हेटौँडा (मकवानपुर), १९ माघ ।
प्रदेश नं ३ प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो ऐतिहासिक बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले जनादेश बमोजिम स्थायित्व र सुशासनका लागि सबै एकजुट हुन आह्वान गरेका छन् । सात प्रदेशमध्ये धेरै सांसद (११० सदस्य) भएको प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य डोरमणि पौडेलले बिहीबार यहाँ बैठक प्रारम्भ गर्दै प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त पहिलो अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएपछि दलका सांसदहरूले दलीय प्रतिनिधित्वका आधारमा मन्तव्य राखे ।
छलफलमा भाग लिँदै नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्यले जनताले राजनीतिक स्थिरता, समृद्धि, सुशासन र न्यायका लागि जनादेश दिएकाले इमान्दारिता र जवाफदेहिताका साथ अघि बढ्न आग्रह गरिन् । उनले प्रदेश नम्बर ३ लाई नमूना बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो र जनआकांक्षालाई पूरा गर्न यो सभा सक्षम हुने विश्वास व्यक्त गरिन् ।
नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्मरकट्टेलले मुलुकको परिवर्तनका लागि पटक पटक भएका आन्दोलन र प्राप्त उपलब्धीको रक्षा गर्दै आर्थिक विकासका लागि सबै लाग्नुपर्ने बताए । नेपाली कांग्रेसका इन्द्र बानियाँले वीरगञ्ज भन्सारसँग जोडिएको र काठमाडौँ हेटौँडा द्रुत मार्ग पनि बन्दै गरेकाले प्रदेशको राजधानी मकवानपुर नै वैज्ञानिक हुने बताए । उनले सहमति, सहकार्य र एकतासहित लोकतान्त्रिक मूल्य मान्यताका साथ अघि बढ्न आग्रह पनि गरे ।
विवेकशील साझा पार्टीका रमेश पौडेलले राजनीतिक परिवर्तनको खोजीमा मुलुकले लामो समय व्यतित गरे पनि नयाँ संविधान प्राप्त भइसकेकाले अबको समय सहभागितामूलक लोकतन्त्रलाई व्यवहारमा उतार्न जोड दिइनुपर्ने बताए । नेपाल मजदुुर किसान पार्टीका सुरेन्दराज गोसाईंले प्रदेशहरूबीचको आपसी सम्बन्ध विस्तार गर्दै क्षेत्रीय र जातीय नारा भन्दा सन्तुलित विकास अबको गन्तव्य हुनुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का रीना गुरुङले एकात्मकबाट संघात्मक प्रणालीमा रुपान्तरित भए पनि संघीयतालाई मुलुकले थेग्न नसक्ने हो कि भन्ने शंका उपशंका मेट्ने गरी काम गर्न सक्नुपर्ने विचार व्यक्त गरिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रीता माझी र स्वतन्त्र (नयाँ शक्ति नेपाल) सांसद प्रेमबहादुर तामाङले प्रदेश सरकार छिटो चयन भई जनताका आशा अपेक्षा पूरा गर्ने तदारुकता देखाइनुपर्नेमा जोड दिए । बैठकले प्रदेशसभा सञ्चालन नियमावली नबनेसम्मका लागि दलीय सहमतिका आधारमा तयार गरिएको प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ लाई सर्वसम्मतिले पारित ग¥यो ।
सभामुखको निर्वाचन माघ २७ गते
प्रदेश नं ३ को प्रदेशसभाको सभामुख निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । सो प्रदेशसभाको प्रथम अधिवेशनको बिहीबारको पहिलो बैठकबाट पारित प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ को ६ (१) बमोजिम सचिवालयका सचिव डा. रोजनाथ पाण्डेद्वारा जारी सूचनामा यही माघ २७ गते बिहान १० देखि १०ः३० बजेसम्म प्रदेशसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत हुने, सोही दिन १ बजे उम्मेदवारहरूको नामवाली क्रमानुसार प्रकाशित गर्ने र ३ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रस्तावक र समर्थकले प्रस्ताव प्रस्तुत गरी बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम छ । वाम गठबन्धनको सहमतिअनुसार यस प्रदेशसभाको सभामुखमा नेकपा (एमाले) बाट हुनेछ । रासस