भरतपुर,५ माघ ।
चौथो चितवन च्याम्पियनसिप कप–२०७४ आगामी माघ १६ गतेदेखि हुने भएको छ । आयोजक एभरेष्ट क्लब भरतपुरका अनुसार यसपालिको पुरस्कार राशिसमेत बढाइएको छ । खेल आयोजनाका विषयमा बिहीबार पत्रकार सम्मेनल गरी जानकारी दिइएको हो ।
आगामी माघ १६ गते सुरु हुने प्रतियोगिता फागुन २ गतेसम्म भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयको फुटबल मैदानमा सञ्चालन गरिनेछ । यसपालिको प्रतियोगितालाई प्यासिफिक कलेज अष्टे«लियाले शीर्ष प्रायोजन गरेको छ ।
यसपालिको प्रतियोगितामा पहिलो हुनेले नगद २ लाख २२ हजार २ सय २२ नगद पुरस्कारसहित चितवन च्याम्पियनसीप कप, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै उपविजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद र मेडल पाउनेछ । यो पुरस्कार गतवर्षको भन्दा झण्डै दोब्बर हो । गतवर्ष तेस्रो संस्करणको प्रतियोगितामा पहिलोलाई १ लाख २१ हजार १२१ र दोस्रो हुनेलाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार दिइएको थियो ।
सेमीफाइनलबाट बाहिरिने दुई टिमले नगद २५ हजारका दरले पाउने आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले बताए । उत्कृष्ट खेलाडी पुरस्कार नगद १० हजार विभिन्न ५ विधामा दिइने उनले जानकारी दिए । प्रतियोगितामा रजहर, गैंडाकोट र हेटौंडाका तीन वटा अतिथि टिमसहित कुल १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । खेल नकआउट आधारमा खेलाइने अध्यक्ष देवकोटाले बताए ।
खेलको टाइ–सिट भने माघ ८ गते सार्वजनिक गरिने क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । चितवन च्याम्पिनयसीप कपलाई चितवनकै गौरवपूर्ण खेल संस्कृतिको रुपमा विकास गरिने सल्लाहकार पनेरुले बताए । खेल हेर्न गर्तवर्ष राखिएको २५ रुपैयाँको टिकटको दर यसपालि बढाउने तयारी गरिएको छ ।