१५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन नचाहने शक्तिले मुलुकमा अस्थिरता मच्चाउन खोजेको बताएका छन् ।
सोमबार काठमाडौमा आयोजित प्रेस सेन्टरको चौधौँ स्थापना दिवस तथा महिला दिवसको भेला प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुले अस्थिरता मच्चाउने शक्तिको चाहना पूरा हुन नदिने बताए ।
प्रचण्डले देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै आफूहरुले त्यस्तो हुन नदिने पनि बताए । उनले वाम गठबन्धनले जनताका अगाडि गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिवद्धता समेत जनाए ।
उनले जनताले देशमा कम्युनिष्टहरु एकताबद्ध हुन जनमत दिइसकेकाले यसलाई पुरा गरेरै छाड्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय एकता र समृद्धिका लागि नयाँ संकल्प गर्न आह्वान गरे ।
देशलाई राजनीति स्थायित्व, सुशासन र समृद्धितर्फ लैजानु आवश्यक रहेको भन्दै अध्यक्ष प्रचण्डले त्यसका लागि सकारात्मक भूमिका खेलिदिन पत्रकारहरुलाई आह्वान पनि गरे । कार्यक्रममा महिला सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । न्युज सेवा