धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,१९ माघ ।
“पढेर जागिर खाए स्टाफले मात्रै चिन्छन् । तर, राम्रो खेलाडी बन्न सके सारा विश्वले चिन्नेछन्, बच्चाहरुलाई आफ्नो चाहनाविपरीत गर्नु हुँदैन”, यसो भनेका थिए कुनैदिन नेपालका चर्चित लेग स्पीनर सन्दीप लामिछानेले परिवारसँग ।
वर्ष २०१८ को इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्सबाट खेल्नका लागि बोलकबोलबाट छानिएका नेपाली उदयीमान क्रिकेटर सन्दीपका बाबु चन्द्रनारायण ती दिन सम्झिदै भन्छन्, “उसले देखेका सपना र चाहना पूरा भएको छ, यसले हाम्रो खुसीको सीमा छैन ।” सन्दीपको चर्चा यसपालिको बोलकबोल (अक्सन) मा परेदेखि नै हुन थालेको थियो । दिल्लीले किनेपछि झनै बढेर गयो । यसकै कारण उनका परिवार मात्रै होइन, सारा नेपालीले उनको प्रशंसा गर्दै गौरव महसुस गरिरहेका छन् ।
पढाइभन्दा बढी लगाव उनले क्रिकेटमा दिन्थे पहिलेदेखि नै । तर, पढाइमा पनि बाबुआमालाई जनाएको प्रतिबद्धता भन्दै बढी नै अंक सन्दीपले ल्याउँथे । “सानो उमेर भएकाले पढाइलाई बढी प्राथमिकता दिनुपर्छ भनेर केही हस्तक्षेप गथ्र्यौं”, बाबु चन्द्रनारायणले भने, “तर क्रिकेटमा बढी लगाव रहेकाले हामीले कहिल्यै उसको विपरीत गरेनौं, पढाइसँगै क्रिकेटलाई पनि अघि बढाउँदै लैजान्थ्यो ।”
स्याङ्जाको आरुचौरमा जन्मिएका सन्दीप करिब चार पाँच वर्ष त्यहीं बसे । बाबुको जागिर भारतमा रहेकाले पछि उनका परिवार उतै लाग्यो । सन्दीपका बाबु भारतीय रेल्वे स्टेशनमा काम गर्थे । सन्दीपले सात कक्षासम्म भारतमै अध्ययन गरे । भारतमा रहँदा पनि क्रिकेटलाई आफ्नो जीवन ठान्दै लगाव झनै बढाउँदै लगे । “भारतमा विद्यालयस्तरीय प्रतियोगितामा सन्दीपले सहभागिता जनाउँथ्यो, एकेमेडीबाट पनि खेल्थ्यो”, चन्द्रनारायणले सम्झे । सन्दीपको चाहनाबमोजिम उनी भारत छाडेर स्वदेश फर्किए । दिदी भिनाजुको घर नवलपरासी देवचुलीमा आएर अध्ययन सुरु गरे । यहाँ आएपछि अध्ययन भन्दा बढी क्रिकेटमा उनको रुचि बढ्दै गयो । दिदी भिनाजुले पनि साथ दिए ।
सन्दीप प्लस टु उत्तीर्ण छन् । अध्ययनकै क्रममा देवचुलीबाट नारायणगढ आई उनले प्रशिक्षण लिन सुरु गरे । नारायणगढमा चितवन जिल्ला क्रिकेट संघ र अध्यक्ष कैलाश प्रधानको सहयोगमा चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षण सुरु गरे । प्रशिक्षक राजु खड्काले उनलाई सिकाउन थाले ।
सन्दीपको खेललाई नियालेका नेपाली क्रिकेटका तत्कालीन प्रशिक्षक पुवुदु दसानायकेले काठमाडौं लगी अभ्यास गराए । सुरुमा अण्डर नाइन्टिनमा सहभागिता जनाएका सन्दीपले चामत्कारिक प्रदर्शन गर्दै गए । उनले सन् २०१६ मा राष्ट्रिय टोलीमा सहभागिता जनाउने मौका पाए । क्याम्पमा रही उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि बंगलादेश यु–१९ विश्वकप २०१६ खेल्ने टिममा सन्दीप छनौट भएका थिए । यु–१९ विश्वकप २०१६ मा सन्दीप प्रतियोगिताकै सर्वाधिक विकेट लिने सूचीमा १४ विकेटसहित दोस्रो स्थानमा थिए । आईसीसीले सन्दीपलाई उक्त यु–१९ विश्वकपको उत्कृष्ट ११ क्रिकेटरको सूचीमा समेत परेका थिए । सन्दीपले बंगलादेश यु–१९ विश्वकप २०१६ मा आयरल्याण्डसँग ह्याट–ट्रिकसहित ५ विकेट लिएका थिए ।
