माडी,१० माघ ।
माडीका केही विद्यालयलाई नमूना विद्यालय घोषणा गर्ने तयारी गरेको माडी नगरप्रमुख ठाकुर प्रसाद ढकालले वताउनुभयो । आधारभूत विद्यालय रमाइलोडाँडाको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै नगर प्रमुख ढकालले शिक्षाको विकासमा नगरपालिकाले जोड दिने बताए ।
विद्यार्थीमा नैतिक शिक्षाको बढी आवश्यकता पर्ने हुँदा अभिभावकले पनि यसमा ध्यान दिनुपर्नेमा जोड दिए । सोही कार्यक्रममा माडी नगर शिक्षा प्रमुख माधव पोखरेल, वडा नम्बर ५ का वडाअध्यक्ष रामबन्धु पोखरेल विशिष्ट अतिथि रहेका थिए । यस्तै विद्यालय व्यवस्थापन समितिका भूतपूर्व अध्यक्ष पदमबहादुर क्षेत्री, ब्रह्मज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक गंगाराम रानाभाटलगायतले मन्त्वय व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका शिक्षक रामकृष्ण चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक ऋषिराम काफ्लेले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नर्सरीदेखि ६ सम्ममा अंग्रेजी माध्यममा र ६ देखि ८ सम्म कम्प्युटर शिक्षा र सानो कक्षामा एल.सीडीको व्यवस्थासहित आधारभूत विद्यालय सञ्चालन भइरहेको जानकारी दिए ।