रत्ननगर,१९ माघ ।
रत्ननगर नगरपालिकाको दोस्रो नगर सभाले विकासका लागि ११ बुँदे योजना पारित गरेको छ । नगर सभाले विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य तथा सिंचाईलाई प्राथमिकता दिएर योजना पारित गरेको हो ।
नगर सभाले रत्ननगरमा बसपार्क निर्माण गर्ने, सौराहाचोकमा आकासे पुल निर्माण गर्ने, मुख्य राजमार्गमा ट्राफिक आइल्याण्ड निर्माण गर्नेलगायत योजना पारित गरेको नगर प्रमुख नारायण वनले जानकारी दिए । सौराहाचोकमा आकासे पुल निर्माणको लागि प्रक्रिया सुरु भइसकेको उनले बताए । नगर सभाले करको दायरा बाहिर रहेकालाई करको दायरामा ल्याउन करदातालाई तथ्यांक संकलन, करको दायरामा ल्याउने र कर संकलन गर्ने प्रयोजनार्थ घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको वनले जानकारी दिए ।
सार्वजनिक जग्गा व्यवस्थापन गरी वडा नम्बर १ र २ मा नेपाल माविको जग्गासँग सटेको तथा बुढीकुलो वारिपारि रहेको जग्गामा साना सवारीसाधनको पार्किङस्थल निर्माण गर्ने र सो निर्माण गर्न नगर कार्यपालिकाबाट बजेट विनियोजन गर्ने नगर सभाले निर्णय गरेको छ । नगरपालिकाले नगरभित्रको शिक्षालाई प्रभावकारी बनाउन नगरभित्रका दुई वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनको लागि आवश्यक आर्थिक सहयोग गर्ने निर्णय भएको छ ।
नगर सभाले पिठुवामा रहेको जनजागृति मावि र रत्ननगर–१० मा रहेको वैरिया माविलाई प्राविधिक शिक्षा सञ्चालनको लागि आगामी नगर सभाबाट २५–२५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता सरस्वती लामाले जानकारी दिइन् । कृषि क्षेत्रको विकासको लागि नगरपालिकाले सिंचाईअन्तर्गत डीपवेल तथा स्यालो ट्युव कार्यक्रम सञ्चालन गर्ने, वडा नम्बर ९ मा रहेको इकोपार्कमा साँस्कृतिक पहिचान झल्कने घर निर्माण गर्ने र त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णय गरेको प्रवक्ता लामाले जानकारी दिइन् ।