भरतपुर,१० माघ ।
ग्लोबल रिच नारायणगढले अष्ट्रेलियाको शैक्षिक वातावरणबारे जानकारी दिन एजुकेसन फेयर गरेको छ । भरतपुर गार्डेन रिसोर्टमा भएको एजुकेसन फेयरको शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले उद्घाटन गरेका थिए ।
एजुकेसन फेयरमा ६ सय बढी विद्यार्थीले अष्ट्रेलियाका युनिभर्सिटी तथा कलेजबारे प्रत्यक्ष बुझ्ने अवसर पाएका छन् । ग्लोबल रिचका रिजनल म्यानेजर सुरेश पौडेलले विद्यार्थीलाई सहजरुपमा अष्ट्रेलियन कोर्षबारे जानकारी दिइएको बताए । उनका अनुसार फेयरमा १३ युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुले विद्यार्थीलाई परामर्श दिएका छन् । उनले विद्यार्थी तथा अभिभावकले अष्ट्रेलियन कोर्ष, करियरबारे जिज्ञासा राखेको बताए ।
ग्लोबल रिचको ६ देशमा ३८ शाखा छन् भने नेपालमा काठमाडौं, पोखरा, बुटवल र नारायणगढमा शाखा कार्यालय छन् । ग्लोबल रिचका कन्ट्री म्यानेजर नारायण बजाजले २७ वर्षदेखि ग्लोबल रिचले सेवा दिदै आएको बताए । १० वर्षदेखि नेपालमा सेवा दिदै आएको ग्लोबल रिचले अन्तर्राष्ट्रिय बेष्ट एजुकेशन अवार्ड २०१७ पाएको बताए । संस्थाका मुख्य प्रबन्धक रतनकुमार मुखर्जीले विद्यार्थीले सही परामर्श लिनका लागि सही ठाउंँ, सही विषय, सही देश छनौट गर्न ग्लोबल रिचले ठूलो भूमिका खेलेको बताए ।
फेयरमा विद्यार्थी तथा अभिभावकले अष्ट्रेलिया जान अपनाउनुपर्ने बैंकिङ प्रक्रियाबारे बैंकका प्रतिनिधिसँग समेत परामर्श लिएका छन् । फेयरको उद्घाटन गर्दै शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले वैदेशिक शिक्षाका लागि जाने नेपालीलाई स्वदेशमै आत्मनिर्भर बन्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले विदेशमा लिएको शिक्षालाई स्वदेशको विकासमा लगानी गर्न उत्प्रेरित गर्नुपर्ने बताए । वैदेशिक शिक्षालाई सकरात्मक रुपमा लिनुपर्ने भन्दै राज्यमन्त्री अधिकारीले विदेशमा लिएको शिक्षालाई, अध्ययन पश्चात नेपालमै त्यसको सदुपयोग गर्न सके मुलुकमा आर्थिक विकासमा ठूलो फड्को मार्न सकिने बताए ।