भरतपुर, १७ माघ ।
चितवनको पटिहानीमा आयोजना गर्न लागिएको महिला भलिबल प्रतियोगितामा दुई विदेशी टिम पनि सहभागी हुने भएका छन् । पहिले राष्ट्रिय महिला भलिबल प्रतियोगिता भनिएको यो प्रतियोगितालाई अब अन्तर्राष्ट्रिय आमन्त्रण भनिने भएको छ ।
भारतको हरियाणा पुलिसको महिला टिम र बंगलादेशको एउटा टिम सहभागी हुने पक्का भएको प्रचारप्रसार समिति संयोजक रामहरि सेढार्इंंले जानकारी दिए ।
ठूला भलिबल प्रतियोगिताका लागि परिचित भरतपुर महानगरपालिकाको पटिहानीमा यो प्रतियोगिता ‘प्रथम मेयर कप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता’ को नामबाट आगामी माघ २७ गते सुरु गरिनेछ ।
प्रतियोगिता भरतपुर महानगरपालिका वडा नम्बर २२ ले आयोजना गर्न लागेको हो । प्रतियोगिता फागुन १ गतेसम्म आधारभूत विद्यालय धनौजीको खेलमैदानमा हुनेछ ।
पटिहानीमा ४ दशकदेखि निरन्तर भलिबल प्रतियोगिता गरिदै आएको छ । स्थानीय पद्मोदय युवा क्लबको आयोजनामा २०७२ सालमा अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल गरिएको थियो ।
यसपालिको प्रतियोगिता उद्घाटन गर्न पूर्व प्रधानमन्त्री तथा यसै क्षेत्रका प्रतिनिधिसभा सांसद् पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाउने निधो भइसकेको मूल आयोजक समितिका संयोजक तथा वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए । उनले प्रतियोगिता तयारी तीव्र पारिसकेको जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न विभिन्न १६ उपसमिति गठन गरिएको अध्यक्ष महतोले जानकारी दिए । प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल, न्यू डायमण्ड एकेडेमी र भारतको एक टिम गरी ६ टिमको सहभागिता रहने प्रचार–प्रसार उपसमितिका संयोजक रामहरि सेढाईंले जानकारी दिए ।
प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रचार–प्रसार उपसमितिका संयोजक सेढाईंले जानकारी दिए ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने छ ।
प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । चितवनमा महिलाहरुको पहिलो पटक अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुन लागेको हो ।