धु्रवराज खनाल/कायाकैरन
खैरहनी,१० माघ ।
हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभाको ठ्याक्कै झल्को दिने गरी खैरहनीको कुमरोजमा साना किसान कृषि सहकारी संस्थाको निर्वाचन भएको छ । दुग्ध सहकारी तथा कृषि सहकारीको नयाँ कार्यसमिति चयनका लागि विरलै मतदान हुन्छन् । गर्दा पनि सामान्य तरिकाले गरिन्छ । तर, कुमरोजस्थित साना किसान कृषि सहकारी नयाँ नेतृत्वका लागि निकै खर्चिलो तरिकाले निर्वाचन भएको छ ।
अझ उल्लेख्य के भने चुनावमा राजनीतिक दलको जस्तै प्यानल उत्रिए र मतदान पनि उसैगरी गरिए । कांग्रेस एकातिर र माओवादी÷एमाले एकातिर भएर चुनाव लडे । प्रतिनिधि सभा निर्वाचनलाई भुल्न नपाउँदै त्यसैको झल्को दिने साना किसान सहकारीको निर्वाचन हुँदा धेरै अचम्मित भए । निर्वाचनका लागि शेयर सदस्य करिब ४ किलोमिटर पैदल हिडेरै मतदानका लागि खैरहनी नगरपालिका–१३, गवै पुगेका थिए । मतदानस्थल गवै खैरहनी–१२, कपिया र घोग्रेलादेखि करिब ४ किलोमिटर टाढा छ ।
घोग्रेलादेखि सहकारीको नयाँ अध्यक्ष छान्नका लागि कालिका रायमाझी गवै आएकी थिइन् । “सहकारीमै यसरी चुनाव हुनु राम्रो पक्ष होइन”, रायमाझीले भनिन्, “तर सहमति नभएर निर्वाचन हुने भएपछि भोट त हाल्नै प¥यो ।” आफूलाई बाइपास गरेर अघि बढेकोमा दुःख व्यक्त गर्दै वर्तमान उपाध्यक्ष रेवती उप्रेती पनि यो कदम प्रति रुष्ट छिन् । ६ वर्ष उपाध्यक्ष पद सम्हालेको मान्छेले अध्यक्ष पाउनुपर्ने उनको दावी थियो । तर, चलखेल भएपछि उनले अध्यक्षमा दावी गरिनन् । पदकै लागि महिलालाई स्थान नदिने संस्कृतिको विकास भएको भन्दै उप्रेतीले सार्वजनिक कार्यक्रममै वर्तमान अध्यक्ष र आफूले समर्थन गर्ने पार्टीको समेत कडा विरोध गर्दै आएकी छन् । उप्रेती नेकपा माओवादी केन्द्र निकटकी हुन् ।
जिल्ला कृषि सहकारी संघका अध्यक्ष हरिप्रसाद पौडेल कृषि सहकारीको नयाँ नेतृत्वका लागि निर्वाचन हुनु राम्रो पक्ष नभएको बताउँछन् । तर, सहकारीमा सहकार्य गरेर अघि बढ्नुपर्ने उल्लेख भएपनि प्रजातान्त्रिक अभ्यास गर्नुपर्ने व्यवस्था छ । “सहकारीमा सहकार्य गरी अघि बढ्नुपर्ने हो”, जिल्ला संघका अध्यक्ष पौडेल भन्छन्, “अन्तिम उपायका लागि प्रजातान्त्रिक नियन्त्रण अपनाउनुपर्ने हुन्छ ।”
साना किसान कृषि सहकारी कुमरोजको वर्तमान कार्यसमितिको अवधि एक वर्ष अगाडी सकिएपनि ढिलो गरी निर्वाचन भएको हो । नयाँ कार्यसमितिका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठवन्धन र नेपाली कांग्रेसले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । बाम गठवन्धनबाट माओवादी केन्द्र निकटका सदस्य कुलप्रसाद भुषाल र उपाध्यक्षमा एमालेका गीतानाथ अर्यालले उम्मेदवारी दिएका थिए भने नेपाली कांग्रेसबाट दुई कार्यकाल सम्हालिसकेका वर्तमान अध्यक्ष तेजप्रसाद बर्तौला र उपाध्यक्षमा हरि उप्रेतीले उम्मेदवारी दिएर चुनावमा भाग लिएका हुन् ।
नयाँ नेतृत्वका लागि मंगलबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको थियो भने राति अबेरसम्म मतगणना जारी थियो । १ हजार ७ सय ४ सदस्य रहेकोमा १ हजार ५ सय ४९ मत खसेको छ । निर्वाचनका लागि छुट्टाछुट्टैै समूहका लागि बुथ बनाइनुका साथै प्रहरीको कडा सुरक्षामा निर्वाचन भएको थियो ।