२०१६ अप्रिलमा नामिबियासँगको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको खेलमा सन्दीपले नेपाली रास्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका थिए । सन्दीपलाई हङकङ टि–२० ब्लीटज २०१६ खेल्न बोलाइएको थियो । त्यहाँ उनले अस्ट्रेलियन पूर्वकप्तान माईकल क्लार्कसँग काउलुन क्यान्टोन क्लबबाट खेल्ने मौका पाएका थिए, जहाँ उनको प्रदर्शनबाट प्रभावित भएर क्लार्कले उनलाई अस्ट्रेलियामा आफ्नो एकेडेमीमा अभ्यासका लागि बोलाएका थिए । उनले अस्ट्रेलियामा वेस्टर्न सबर्ब क्लबबाट न्यू साउथ वेल्स प्रिमियर प्रथम श्रेणी क्रिकेट खेलेका थिए । सन्दीपलाई २०१७ फेब्रुअरीमा चर्चित बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले विश्वकै उत्कृस्ट युवा क्रिकेटरहरुको सूचीमा सामेल गरेको थियो । पहिले सन्दीप क्लार्कको खेल पछ्याउँथे । अहिले भने क्लार्क सन्दीपको हरेक खेल पछ्याउँछन् । सिंगापुरमा ६ महिनाअघि युथ–१९ विश्वकप छनोटमा सन्दीपले मलेसियाविरुद्ध ७ विकेट लिएपछि क्लार्कले सामाजिक सञ्जालमार्फत बधाई दिने क्रममा लेखे, ‘गुड ब्वाई । ह्याप्पी फर हिम ।’
कम उमेरमा राष्ट्रिय टोलीमा पर्ने सन्दीप कान्छा खेलाडी हुन् । राष्ट्रिय टोलीमा परेर अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा समेत उनले आश्चर्यजनक प्रदर्शन गर्दै गएका छन् । नेपालमा भएको केन्या विरुद्धको खेल हेर्दा उनका बाबुलाई छोराले क्रिकेटमा ठूलै छलाङ मार्छ भन्ने लागेको थियो । “केन्याविरुद्धको खेल मैले काठमाडौंमा प्रत्यक्ष हेर्ने मौका पाएँ”, चन्द्रनारायणले भने, “यहाँसम्मको आश थिएन, भाग्यले साथ दियो र मिहेनतअनुसार सफलता हासिल ग¥यो ।” उनकै प्रदर्शनकै कारण आईपीएलमा दिल्लीले बोलकबोलमा भारु २० लाखमा खरिद ग¥यो ।
पछिल्लो पटक पुसको १९ गते भेट भएपछि सन्दीपका परिवारले उनलाई भेट्ने मौका पाएको छैन । सन्दीप अहिले अभ्यास खेलका क्रममा यूएई छन् । यूएईविरुद्धको बुधबारको दोस्रो अभ्यास खेलमा सन्दीपले ४ विकेट लिए । यूएईपछि उनी डिभिजन टु खेल्न नामिविया जानेछन् ।
सन्दीपले क्रिकेटमा पाएको सफलताले उनकी आमा कोपिलादेवी लामिछानेको खुसीको सीमै छैन । “खेल्नेलाई रोक्न हामीले सकेनौं, एकपछि अर्को सफलता हासिल गर्दै गयो” आमा कोपिलादेवीले भनिन्, “योभन्दा खुसी अरु केमा होला ?” त्योबेलाको लगाव र मिहनेतका कारण अहिले विश्वभर सन्दीपको नाम चर्चामा रहँदा उनका परिवार मात्रै नभई सारा नेपाली हर्षविभोर छन् । सन्दीपले क्रिकेटमा पाएको सफलतापछि उनका परिवारलाई बधाईको ओइरो लागेको छ । छोराका कारण अहिले नेपालभर चिनिने मौका पाउँदा उनको परिवार दंग छ । सन्दीप कान्छा सन्तान हुन् । उनका तीन दिदी र एक दाजु छन् । सन्दीपका बाबु आमा, भाउजू र भतिजी रत्ननगर–८ मा बस्दै आएका छन् भने दाजु मोहन लामिछाने भारतीय रेल्वे स्टेशनमै कार्यरत छन् । आईपीएल आगामी अप्रिल ७ देखि सुरु हुँदैछ ।