भरतपुर, १९ माघ ।
लियो क्लब बैदिकनगरले भरतपुर–१६ स्थित आधारभूत विद्यालय मदनपुरमा स्वास्थ्य शिविर गरेको छ । भरतपुर आँखा अस्पताल र नेष्नल सिटी हस्पिटलको प्राविधिक सहयोगमा दन्त तथा आँखा शिविर गरिएको हो ।
८ कक्षासम्म पढाइ हुने सो विद्यालयमा अध्ययनरत २ सय २५ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको क्लबका अध्यक्ष विवेक कँडेलले जानकारी दिए । स्वास्थ्य जनचेतना सम्बन्धि कार्यक्रम समेत गरिएको थियो । सो अवसरमा क्लबमा आवद्ध ३३ जना लियोहरुको अगुवाईमा संकलित रकमबाट विद्यालयमा यूभि फिल्टर र पानी ट्यांकी समेत जडान गरिएको छ । विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था मिलाउन आर्थिक सहयोग संकलन गरेर विद्यालयमा फिल्टर र ट्यांकी जडान गरिएको कार्यक्रम संयोजक रोशन गैरेले जानकारी दिए । कार्यक्रममा लायन्स क्लब बैदिकनगरका अध्यक्ष ठानेश्वर कँडेल, एञ्जल मोबाइल हाउसका सञ्चालक अर्जुन गौतम लगायतको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद दवाडीले लियो क्लबको सहयोगप्रति खुशी व्यक्त गरे ।