भरतपुर, १९ माघ ।
चितवनको पटिहानीमा आयोजना गर्न लागिएको प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितालाई महोत्सवको स्वरुप दिइने भएको छ । दुई विदेशीसहित ७ टिम सहभागी हुने प्रतियोगितामा रोमाञ्चकारी महिला भलिबलसँगै सांस्कृतिक कार्यक्रम र खेलकुदका सामग्रीसहितको स्टलको अवलोकन पनि गर्न पाइने भएको छ ।
“पर्यटकीय नगरी पटिहानीलाई हामी झकिझकाउ बनाउँदैछौं”, प्रतियोगिता मूल संयोजक विष्णुराज महतोले भने, “२० स्टलसहित राखेर सानो महोत्सवकै झल्को दिदैछौं ।” त्यसका लागि तयारीको क्रम तीव्र बनाइएको उनले बताए ।
भारतको फ्रेन्च क्लब कोलकाता र र बंगलादेशको एउटा टिम सहभागी हुने पक्का भइसकेकोले खेल रोमाञ्चक हुने प्रचारप्रसार समिति संयोजक रामहरि सेढार्इंंको विश्वास छ । यसका साथै विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल भलिबल संघको टिम र न्यू डायमण्ड एकेडेमी काठमाडौं सहभागी हुनेछन् । प्रतियोगिता हेर्न ५०, १०० र २०० का टिकट व्यवस्था गरिदैछ ।
ठूला भलिबल प्रतियोगिताका लागि परिचित भरतपुर महानगरपालिकाको पटिहानीमा यो प्रतियोगिता आगामी माघ २७ गते सुरु गरिनेछ । प्रतियोगिता भरतपुर महानगरपालिका वडा नम्बर २२ ले आयोजना गर्न लागेको हो । प्रतियोगिता फागुन १ गतेसम्म आधारभूत विद्यालय धनौजीको खेलमैदानमा हुनेछ । प्रतियोगिता उद्घाटन गर्न पूर्व प्रधानमन्त्री तथा यसै क्षेत्रका प्रतिनिधिसभा सांसद् पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समापन गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पटिहानी आउने निधो भइसकेको वडाध्यक्षसमेत रहेका मूल संयोजक महतोले जानकारी दिए ।
पटिहानीमा ४ दशकदेखि निरन्तर भलिबल प्रतियोगिता गरिदै आएको छ । स्थानीय पद्मोदय युवा क्लबको आयोजनामा २०७२ सालमा अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल गरिएको थियो ।
प्रतियोगिता सम्पन्न गर्न १३ सदस्यीय स्टेयरिङ समिति, विभिन्न १६ उपसमिति, ५९ सदस्यीय सल्लाहकार समिति गठन गरिएका छन् । प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने छ । प्रतियोगिता सम्पन्न गर्न २७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।
पटिहानीमा विभिन्न स्तरका पुरुष भलिबल त धेरै नै भएका छन् । “तर, महिलाहरुको पहिलो पटक अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुन लागेकोमा हामी हर्षित छौं”, प्रचारप्रसार संयोजक सेढाईंले भने, “विगतको अनुभवले हामीलाई धेरै सिकाएको छ, त्यसैको आधारमा यसपालिको प्रतियोगिता भव्य बनाउँदैछौं ।”