राष्ट्रिय महत्वका आयोजनालाई चाँडो सम्पन्न गराएर राष्ट्रिय प्रसारणमा जोड्ने कामलाई प्राथमिकता दिएकाले सधंैका लागि अँध्यारो नहुने अवस्था सिर्जना भएको जिकिर गरे ।
“सौर्य र वायु ऊर्जा विकास गर्ने स्पष्ट नीति र कार्यविधि तयार गरेर कार्यान्वयन गराएका छौँ”, ऊर्जामन्त्री थापाले भने, “नेपालमा जलविद्युत् सरहनै सौर्य र वायु ऊर्जाको सम्भावना छ, अब ऊर्जा विकास गर्न आगामी सरकारलाई सहयोग पुग्छ ।” उनले बुढीगण्डकी जलविद्युत् आयोजनालाई स्वदेशी स्रोत साधनबाटै निर्माण गर्ने निर्णय मन्त्रालयको निकै साहसिक निर्णय भएको बताए । उनले विगतको सरकारले अनियमित र अपारदर्शी ढंगले विदेशी ठेकेदार कम्पनीलाई निर्माण गर्न दिने निर्णय सञ्चाइएको बताए । छोटो अवधिमा सरकारमा रहने अवस्था बनेपनि मन्त्रालयले महत्वपूर्ण काम सम्पादन गर्ने काम गरेको दावी गरे ।
प्रदेश राजधानी फेरिदैन
उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले सरकारले प्रदेश तीनको राजधानी हेटौंडाबाट सार्न नमिल्ने बताएका छन् । थापाको गृह जिल्लासमेत रहेको हेटौंडालाई अस्थायी राजधानी बनाउन मन्त्रिपरिषद् बैठकमा निकै कसरत गरेको बताएका छन् ।
“प्रदेश ३ को राजधानी काठमाडौं बनाउने प्रस्ताव पुगेको थियो, यो उपयुक्त छैन, काठमाडौं यसैपनि देशको राजधानी हो”, उनले भने, “हेटौंडा हुनुपर्छ भनेर धारणा राखें, ठूलै बहस भयो, क्याविनेटले निर्णय गर्न धेरै समय नै लगायो, अन्ततः राजधानी तोकियो, अब सार्नु हुँदैन ।” उनले तीन नम्बर प्रदेशका १२ जिल्लाबाट झण्डै ४ घण्टामा हेटौंडा पुग्न सकिने, सबै पूर्वाधार पुगेको, केन्द्रमा परेकाले हेटौंडालाई नै राजधानीका रुपमा लैजान सबै राजनीतिक दल सकारात्मक बन्ने दावी गरे । फाष्ट ट्रयाक, सुरुङ मार्गलगायतका पूर्वाधार विकास भएपछि हेटौंडा झनै उपयुक्त क्षेत्र बन्ने बताए । उनले हेटौंडा प्रदेशको राजधानी बन्दा जनतालाई कुनै मर्का नपर्ने बताए ।
विदेशी नेता आउँदा अस्वाभाविक व्यवहार
उपप्रधानमन्त्री थापाले विदेशी नेता आउँदा नेपालमा अस्वाभाविक व्यवहार देखाउने प्रचलन हटाउनुपर्ने बताएका छन् । उनले नेपालमा कुटनीतिक मर्यादालाई उचित किसिमले पालना नहुने गरेको जिकिर गरे ।
पूर्व पराष्ट्रमन्त्रीसमेत भइसकेका थापाले भने, “नेपालका उच्च पदस्थ अधिकारी विदेश जाँदा धेरै अनुभव संगालेका छन् । तर, नेपालमा विदेशी नेता वा पदाधिकारी आउँदा अस्वभाविक व्यवहार देखाउँछन् ।” उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण नेपाल सरकारको कार्यक्रम अनुसार नभएकाले उनले गर्ने राजनैतिक भेटवार्ताको प्राथमिकताबारे नकारात्मक टिप्पणी गर्न नहुने बताए । अनौपचारिक राजनैतिक भ्रमण भएकाले कुन दललाई पहिला भेटे भन्ने कुरा महत्वमा नपर्ने जिकिर गरे ।
अस्थिर भूमिका नै पराजयको कारण
राप्रपाका केन्द्रीय अध्यक्ष थापाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीले नसोचेको पराजय भोग्नुपरेको बताएका छन् । उनले संविधान संशोधनमा लिएको अस्थिर अडानले पार्टीले पराजय भोग्नुपरेको स्वीकार गरेका छन् । सरकारमा सहभागिताको विषयमा देखिएका भ्रम निराकरण गर्न नसक्दा पार्टीले सोचेजस्तो जनमत पाउन नसकेको बताए ।
“पराजय भोग्नुपरेपनि पार्टीलाई सुधारे अघि बढ्छौँ, राष्ट्रवादी विचार मर्दैन”, उनले भने, “राष्ट्रवादीधारलाई प्रतिनिधित्व गर्ने दलका रुपमा उभ्याउँछौं ।” प्रतिनिधिसभामा १६० क्षेत्र, प्रदेशसभामा ३२० क्षेत्रमा आफ्नो दलको उम्मेदवार नउठाउनु गम्भीर भूल हुन पुगेको बताए । अधिकांश क्षेत्रमा उम्मेदवार नरहेपनि जनताले मतदान गरेको बताए । धेरै क्षेत्रमा उम्मेदवार उठाएको भए ५ प्रतिशत मत सहजै आउने दावी गरे । सबैधर्मबीच समानता सहितको हिन्दुराष्ट्र, राजसंस्था सहितको लोकतन्त्र एजेण्डा लिएको पार्टीले ३ प्रतिशत पनि मत ल्याउन नसक्नु निकै आर्चयजनक रहेको बताए ।
‘सरकार छाड्न आतुर छु’
नवौंपटक मन्त्री बनेका कमल थापाले सरकार छाड्न तयार रहेको बताएका छन् । उनले कानूनबमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु भएकाले सरकारबाहिर बस्न आँफु तयार रहेको बताएका छन् ।
“सरकारमा आउने, जाने कुनै चिन्ता छैन”, उनले भने, “सरकार बनेपछि हट्नैपर्छ, कुनै चिन्ता लिएको छैन ।” उनी वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवको नेतृत्वको सरकारमा दुई पटक, पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी ओली, लोकेन्द्रबहादुर चन्द, तत्कालिन राजा ज्ञानेन्द्र नेतृत्वको सरकारमा १÷१ पटक, सूर्यबहादुर थापा नेतृत्वको सरकारमा ३ पटक मन्त्री बनेका थिए । २०५२ भदौमा पहिलो पटक मन्त्री बनेका थापा पछिल्लो पटक असोज २८ मा उपप्रधानमन्त्री बनेका थिए ।