भरतपुर,५ माघ ।
भरतपुर महानगरपालिकाले भूकम्पप्रतिरोधि घर निर्माणको अभियान चलाउने जनाएको छ । भवन निर्माणसम्बन्धी मापदण्ड र आचारसंहिताविपरीत नयाँ संरचना नबनाउन आग्रह गरेको छ । भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले भूकम्पप्रतिरोधी घर बनाउन प्रेरित गर्ने गरी अभियाननै चलाइने बताइन् ।
२० औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर आयोजित अन्तरक्रिया कार्यक्रममा उनले मापदण्ड मिचेर भवन बनाउने कामलाई पूर्ण निरुत्साहित गरिने बताइन् । उनले निर्माण व्यवसायी, प्राविधिक, टोल सुधार समितिलगायत सरोकारवाला पक्षसँग समन्वय गरेर मापदण्डलाई कार्यान्वयन गराउन पहल गरिने बताइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले पहिले बनिसकेका भवनको समेत नक्सापास गराउन आग्रह गरिएको बताए ।
तत्कालीन र नयाँ मापदण्डअनुसार नबनेका संरचनालाई कारबाही गरिने उनले बताए । उनले मापदण्ड र आचारसंहिता तयार भएकाले महानगरका ग्रामीण क्षेत्रमा पनि कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले एक सडक, एक रंग अभियानलाई कार्यान्वयन गर्न टोल सुधार समितिसँग छलफल गरिने बताए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले इञ्जिनियर, निर्माण व्यवसायीले इमान्दारीपूर्वक भूकम्प प्रतिरोधि भवन बनाउन स्थानीयलाई प्रेरित गर्नुपर्ने बताए ।
उनले महानगरको विपद् व्यवस्थापनका लागि वडातहबाटै योजना बनाउन समेत सुझाव दिए । कार्यक्रममा शहरी विकास तथा भवन निर्माण कार्यालयका डिभिजन प्रमुख झपटबहादुर थापा, ईञ्जिनियर ज्योति लम्सालले कार्यपत्र प्रस्तुत गरेका थिए । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले अत्याधुनिक प्रविधिबाट बन्ने संरचनालाई प्रोत्साहन गर्ने नीति बनाउन अनुरोध गरे । उनले ग्रहुंगा ठुला आरसीसी भवन बनाउन भन्दा ‘स्टील स्ट्रक्चर’लाई समेत प्रोत्साहन गर्न अनुरोध गरे । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायत अन्य सरोकारवाला पक्षको सहभागिता रहेको थियो ।