हरेक चुनावमा कति खर्च हुन्छ होला ? या पछिल्लो चुनावमा कति खर्च भयो ? सरकारी तवरबाट केकति खर्च भए वा सम्बन्धित राजनीतिक दलका उम्मेदवारले कति खर्च गरे होलान् ? यस्ता विषय अनुमानमा मात्रै रहने भए । वास्तविक खर्च कहिल्यै बाहिर नआउने भए । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको बेला कुन उम्मेदवारले कति खर्च गरे भन्ने विवरण उनीहरुले नै बुझाएको आधारमा विस्तार बाहिर आइरहेको छ । तर, ती सबै कर्मकाण्डी र औपचारिकताका लागि बुझाइएका भन्ने अनुमान गर्न कत्ति पनि मेहनत गर्नै पर्दैन । उनीहरुले चुनावको दौरान खर्च हुनेगरी गरेका गतिविधि र अहिले आएर चुनावमा यसो–यसो गरें भनेर बुझाएको विवरण हेर्दा छक्क पर्नुपर्ने अवस्था छ । यसलाई हेर्दा दल र तिनका उम्मेदवारले जनतालाई यतिधेरै झुक्याइरहेका छन् भन्ने कुरा देख्न सकिन्छ ।
नेपालको निर्वाचन आयोगले हरेक चुनावमा आचारसंहिता बनाउँछ । चुनावलाई नियमानुसार सञ्चालन गर्न विभिन्न ऐन पनि छन् । त्यसले पनि चुनावलाई अस्वस्थ र भड्किलो बन्न नदिने अनेक अंकुश लगाउने गरेको छ । तर, त्यसलाई कसैले पनि मानेको देखिदैन । ती अंकुशलाई पार गरेमा कारबाही गर्ने पनि उल्लेख छन् । तर, त्यसको कार्यान्वयन भएको पाइदैन । केही समयअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा २५ लाख रुपैयाँसम्म र प्रदेशसभा सदस्यतर्फ १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको थियो । चितवनमा बुझाइएको खर्च विवरण अभिलेख हेर्दा सबैले सीमाभन्दा कम खर्च गरेको विवरण बुझाएका छन् । प्रतिनिधि सभा सदस्यतर्फ सबैभन्दा बढी १६ लाख २९ हजार १ सय रुपैयाँ चुनावी खर्च विवरण पेश भएको छ । यस्तै प्रदेश सभा सदस्यतर्फ सबैभन्दा बढी खर्च १२ लाख ५४ हजार १ सय २० रुपैयाँ खर्च भएको विवरण छ । उल्लेख्य के भने चितवनको सबैभन्दा बढी पैसा खन्याइएको भनिएको ३ नम्बर क्षेत्रका प्रतिनिधिसभा उम्मेदवारले पेश गरेको चुनावी खर्च १० लाख पनि छैन । यो निकै हास्यास्पद, उदेक लाग्दो र जनतालाई झुक्याउने खालको छ । प्रतिनिधिसभा सदस्यतर्फ १८ जना उम्मेदवारले १ लाख रुपैयाँ कम भएको विवरण बुझाएका छन् । ४ जनाले मात्रै १० लाख बढी खर्च गरेको बुझाएका छन् ।
चुनावको बेला अनेकथरि खर्च हुने गरेको छ । चुनावी प्रतिस्पर्धा निकै अस्वस्थरुपमा हुने गरेका छन् । त्योबेलाको गतिविधि हेर्दा लाख होइन करोडौं खर्च भएका कयौं गतिविधि स्पष्टै देखिन्छन् । देखिने खर्च एकातिर छ भने अझै डरलाग्दोरुपमा नदेखिने गरी बाँडिएका खर्च पनि हुन्छन् । त्यसको त झनै खर्चविवरण आउने कुरै भएन । हाम्रो राजनीतिक संस्कार नै यस्तै भइसक्यो कि करोडौं नभएसम्म चुनाव लड्नै नसकिने । तर, कुनैपनि नेताले मैले यति खर्च गरें भनेर विवरण देखाउँदैनन् । आगामी दिनमा कि जसले जति खर्च गर्न सक्छ गरे हुन्छ भनेर छोड्नुप¥यो । गर्न नपाउने भनेपनि खास अध्ययन गरेर कारबाही गरिनुप¥यो । होइन भने औपचारिकता मात्रै पूरा गरेर हुनेवाला केही छैन ।
झुटा चुनावी खर्च विवरण
झुटा चुनावी खर्च विवरण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु