धु्रवराज खनाल/कायाकैरन
१० माघ ।
व्यावसायिक हकहित गर्दै जिल्लाको आर्थिक विकासमा लाग्ने चितवनका व्यवसायीहरुले प्रतिबद्धता जनाएका छन् । उद्योग वाणिज्य संघ–खैरहनीले हालै निर्वाचित उद्योग वाणिज्य संघ–चितवनको कार्यसमितिको स्वागत तथा परिचयात्मक कार्यक्रममा व्यवसायीहरुले व्यवसाय विकाससँगै जिल्लाको समृद्धिमा लाग्ने उद्घोष गरेका हुन् ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका नवनिर्वाचित अध्यक्ष सहनलाल प्रधानले जिल्लाका संघबीच साझा एजेण्डा लिएर अघि बढ्ने बताए । व्यवसायीको उद्देश्य एउटै हुने भएकाले साझा एजेण्डाका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो । “व्यवसायीलाई संगठित गर्ने, संरक्षण गर्ने हाम्रो उद्देश्य हो”, संघका अध्यक्ष प्रधानले भने, “व्यावसायिक हकहितसँगै जिल्लाको आर्थिक विकास गर्न सहकार्य गर्नुपर्दछ ।”
उद्योग वाणिज्य संघ जिल्लाका अन्य संघको मातृ संगठन भएकाले जिल्लालाई नै समेट्ने गरी गतिविधि सञ्चालन गर्ने प्रधानले बताए । खैरहनीसँग पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै संघका अध्यक्ष प्रधानले आफ्नो दुई वर्षको कार्यकाल अझ प्रगाढ पार्नेसमेत विश्वास दिलाए । संघका निवर्तमान अध्यक्ष राजन गौतमले व्यावसायिक हकहितसँगै आर्थिक विकासका लागि संघहरुबीच समन्वय हुनुपर्ने औंल्याए । आर्थिक प्रलोभनमा अन्य जिल्लाहरुमा संघको समानान्तर संघ गठन भइरहेको प्रसंगमा निवर्तमान अध्यक्ष गौतमले चितवनमा यस्तो गतिविधि हुन नदिन चनाखो हुनुपर्ने बताए ।
उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले संघहरुले सामुहिकरुपमा आर्थिक विकास गर्ने गर्ने प्रतिबद्धता जनाए । उद्योग वाणिज्य संघ–खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठले व्यावसायिक विकासका लागि साझा एजेण्डा हुनुपर्नेमा जोड दिए । पूर्वी चितवनलाई हेर्ने दृष्टिकोण केही फरक रहेको भन्दै खैरहनीका अध्यक्ष श्रेष्ठले पूर्वी चितवन र पश्चिम चितवन नभई समान व्यवहार गर्न नवनिर्वाचित कार्यसमितिको ध्यानाकर्षण गराए ।
सो कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष लगायत सदस्यहरुको सहभागिता रहेको थियो । उद्योग वाणिज्य संघ–खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका संस्थापक अध्यक्ष बलराम अर्याल, निवर्तमान अध्यक्ष केशवराज पाठक, प्रथम उपाध्यक्ष चन्द्रप्रसाद सापकोटा, महासचिव शेषकुमारी ओलीलगायतले मन्तव्य राखेका थिए । उद्योग वाणिज्य संघ खैरहनी उद्योग वाणिज्य संघ चितवनको पहलमा वि.सं. २०६३ सालमा स्थापना भएको हो । दुई वर्ष अघिसम्म खैरहनी चितवनको क्षेत्रीय संघको रुपमा थियो ।
सहमतिमा नेतृत्व छान्न दबाब
उद्योग वाणिज्य संघ खैरहनीको कार्यसमिति सर्वसम्मत चयन गर्ने प्रयास भएको छ । संघका वर्तमान अध्यक्ष गुणराज श्रेष्ठ र संस्थापक अध्यक्ष बलराम अर्यालले सर्वसम्मतिको प्रयास गरिरहेका छन् । संघको आसन्न आठौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशन यही माघ १५ र १६ गते हुँदैछ ।
वर्तमान अध्यक्ष र संस्थापक अध्यक्षले सर्वसम्मतिको प्रयास गरेपनि निर्वाचनै हुने धेरैको अनुमान छ । नयाँ नेतृत्वका लागि संघका वर्तमान प्रथम उपाध्यक्ष चन्द्रप्रसाद सापकोटा र निवर्तमान अध्यक्ष केशवराज पाठकले आंकाक्षा जाहेर गरेका छन् । सापकोटा नेकपा एमाले निकट र पाठक काग्रेश निकटका व्यवसायी हुन् । स्रोतका अनुसार वर्तमान प्रथम उपाध्यक्ष सापकोटालाई वर्तमान अध्यक्ष श्रेष्ठसहित धेरैको साथ रहेको छ । संघको अध्यक्षमा यी दुई जनाको दावी रहेपनि अन्य पदका लागि भने बाहिर कसैको पनि नाम चर्चामा छैन । अधिवेशनले पदाधिकारीसहित १७ सदस्य निर्वाचित गर्ने छ भने ४ जना सदस्य मनोनित र निवर्तमान अध्यक्ष रहने व्यवस्था छ ।