रत्ननगर,४ माघ ।
रत्ननगर नगरपालिका भित्र दैनिक ४५ हजार लिटर दुध उत्पादन हुने गरेको तथ्यांक सार्वजनिक गरिएको छ । व्यवसायिक पशुपालक कृषक समाज नगर समन्वय समितिले पहिलो पटक नगर भित्रको तथ्यांक संकलन गरेर बुधवार सार्वजनिक गरेको हो । यसअघि नगर भित्र दुध उत्पादनको कुनै तथ्यांक लिइएको थिएन ।
पशु स्वास्थ्य तथा दुग्ध व्यवसायको वर्तमान अवस्था, अवसर र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रममा बुधबार यो तथ्यांक सार्वजनिक गरिएको हो । रत्ननगर महोत्सव अन्र्तगत पशुपंक्षी र दुध उत्पादनको विकासका लागि रत्ननगर उद्योग वाणिज्य संघ अन्र्तगतको पशुपंक्षी प्रर्वद्धन समितिले कार्यक्रम गरेको थियो । व्यवसायिक पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगरका अध्यक्ष किशोर वगालेका अनुसार यस नगरमा दुग्ध उत्पादक सहकारी सस्था र फर्मबाट दैनिक ३५ हजार र अन्य गरी करिव ४५ हजार लिटर दुध उत्पादन हुदै आएको बताए । यो हिसाव अनुसार रत्ननगरमा वार्षिक ९० करोड ३३ लाख रुपैयाको दुधको मात्रै कारोबार हुने गरेको समाजका अध्यक्ष वगालले वताए । रत्ननगरमा २१ वटा दुग्ध उत्पादक सहकारी संस्था र ४८ वटा पशु फर्म दर्ता भएर सञ्चालनमा छन् ।
रत्ननगरमा यो परिमाणमा दुध उत्पादन गर्ने कृषकहरु भने खुसीका साथ पशुपालन व्यवसाय गर्न नसकेको भन्दै दुध वेचेर नाफा हुने वातावरण मिलाउन सरकारसंग माग गरेका छन् । पशु विमा, घाँसखेती र मेसिनको अभावका कारण यो व्यवसाय सञ्चालनमा समस्या आएको समाजका अध्यक्ष वगालेले बताए । “बीमा गरेवापत पाउनु पर्ने ९० प्रतिशत रकम दिन सम्वन्धीत कम्पनीले आनाकानी गर्छ”, समाजका अध्यक्ष वगालले भने, “विमाको ५० प्रतिशत मात्र दिन्छन् ,अझ कम्पनीहरुबाट किर्ते गराई आवश्यक प्रक्रिया नपुगेको भनि दुख दिने मात्र काम भएको छ ,यसले किसान मारमा छन् ।” कार्यक्रममा पशुपंक्षी विकास मन्त्रालयका सचिव डाक्टर विश्वनाथ ओलीले नेपाललाई दुधमा आत्मनिर्भर वनाउने सरकारको लक्ष्य रहेको भन्दै पशुपंक्षीको विकास र दुध उत्पादनका लागि किसान लक्षित कार्यक्रम गर्दै आएको बताए । सो अवसरमा व्यवसायिक पशुपालक कृषक समाज,पशुपंक्षी वजार निर्देशनालय, पशु विभागले २० जना पशुपालक किसान तथा फर्महरुलाई पुरस्कृत गरेका थिए । समाजका सचिव टोमराज भट्टराईका अनुसार नगर भित्रका उत्कृष्ट दुग्ध उत्पादक सहकारी सस्था ४ वटा,घाँसखेती गर्ने ४ जना कृषक, व्यवसायिक तर्फ उन्मुख ४ जना कृषक, उत्कृष्ट गाई फर्म ४ वटा र उत्कृष्ठ भैसी फर्म ४ वटालाई पुरस्कृत गरिएको हो । रत्ननगर उद्योग वाणिज्य संघले प्रत्येक महोत्सवमा कृषिको प्रर्वद्धनका लागि कुनै एक क्षेत्रलाई प्रोत्साहन गर्दै आएको छ । यसअघि उद्योग वाणिज्य संघले मह,केरा,माछा लगायतलाई प्राथमिकता दिएकोमा यस पटक वंगुर र पशुपालनलाई विषेश जोड दिएको संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए ।