भरतपुर, जेठ ७ गते ।
भरतपुर महानगरपालिका ४ मा वडाध्यक्ष पदमा झिनो मतले पराजित भएका कांग्रेसका उम्मेद्वार उपेन्द्रराज सापकोटाले पुनः मतगणना गर्न माग गरेका छन् । उनी एमालेका हरिप्रसाद आचार्यसँग ७ मतको अन्तरले पराजित भएका हुन् । वडा नम्बर ४ मा वडाध्यक्ष बाहेक सदस्यमा कांग्रेसका अपर्ण पोखेरले १६०५, प्रेम शर्मा १५९८, पवित्रका केसी १८८१, कोपिला परियार १८२७ विजयी भएका छन् ।
सो वडामा ५ हजार ४१८ मत खसेको थियो । नेपाली कांग्रेस वडा नम्बर ४ ले आयोजना गरेको पत्रकार सम्मेलनमा सापकोटाले भने, “ अन्तिम मतपरिणाम घोषणा गर्नुपूर्व ५०/५१ मतले मैले जितेको तथ्याङक थियो, प्रतिस्पर्धि उम्मेद्वारले बधाई दिएर गए, तर, पछि म पराजित भएको मतपरिणाम सार्वजनिक भयो ।” उनले आफुलाई प्राप्त मतलाई तलमाथि गरेर अन्तिम मतपरिणाम सुनाइएको आरोप लगाए । “मैले तत्कालै प्रमुख निर्वाचन अधिकृतलाई असन्तुष्टिका साथ मेरो मत पुनः गणना गर्न माग गर्दै निवेदन दिएँ, तर सुनुवाई भएन”, उनले भने, “म र मेरा प्रतिनिधि मतगणना स्थलबाट बाहिरिए पछि मत परिणाम सुनाइयो, मैले न्याय पाइन ।” उनले ४ नम्बर वडामा कांग्रेसले जितेको र आफ्ना प्रतिनिधिले मतगणना स्थलमै संकलन गरेको तथ्याङक अनुसार आफु विजयी रहेपनि अन्तिम अवस्थामा हराइएको आरोप लगाए । “म न्याय खोज्न जिल्ला अदालत जान्छु, यहाँ नभए पुनरावेदन अदालत जान्छु”, उनले भने, “जित हार स्वभाविक हो, तर यहाँ ठुलो चलखेल छ ।” उनले मतणना सिटको ३२ नम्बर सिटमा १५ मत एकमुष्ठ रुपमा थपिएको देखाइएपनि आफुलाई त्योबारे कुनै जानकारी नदिइएको बताए । उनले आफ्नो वडामा सदर र बदर मत के कति रह्यो समेत जानकारी नपाएको बताए । कांग्रेस वडा नम्बर ४ ले निर्वाचन अधिकृतको कार्यालय विजयी घोषणा गरेका वडाध्यक्षलाई आफ्ना माग सुनुवाई नभएसम्म काम गर्न नदिने जनाएको छ । वडा नम्बर ४ मा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत मतदान गरेका थिए ।
सो पत्रकार सम्मेलनमा कांग्रेसबाट वडा नम्बर ५ को वडाध्यक्ष पदका उम्मेद्वार भक्तिप्रसाद तिमल्सेनाले ‘माछा माछा, भ्यागुतो’ जस्तो गरि विजयी उम्मेद्वारलाई हराइएको आरोप लगाए । “वडा ४ मा मतगणना सकिदा जितेका उम्मेद्वार २ घण्टा पछि मतपरिणाम सार्वजनिक गर्दा ७ मते हारेका छन्”, उनले भने, “भरतपुरको ४ देखि ९ वडासम्म भद्रगोल स्थिति सृजना गरि मतगणना गरी परिणाम सुनाइएको छ, हामी असन्तुष्ट छौँ ।” उनी आफुलाई मतगणना स्थलमा रहेका प्रतिनिधिले १ सय मतले जितियो भनेर सूचना दिएको केहि समयपछि हारेको मतपरिणाम सार्वजनिक भएको सुनाए । वडा नम्बर ५ मा एमालेका पदमपाणी सुवेदीले १७९९ मत ल्याएर वडाध्यक्षमा विजयी भएका थिए । तिमल्सेनाले १६८९ मत ल्याएको मतपरिणाम सार्वजनिक भएको थियो । यो वडामा एमालेले प्यानल सहित जितेको छ ।
भरतपुर वडा नम्बर ९ मा कांग्रेसका वडाध्यक्ष पदका उम्मेद्वार सन्तलाल गुरुङले मतपेटिकाका सिल दलीय उपस्थित विना खोलिएको आरोप लगाएका छन् । “वडा नम्बर ९ का बुथबाट ल्याइएका मतपेटिकाको सिल हामीले हेर्न पाएनौँ”, उनले भने, “हामी नपुग्दै खोलिएको थियो, हामीलाई शंका लागेको छ ।” उनले आफ्नो वडामा खसेका मतपत्रमा लागेका स्वस्तिक छापको आकारमा केहि फरक भेटिएको जीकिर गरे । उनी वडाध्यक्ष पदमा एमालेका यमलाल कंडेलबाट ४१३ मतले पराजित भएका हुन् । यो वडामा प्यानल सहित एमालेले जितेको थियो । उनले मतगणनाको परिणाम एकैचोटी सार्वजनिक गरिनुमा चलखेल भएको बताए । उनले एजेण्ट र कम्प्युटर अपरेटरले तयार गरेको मतपरिणाममा भिन्नता आएको बताए । उनले अन्तिम नतिजा घोषणा गर्दा आफुहरुले हस्ताक्षर नगरेको जानकारी गराए । यो वडाको मतगणना कार्य सकिएपछि विवाद सृजना भएपछि शुक्रबार साँझबाट १५ घण्टा मतगणना रोकिन पुगेको थियो । मतगणना कार्य सन्तोषजनक नभएको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले विरोध जनाएका थिए । पाँच दलबीच १० बुँदे सहमति भएपछि पुनः मतगणना शनिबार विहान १० बजेबाट सुरु भएको थियो । कांग्रेसका महासमिति सदस्य विजयराज भुषालले कर्मचारीले पारदर्शी रुपमा मतगणना गर्नुपर्ने बताए । उनले जनताले दिएको मत जस्ताको त्यस्तै गणना गर्न आग्रह गरे । पत्रकार सम्मेलन कांग्रेस वडा नम्बर ४ का वडा संयोजक प्रविन कंडेलको अध्यक्षतामा भएको हो ।