चितवन, १५ माघ । जिल्ला प्रहरी कार्यालय चितवनले दुई दिनमा तीन अभियुक्तलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वन गर्ने सिलसिलामा बैंकिङ कसुर मुद्दाका फरार रहेका काठमाडाैं गागलफेदीका बिमल खड्कालाई चितवनबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन र केन्द्रिय अनुसन्धान व्युरोको संयुक्त प्रहरी टोलीले उनलाई शनिबार भरतपुरको गोन्द्राङबाट पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख दिपक थापाले बताउनुभयो ।
नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले वादी नेपाल सरकार भएको बैंकिङ कसुर मुद्दामा पुनरावेदन अदालत पाटनको २०७१ असोज १ गतेको फैसलाले ३ वर्ष कैद र पाँच करोड पचहत्तर लाख जरिवाना तोकेकिएका खड्कालाइ चितवन जिल्ला अदालतमा बुझाईएको थापाले जानकारी दिनुभयो ।
यसैगरी गत पुस १६ गते भरतपुरमा फुटवल खेलिरहेका भरतपुरका सञ्जय कार्कीलाई आक्रमण गरी घाइते बनाई फरार रहेका अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
भरतपुर १० का अमृत तामाङ र सिजे लामालाई काठमाडाैंमा लुकेर बसेको अवस्थामा पक्राउ गरी ल्याइएको प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो । पक्राउ परेकालाई केही सार्वजानिक अपराध र सजाँय ऐन अन्तर्गत म्याद थप गरी कार्वाही अगाडी बढाइएको प्रहरीले बताएको छ ।