धु्रवराज खनाल/कायाकैरन
१६ माघ ।
वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले निर्वाहमुखी व्यवसायका कारण आयात बढेको बताएका छन् । मुलुक समृद्ध बनाउन व्यवसायीकरण गरेर कृषि, व्यापार सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । उद्योग वाणिज्य संघ खैरहनीको सोमबार सम्पन्न आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वाणिज्य मन्त्री विश्वकर्माले निर्वाहमुखी व्यवसायका कारण आयात बढ्नुका साथै व्यापार घाटा बढेको बताए ।
“हामीले गरेका व्यपार, कृषि पेशा निर्वाहमुखी छ”, मन्त्री विश्वकर्माले भने, “व्यावसायिक उत्पादनलाई व्यवसायीकरण गर्दै आयात घटाउन सके मुलुक समृद्ध हुन्छ ।” मन्त्री विश्वकर्माले वर्तमान सरकार चुनावी सरकार भएकाले पनि अहिले व्यापार घटेको स्वीकार गरे । मुलुक समृद्ध हुन सरकार र व्यवसायीबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने तर उल्टो भएको मन्त्री विश्वकर्माले बताए । “व्यवसायीले पनि कर छल्न हुन्न, व्यापारिक अनियमितता गर्नेलाई प्रोत्साहन दिनु हुन्न”, मन्त्री विश्कर्माले भने, “सरकार र व्यवसायीबीचको सम्बन्ध चोर पुलिसको हुँदा व्यवसायी र मुलुकको समेत विकास हुन सकेन ।”
सो अवसरमा चितवन क्षेत्र नम्बर एकका प्रदेश सांसद दावादोर्जे लामाले राजनीतिक संक्रमणकाल अन्त्यतिर रहेकाले अब बन्ने स्थीर सरकारले मुलुकको विकास गर्ने बताए । कार्यक्रममा उद्योगी व्यवसायीहरुले अनुकूल वातावरण नहुनु, निकासी कर बढी तिर्नुपर्दा व्यवसायको विकास हुन नसकेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ तीन नम्बर प्रदेश उपाध्यक्ष राजन गौतमले उद्योगका लागि अनुकूल वातावरण नभएको बताए । प्रदेश कोषाध्यक्ष ज्ञानबहादुर बिसुरालले जग्गाको खण्डीकरणका कारण लगानीको वातावरण नभएको धारणा व्यक्त गरे ।
“जग्गा खण्डीकरणका कारण खरिद गरेर व्यवसाय गर्ने अवस्था छैन”, प्रदेश कोषाध्यक्ष बिसुरालले भने, “व्यवसायको विकासका लागि जग्गाको खण्डीकरण रोक्न सरकारको ध्यानाकर्षण गराउँछु ।” बिसुरालले पूर्व र पश्चिममा उत्पादित वस्तु लैजाँदा ५, ६ ठाउँमा निकासी कर तिर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । कार्यक्रममा उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठले करको दायरा फराकिलो बनाउनुपर्ने, कर तथा राजस्व नीति सहज बनाउनुपर्ने बताए । संघका अध्यक्ष गुणराज श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय अरुणराज सुमार्गी, कल्याण जोशी, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, संघका निवर्तमान प्रथम उपाध्यक्ष चन्द्रप्रसाद सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा संघले कायाकैरनकर्मी धु्रवराज खनालसहित तीन जना पत्रकार र एक सञ्चारमाध्यमलाई सम्मान गरेको छ । संघको संस्थागत विकास र व्यावसायिक हकहितमा पत्रकारितामार्फत पु¥याएको योगदानको मूल्यांकन गर्दै कायाकैरन दैनिकका पूर्वी चितवन सम्वाददाता खनाललाई कार्यक्रमका प्रमुख अतिथि वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा र संघका अध्यक्ष गुणराज श्रेष्ठले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान प्रदान गरेका हुन् । सोही अवसरमा चितवन पोष्ट दैनिकका पूर्वी चितवन संवाददाता होमनाथ सापकोटा, एबीसी टेलिभिजनका चितवन संवाददाता विकास पौडेल र ग्रेट एफएमलाई समेत सम्मान गरिएको थियो । वार्षिक साधारण सभाकै अवसरमा संघको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको थियो ।
संघको अध्यक्षमा चन्द्रप्रसाद चयन
उद्योग वाणिज्य संघ खैरहनीको अध्यक्षमा चन्द्रप्रसाद सापकोटा सर्वसम्मत चयन भएका छन् । चौथो अधिवेशनले
आगामी दुई वर्षका लागि सापकोटाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
४ जना सदस्य भने पछि मनोनीत हुनेछन् । त्यस्तै एशोसिएट सदस्यमा बुद्धिराज डल्लाकोटी पनि निर्विरोध निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको पदाधिकारीका लागि सहमति भइसकेपनि अध्यक्षबाहेक अरु सबै सदस्य रहेका छन् । सदस्यहरुमा शेषकुमारी सडौला ओली,अर्जुन लम्साल, कुमार खनाल, केदारनाथ बर्तौला, विक्रम खड्का, रामचन्द्र डल्लाकोटी, रामेश्वर बर्तौला, क्षेत्रबहादुर रावल, कमलादेवी श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, जगतबहादुर पाण्डे, रामेश्वर पोखरेल, रामशरण कार्की, चिरञ्जीवी अर्याल र तुलसीदास उप्रेती चयन भएका छन् । सदस्यमा निर्विरोध भएकाहरुलाई नै पदाधिकारीमा सहमतिमार्फत चयन गरिने छ ।