एउटा गाडी बिग्रियो कि घण्टौंसम्म जाम
विप्लव काफ्ले/कायाकैरन
भरतपुर,५ माघ ।
कवि भूपिन खड्काले शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे ‘नारायणगढबाट बस चढेको साढे आठ घण्टा भयो, अझै मुग्लिङ पुग्न सकिएन । यात्रीलाई असीमित सास्ती दिने ‘सुपरफ्लप’ योजनाका जिम्मेवार को–को हुन् ? यिनीहरुलाई देश निकाला गरेपनि पाप लाग्दैन ।’
उनको स्टाटसमा राजु आचार्य दीपले लेखे, “हिजो नारायणगढदेखि फिस्लिङसम्म १४ घण्टा लाग्यो भन्दै थिए ।” यस्तै अर्का साहित्यकार सिर्जन अविरलले पनि कमेन्ट गर्दै लेखेका छन्, “म १८ घण्टामा काठमाडौं पुगेको पीडा योभन्दा कम थिएन । अब उड्नेबारेमा सोचौँ ।” यस्तै बाग्लुङका माधव पौडेल उन्नत विउविजनको क्षेत्रमा काठमाडौंमा कार्यरत छन् । उनले पनि नारायणगढ–मुग्लिङ सडककै सन्दर्भलाई लिएर शनिबारै पोष्ट गरेका छन्, “बेलुकी ४ बजे नारायणगढबाट हिँडेको अहिले ४ः२३ बजे मुग्लिङ आइपुगियो ।”
यस्ता पोष्ट सामाजिक सञ्जालमा प्रशस्तै भेटिन्छन् । यो सडकखण्ड २०७२ बैशाख देखि निर्माण कार्य सुरु भएको थियो । पछिल्लो तीन वर्ष यता यात्रीले निकै सास्ती झेल्दै यात्रा गर्नुपरेको छ । यो सडकको ९ मिटरको फराकिलो सडकमा यात्रा गर्ने अवसर विविध कारणले गुमेका छन् । वैशाखमा निर्माण कार्य पूरा हुनुपर्ने भएपनि तीनपटक म्याद थपिएको छ । यहि फागुन पहिलो हप्तामा निर्माण कार्य पूरा हुनेगरी सम्झौता संशोधन भएको छ । तर, म्याद थपका लागि आयोजनालाई निर्माण कम्पनीले दबाब दिइरहेका छन् । निर्माण कार्यले भन्दा अन्य कारणले नै यात्रीले बढी सास्ती खेप्नुपरेको छ ।
“ओभरटेक नै जामको मुख्य कारण हो”, सिमलताल–कालिखोलासम्मको क्षेत्रमा खटिएका ट्राफिक हवल्दार विष्णु मग्रातीले भने, “लेन अनुशासन तोडेरै चालकले जाम गराउँछन्, लगातार ७÷८ गाडी ओभरटेक गर्दै अगाडि आइपुग्छन्, साँघुरो बाटोमा व्यवस्थापन गर्नै कठिन छ । ट्राफिक नियम मिच्ने सवारीलाई नियमित कारबाही तथा निगरानी गरिएपनि लेन अनुशासन कायम गराउन नसकिएको बताउँछन् । सिमलताल अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) होमबहादुर शाक्य साँघुरा पुलमा दुईतर्फी सवारी सञ्चालन गर्न नसक्दा जाम पर्ने गरेको बताउँछन् । “३ नम्बर पुलको रेलिङ भाँच्चिएको छ, भोर्ले र कालिखोला पुल ज्यादै साँघुरा छन्”, उनले भने, “चालकले अन्य सवारी उछिन्दै ओभरटेक गर्न छाड्दैनन्, बाटो पुरै अवरुद्ध बनिहाल्छ ।”
निर्माणाधीन यो सडकखण्डमा प्रहरी तथा ट्राफिक प्रहरी पनि परिचालित छन् । तर, जाम खुलाउनै उनीहरुलाई हम्मे पर्छ । रामनगर र मुग्लिङ इलाका प्रहरी कार्यालयमा झण्डै ६० जना प्रहरी छन् । यस्तै सिमलताल अस्थायी प्रहरी बिटमा ९ जना जुगेडी प्रहरी चौकीमा १८ जना छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि मुग्लिङमा ५ जना, जुगेडीमा ४ जना, रामनगर र सिमलतालमा २–२ जना ट्राफिक खटाएको छ ।
