शहीदको सम्झनामा मनाइने शहीद सप्ताहको समापन आज शहीद दिवसको दिन गरिदैछ । देशमा परिर्वतनका लागि लड्ने क्रममा शहादत प्राप्त गर्ने शहीदहरुको सम्झनामा हरेक वर्ष नेपालमा शहीद दिवस आजको दिन मनाउने गरिएको छ । यो दिवस आउनु साताअघि अर्थात माघ १० गतेबाट शहीद सप्ताह मनाउने गरिन्छ । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा वि.सं २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइदै आएको छ । तर, पछिल्लो समयमा जसलाई पनि शहीद घोषणा गर्ने प्रचलन बढ्दै जाँदा शहीद र शहीद दिवस दुवैको गरिमा र महत्व घटेर गएको छ । हालसम्म कति शहीद घोषणा गरिए भन्ने एकिन तथ्यांक पनि सरकारसँग नहुनु दुःखद कुरा हो ।
नेपालमा १ सय ४ वर्षे राणाशासन अन्त्यको लागि लड्ने क्रममा बहादुरीका साथ लडेका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको शहादातलाई नेपालीले सधैं स्मरण गर्ने गरेका छन् । कसैलाई फाँसी दिएर कसैलाई गोली ठोकेर ज्यान लिइएको थियो । तर उनिीरुले व्यवस्था परिर्वतनका निम्ति कहिल्यै घुँडा टेकेनन् । त्यही भएर नै आज उनीहरु सबैका मनमा रहेका छन् । आमनागरिकको मौलिक हकका लागि र स्वतन्त्रताका लागि यी ४ जनाले कहिल्यै कसैसँग आत्मसमर्पण गरेनन् । वि.सं. १९९७ साल माघ १० गते राति शास्त्रीलाई र माघ १३ गते माथेमालाई फाँसी दिइएको थियो । त्यसैगरी माघ १५ गते चन्द र श्रेष्ठलाई गोली प्रहार गरी हत्या गरिएको थियो । नेपालमा व्यवस्था परिर्वनतका लागि भएको आन्दोलन २०४६ साल र २०६२÷०६३ सालमा भएको आन्दोलनमा धेरैले ज्यान गुमाए । यी आन्दोलनबाहेक नेपालमा लोकतन्त्रको स्थापना र विधिको शासन स्थापनाको लागि कयांैले बलिदानी दिएका छन् । यी सबै शहीदका सपना भनेको आमनागरिकको मौलिक अधिकार सुरक्षित र स्वतन्त्रता नै थियो । कतिपय अवस्थामा उनीहरुको सपना पूरा भएको पनि देखिन्छ । तर, विडम्बना के भने उनीहरुले देखेका राजनीतिक सपना पूरा भए, सामाजिकरुपमा भने उनीहरुले चाहेको जस्तो परिवर्तन आएन । अझैपनि सबै नेपालीले समृद्धि र विकासको स्वाद चाख्न भने पाएका छैनन् । अझै अहिले त शहीद पनि कसलाई मान्ने र कसलाई नमान्ने भन्ने द्विविधामा जनता पुगेका छन् ।
शहीदको नाममा विकृतिहरु पनि भित्रिएका गुनासा छन् । सामान्य विवादमा मारिएका वा एउटा कुनै फरक उद्देश्यमा मारिएका व्यक्तिहरुलाई पनि राजनीतिक दबाबका आधारमा शहीद घोषणा गरिएका उदाहरण पनि नेपालमा छन् । यस्ता घटनाले वास्तविक शहीदको अवमूल्यन भएको जगजाहेर नै छ। शहीद घोषणा पनि राजनीतिक भागवण्डाको आधारमा गर्ने नराम्रो प्रचलन बढेर गएकोले शहीदको अपमान बढ्दै गएको छ । शहीद घोषणा गर्ने निकायले वास्तविकताको आधारमा मात्र घोषणा गर्नुपर्ने हुन्छ । कसैको दबाबमा कसैलाई शहीद घोषणा गर्नु भनेको वास्तविक शहीदप्रतिको घोर अपमान हो सही तरिकाले शहीदको मूल्यांकन हुन सकेको अवस्थामा मात्र महत्व बढ्न सक्छ । नेपालको सरकारी संयन्त्रमा अहिलेसम्म नेपालमा कति जना शहीद हुन् र उनीहरु के—का लागि लडे र के दिएर गए भन्ने वास्तविक तथ्यांक रहेको पाइदैन । सरकारले यो विषयमा पनि समयमै ख्याल राख्नु जरुरी छ । होइन भने वर्षको एकचोटि शहीदको मूर्ति वा फोटोमा माल्यार्पण गरेर मात्रै शहीदको सम्मान हुँदैन ।
सम्पादकीय : को शहीद, किन शहीद ?
सम्पादकीय : को शहीद, किन शहीद ?
तपाईको प्रतिक्रिया