विप्लव काफ्ले/कायाकैरन
भरतपुर,५ माघ ।
पहेँलो हेल्मेट, सुन्तला रंगको सेतो धर्सा भएको ज्याकेटसहितको समूह नारायणी नदी किनारमा देखिए । व्याकहो लोडर (डोजर) नजिकै थियो ।
भरतपुर बस्दै आएकी सर्लाही स्थायी घर भएकी लक्ष्मी दोङ गोतामे चालकको सिटमा थिइन् । उनलाई प्रशिक्षक अर्पण प्रधानले सिकाउँदै थिए । “बेरोजगार बनियो, सीप सिक्न आएको छु”, उनले भनिन्, “साधारण लेखपढ जानेको छु, सजिलै जागिर नपाइने, डोजर चालक बन्ने सपना पूरा गर्न लाएको छु ।” उनका श्रीमान् मासु पसलमा जागिरे छन् । २ छोराछोरीलाई राम्रो शिक्षा दिन राम्रो आम्दानीको बाटो खोज्न उनी पनि लागेकी छन् ।
“विदेश जान थोरै पैसाले नपुग्ने, बरु यहिँ सीप सिके आम्दानीको बाटो खुल्छ भनेर एक महिनादेखि यही किनारमा डोजर चलाउन सिक्दै छु”, उनले भनिन् । कावासोतीकी जमुना गुरुङ पनि एक महिनायता डोजर चलाउन सिक्न व्यस्त बनेकी छन् । वडा प्रहरी कार्यालय नारायणगढको अगाडि नदी किनारमा डोजर सिक्न हरेक दिन ४० जना जम्मा हुने गर्छन् । “महिला पनि चालक बन्न सक्छन्, आत्मनिर्भर बन्न सक्छन्”, उनले भनिन्, “सीप नै ठूलो कुरा हो, स्वदेशमै आयमूलक काम गर्ने सोचले आएको छु ।”
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत स्वीकृत लिएर देउराली जनता प्राविधिक शिक्षालयले निःशुल्करुपमा व्याकहो लोडर अपरेटर, सेक्युरिटी गार्ड, मोटरसाइकल मर्मतलगायत तालिम सञ्चालन गरिरहेको छ । एसियाली विकास बैंकको अनुदानमा सीटीटईभीटीको सीप विकास परियोजनाअन्तर्गत छोटो अवधिका तालिम देशका विभिन्न जिल्लामा सञ्चालन गरिरहेको छ । राष्ट्रिय सीप परिक्षण समिति (एनएसटिवि)मार्फत हालसम्म३ लाख ९७ हजार ३६ जनाले सीप प्रमाणीकरणको प्रमाणपत्र लिइसकेका छन् ।
रोजगारीका सिलसिलामा ६ वर्ष विभिन्न देश बसेर आएका राप्ती–८, वीरेन्द्रनगरका डिल्लीराम पाठक स्वदेशमै रोजगारीको खोजीमा छन् । “विदेशमा गर्ने मिहेनत यहीं गर्ने हो भने सुन यहीं फल्छ”, उनले भने, “डोजर चालक बनेर रोजगारी पाउने आशा पलाएको छ ।” उनले सरकारले मेसिन खरिदमा अनुदान दिने, सीप विकासका तालिमका अवसर दिए धेरै नेपाली स्वदेशमै आत्मनिर्भर बन्न सक्ने बताए । “अब विदेश जादिनँ, सबैलाई राम्रो हुन्छ भन्ने छैन”, उनले भने, “विदेशको श्रम सम्झँदा नि मन भक्कानिन्छ, अब यहि देशमा केही गर्छु ।”
रामेछाप खाँडादेवीका लक्ष्मण कार्कीले १२ कक्षा उत्तीर्ण गरेपछि जागिरका लागि निकै भौतारिए, तर पाएनन् । “सीप नहँुदा काम पाउनै मुस्किल छ”, उनले भने, “दक्ष डोजर चालक बन्न तालिम लिदै छु, केही आशा पलाएको छ ।” म्याग्दीका यामप्रसाद पौडेल गैंडाकोटमा बस्दै आएका छन् । उनले म्याग्दीमा इलेक्ट्रोनिक्स, मेकानिकलसम्बन्धी तालिम खोजे । तर, पाएनन् । “अहिले तालिम लिन पाएको छु, इच्छाशक्ति भए यहीं कमाउन सकिन्छ”, उनले भने, “असम्भव छैन, दक्ष चालक बन्ने छु ।”
प्रशिक्षक अर्पण प्रधानले नेपालमा डोजर अपरेटर निकै माग रहेको बताए । “निर्माण, क्रसर उद्योग सबैतिर डोजर चालकको माग छ”, उनले भने, “कमाइ पनि राम्रो हुन्छ, ५५ देखि ६० हजार मासिक सजिलै कमाउन सकिन्छ ।” उनले व्याकहो लोडर अपरेटर तालिम ३ महिनासम्म ३ सय ९० घण्टा तालिम दिने काम भैरहेको जानकारि दिए । देउराली जनता प्राविधिक शिक्षालय जेभिकी सञ्चालक वर्षा घिमिरेले १ सय ३६ वटा आवेदनबाट ४० जना छनौट गरिएको बताइन् । “गरिब तथा विपन्न, बेरोजगारलाई प्राथमिकता दिएर कार्यविधि अनुसार छनौट गरिएको हो”, उनले भनिन्, “छोटो अवधिका तालिम लिन चाहनेको संख्या धेरैनै छ ।” यस्तै जिल्ला कार्यक्रम संयोजक रविन्द्र श्रेष्ठले मकवनापुर, खैरहनीमा पनि ४०÷४० जनालाई डोजरसम्बन्धी तालिम दिइएको बताए । हल्का सवारी चलाउने लाइसेन्स प्राप्त व्यक्तिलाई अपरेटरसम्बन्धी तालिम दिइएको बताए । जिल्लामा करिब २ सय लाइसेन्स प्राप्त डोजर अपरेटर रहेको अनुमान छ । तर, अपरेटरको माग अधिक रहेको पाइन्छ ।