“सुरक्षाका लागि पर्याप्त जनशक्ति खटाइएको छ, बाटो अवरुद्ध हुन नदिन निगरानी पनि गर्छौँ, तर गाडी बिग्रने, ओभरटेक गर्ने समस्याले हैरान पार्छ”, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले भने, “ओभरटेक गर्ने दैनिक करिब ३० सवारीसाधन कारबाहीमा पर्छन्, करिब १० वटा गाडी बिग्रन्छन् ।” उनले लेन अनुशासन पालन नगर्दा सयौँ सवारी जाममा पर्ने गरेको बताए । “ओभरटेक गर्नेलाई भेटाउन साथ कारबाही गरेका छौँ, १५ सय रुपैयाँसम्म जरिवाना लिन्छौँ”, उनले भने, “हल्टसमेत गरिदिएका छौँ, तर समस्या जस्ताको त्यस्तै छ ।” सवारी ‘सिष्टम’ मा चले दुई घण्टामा यो सडक पार हुन सकिने उनको भनाइ छ । उनका अनुसार निजी साना सवारी, माइक्रो, तरकारी कुखुरा बोक्ने गाडीले बढी सडकलाई जाम पारेका छन् । पुस महिनामात्रै झण्डै १ हजार बढी सवारीले यो सडक खण्डमा ट्राफिक नियम उल्लंघन गरेकोमा जरिवाना तिरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले मुग्लिङ सडकको जाम कम गर्न विशेष सुरक्षा योजना तयार पारिएको बताउँछन् । “यात्रुले निकै सास्ती खेप्नुपरेको गुनासो छ”, उनले भने, “अब हरेक घुम्ती, पुलमा प्रहरी र ट्राफिक परिचालन गर्नेछौँ ।” उनले ७ जना ट्राफिक र ३२ जना प्रहरी थप गर्ने योजनामा रहेको बताए । “आरआरटीको समूह र क्यूआरटी यथावतनै हुनेछन्, तत्काल उद्धार गर्न, बाटो खुलाउन यी टिमले पनि सघाउनेछन्”, उनले भने, “अब पहिले जस्तो जाम समस्या हुनेछैन ।” उनले नयाँ विशेष सुरक्षा योजनाले यात्रीलाई सुरक्षा दिने र बाटो खुलाउने काममा गति पाउने बताए । सडक निर्माणका लागि भनेर ६ ठाउँमा एकतर्फिमात्र सवारी सञ्चालन गर्ने गरिएको छ । आवश्यकता अनुसार सवारी आवागमन केहिबेर रोकेर पनि निर्माण गरिदै आइएको छ । तर, निर्माणका लागि भन्दा बढी सवारीचालककै लापरवाहीले घण्टौसम्म यात्रुले सास्ती खेप्दै आएका छन् । आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले ओभरटेकले गर्दा यात्रीले बढी दुख पाएको दावी गर्छन् । “चालकको सानो गल्तीले हजारौँ यात्रु घण्टौ जाममा बस्नुपरेको छ”, उनले भने, “निर्माणको कामले गर्दा सवारी अवरुद्ध ज्यादै कम छ, ट्राफिक नियम पालना मात्रै गरिदिए यात्रीले सहज यात्रा गर्न पाउने वातावरण बन्थ्यो ।”
राति बन्दले प्रगति भएन ः आयोजना
नारायणगढ मुग्लिङ सडक आयोजनाले राती बन्द गरेर निर्माणलाई गति दिन नसकिएको स्वीकार गरेको छ । पुष १८ गतेदेखि राती १० बजेदेखि विहान ४ बजेसम्म सवारी आवागमन रोकिएको थियो । तर, सोचेजस्तो निर्माण कार्यले गति पाउन सकेको छैन ।
“हालसम्म झण्डै ७१ प्रतिशत काम सकिएको छ”, नारायणगढ मुग्लिङ सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले भने, “राती निर्माणको काम खासै हुन सकेन, राती बन्द हटाउनुपर्छ भनेर सुझाव दिदै छौँ ।” माघेसंक्रान्तिलाई लक्षित गरी पुस २९ गतेदेखि माघ २ गतेसम्म रातीको बन्द हटाइएको थियो । “निर्माणको काम गर्दा दिउसोनै सवारी रोक्नुपर्ने अवस्था आयो, काम फिनिसिङ गर्न मिलेन भनेर गुनासो आयो”, उनले भने,“राती पनि बन्द, दिउसो पनि काम गर्न खोज्दा बन्द गर्नुभन्दा रातीको बन्द हटाउनुपर्छ भनेर स्थानीय प्रशासनलाई अनुरोध गर्दैछौँ ।”
उनले राती अत्याधिक चिसो, प्रयाप्त उज्यालोको व्यवस्था नहुनु जस्ता कारणले कामले गति नपाएको बताए । हालसम्म पहिलो तहको कालेपत्रे साढे १४ किलोमिटर दुरीसम्म सकिएको छ । १६ किलो, २२ किलो, चेपाङ डाँडा, जलवीरे क्षेत्रका भित्ता काट्ने काम अझै बाँकी रहेको उनले बताए । उनले दिउसोमा एकतर्फि सवारी चलाएर निर्माणको काम हुदै आइरहेको बताए । सिमलताल देखि मुग्लिङसम्मको सडक निर्माणको जिम्मा पाएको सुप्रिम रौताहा कम्पनीका शिशिर कन्दंवाले भने, “मेसिन थपेरै काम गरेका छौँ, तर काम गर्ने कामदारनै रातमा जान मान्दैनन् ।” उनले राती थोरैमात्र काम भएको स्वीकार गर्छन् ।