भरतपुर,१७ माघ ।
चितवनको शक्तिखोरमा निर्माण हुन लागेको देशकै ठूलो औद्योगिक क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)को काम सुरु भएको छ ।
काठमाडौंको ईको कोड नेपाल प्रा.लि.ले डीपीआरको काम सुरु गरेको हो । माघ ७ गतेबाट सुरु भएको डीपीआर प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाइएको छ । (मंगलबार)स्थानीय जनप्रतिनिधिको उपस्थितिमै डीपीआर प्रक्रियालाई तीव्रता दिइएको छ । ईको कोड नेपाल प्रा.लि.का ईञ्जिनियर कुमार धमलाले ६ महिनाभित्रमै डीपीआर पूरा गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिए । उनले डीपीआरको काम सकिएलगत्तै ईआईए पनि तत्काल सुरु गरिने बताए । त्यसलगत्तै औद्योगिक क्षेत्रको शिलान्यास गरिनेछ ।
शक्तिखोर औद्योगिक क्षेत्र कालिका नगरपालिकाको वडा नम्बर ३, ७ र ८ मा पर्दछ । यहाँको एक हजार ७ सय ४१ विघा क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । सरकारले ‘एक प्रदेश, एक औद्योगिक क्षेत्र’ निर्माण गर्ने अवधारणाअनुसार प्रदेश नम्बर ३ का लागि चितवनमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । मंगलबार चितवन उद्योग संघका पदाधिकारी, वडा अध्यक्ष, डीपीआर गरिरहेको टोलीले औद्योगिक क्षेत्रको निरीक्षण गरेको छ ।
औद्योगिक क्षेत्र निर्माणको सबै काम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड गरिरहेको छ भने चितवन उद्योग संघले निर्माणको अगुवाइ गरिरहेको छ । संघका अध्यक्ष भेषराज दुवाडीले शक्तिखोर औद्योगिक क्षेत्रमा वातावरणमैत्री उद्योगहरु राखिने बताए । शक्तिखोर औद्योगिक क्षेत्रलाई औद्योगिक पार्कको रुपमा अगाडि बढाइने भएकोले उद्योग सञ्चालनका लागि धेरै जना इच्छुक रहेको अध्यक्ष दुवाडीले बताए । शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण हुने भएपछि स्थानीय निकाय पनि हर्षित छन् ।
कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले शक्तिखोर औद्योगिक क्षेत्र नगरपालिकाकै गौरवको आयोजना भएको बताए । उनले औद्योगिक क्षेत्र निर्माणमा स्थानीय स्तरमा कुनै विवाद नरहेको भन्दै सहज निर्माणका लागि नगरपालिकाले सकरात्मक भूमिका निर्वाह गरेको बताए । यस्तै औद्योगिक क्षेत्र पर्ने वडा नम्बर ३ का अध्यक्ष टीकाराज रिजालले आफ्नै वडामा यति ठूलो औद्योगिक क्षेत्र निर्माण हुँदा गौरवको महसुस भएको बताए ।
शक्तिखोर औद्योगिक क्षेत्र पूर्व–पश्चिम राजमार्गको रत्ननगरबाट १० किलोमिटर उत्तरतर्फ पर्दछ । यस्तै भरतपुरको बाईपास रोडबाट पदमपुर हुँदै औद्योगिक क्षेत्र पनि प्रवेश गर्न सकिनेछ ।