रत्ननगर,५ माघ ।
रत्ननगरको टिकौलीमा जारी रत्ननगर महोत्सवमा दर्शकको चाप बढेको छ । दिनप्रतिदिन बढ्दै गएको दर्शकको चापका कारण आठ दिनमै महोत्सव लक्ष्य नजिक पुगेको छ ।
महोत्सवको आठ दिनसम्म करिब ४ लाख दर्शकले महोत्सव अवलोकन गरेको र लक्ष्यअनुसार नै कारोबार भएको संघका अध्यक्ष एवं मूल समारोह समिति संयोजक राजाराम रेग्मीले जानकारी दिए । संयोजक रेग्मीले व्यावसायिक स्टलहरुमा देखिएको दर्शकको भीडका कारण कारोबार पनि उत्सहाजनकरुपमा भइरहेको बताए ।
महोत्सवस्थलमा निर्माण गरिएको धरहराका कारण पनि यसपटक रत्ननगर महोत्सव अवलोकन गर्नेको चाप बढेको हो । काठमाडौंको सुन्धारामा रहेको धरहरा २०७२ सालमा भूकम्पले भत्काएपछि नेपालीको मन–मनमा रहेको ऐतिहासिक धरहराको झल्को भेटाउन दर्शकहरु आउने गरेको संयोजक रेग्मीले बताए । महोत्सव अवलोन गर्न आएका अधिकांश दर्शक धरहरा चढेर र सेल्फी खिचेर फर्कने गरेको उनले जानकारी दिए ।
रत्ननगर महोत्सवमा यसवर्ष कृषि र पशुपालन व्यवसायलाई प्राथमिकता दिइएको छ । कृषि उत्पादन बढाउन र बजारीकरणको लागि प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी राखिएको कृषि प्रवद्र्धन समितिका संयोजक ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । महोत्सवमा कृषि र पशुपालनको छुट्टै परिसर निर्माण गरिएको छ । पशुपालन परिसरमा घाँस खेती, पशुमा लाग्ने रोग, उत्पादन बढाउन गर्नुपर्ने काम र पोल्ट्री क्षेत्रको लागि कुखुरापालनमा देखिएका समस्या र सामधान, पोल्ट्री उत्पादन र बजारीकरणका बारेमा सन्देशमूलक सामग्री राखिएका संघका कार्यसमिति सदस्य तथा पशुपंछी प्रद्र्धन समितिका संयोजक पुरु खनालले जानकारी दिए ।
महोत्सवअन्तर्गत स्वर्गीय जगतकृष्ण प्रजापतिको स्मृतिमा विद्यालयस्तरीय खुल्ला नृत्य प्रतियोगिता गरिएको छ । प्रतियोगितामा एञ्जलर्स वल्र्ड आमावि पहिलो, चितवन ईङ्लीस बोर्डिङ स्कूल दोस्रो, जुटपानी एकाडेमी तेस्रो र मदरल्याण्ड बोर्डिङ स्कूल सान्त्वना भएको संघका महासचिव निराजन खनालले जानकारी दिए । महोत्सवको साँस्कृतिक कार्यक्रमअन्तर्गत बिहीबार गायक एड्रिन प्रधान, मिलन लामा, जादुगर बलराम गिरीसहित रत्ननगर कला मन्दिरका कलाकारहरुले प्रस्तुति देखाएका थिए । महोत्सवको नवौं दिन शुक्रबार चर्चित गायक प्रमोद खरेल, भुवन प्यासीलगायत कलाकारको प्रस्तुति रहने छ ।
यस्तै थारु समुदायको महान पर्व माघीको अवसर पारेर थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ ले खैरहनी–५ स्थित गौचरनमा सञ्चालन गरेको पाँचौ खिचरा महोत्सवमा पनि दर्शकको उपस्थिति उत्साहजनक रहेको छ । बिहीबारसम्म करिब १ लाख ४० हजारको हाराहारीमा दर्शकले महोत्सवको अवलोकन गरेको सभाका सभापति एवं महोत्सव संयोजक नारायण महतोले जानकारी दिए । महोत्सवमा उत्कृष्ट कलाकारहरुको उपस्थिति र महोत्सव परिसरमा राखिएको घुँगी र चिचरको मूर्ति अवलोकनमा समेत दर्शकले खिचरा महोत्सवलाई रुचाएको संयोजक महतोले बताए ।
“यसपटकको महोत्सवमा थारु जातिको मुख्य खाना घुँगी र चिचरलाई हामीले मूर्ति बनाएर राखेका छौं, त्यहाँ आएर सेल्फी खिच्नेहरुको भीड देख्न सकिन्छ”, महतोले भने, “सँगै कलाकारहरुका कारण पनि महोत्सवमा दर्शकको भीड लाग्ने गरेको छ ।” महोत्सवको सातौ दिन गायक प्रमोद खरेलले प्रस्तुतीले झनै दर्शकलाई उत्साहित वनाएको देखिन्थ्यो । “राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान” भन्ने नारासहित जारी खिचरा महोत्सव माघ ८ गतेसम्म खैरहनी नगरपालिका–५ स्थित जनकौली गौचरनमा चल्नेछ ।
थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ ले थारु सँस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको महोत्सवमा प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनी राखिएको महोत्सव प्रचारप्रसार समितिका संयोजक कारी महतोले बताए । महोत्सवमा आकर्षणको रुपमा थारु जतिको मुख्य खानाको परिकारमध्येको ‘घुँगी’ र ‘चिचर’को ५ फिटको विशाल मूर्ति प्रदर्शनमा राखिएको छ ।