धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,४ माघ ।
नेपालको तेस्रो पर्यटकिय गन्तव्य सौराहासंग जोडिएको कुमरोज मध्यवर्ती सामुदायिक वनले पर्यापर्यटनबाट मनग्य आम्दानी गरेको छ । सो वनको आम्दानीको स्रोत हात्ती सफारी, जीप सफारी, डुंगा सयर, मचान हो । आर्थिक वर्ष २०७३÷७४ देखी संचालन गरिएको जीप सफारी कुमरोज वनको मुख्य आम्दानीको स्रोत देखिएको छ ।
सो वनको बुधबार आयोजित ११ औं वार्षिक साधारण सभा तथा छैठौ अधिवेशनमा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७३÷७४ मा पर्यापर्यटनबाट मात्रै ५९ लाख ९६ हजार रुपैया आम्दानी भएको छ । जस मध्ये जीप सफारीबाट मात्रै ३० लाख ५१ हजार रुपैया आम्दानी भएको छ । हाल कुमरोज सामुदायिक वनमा दैनिक ३० वटा जीप सञ्चालनमा छन् । जीप प्रवेश वापत सामुदायिक वनले प्रति जीप रु ५ सय लिने गरेको छ भने नेपाली पर्यटकलाई प्रति व्यक्ती रु ५०, भारतियलाई रु एक सय र अन्य विदेशीलाई रु २ सय रुपैया लिने गरिएको कुमरोज सामुदायिक वनका अध्यक्ष हिराबहादुर गुरुङले जानकारी दिए ।
त्यस्तै हात्ती प्रवेश टिकट विक्रीबाट १३ लाख ७५ हजार आम्दानी गरेको वनका अध्यक्ष गुरुङले बताए । उनका अनुसार डुंगा सवारबाट ७ लाख ४८ हजार, मचान टिकट विक्री विदेशीबाट ५ लाख ३१ हजार,सोही शीर्षकमा नेपाली पर्यटकबाट ९४ हजार रुपैया रुपैया आम्दानी भएको छ । कुमरोज वनमा एउटा काठ र अर्को क्रंकिटको मचान छ । यस्तै आन्तरिक पर्यटक प्रवेश शुल्कवापत १ लाख ४५ हजार रुपैया,गिट्टी वालुवा बिक्रिबाट ६ लाख ३ हजार, आम्दानी भएको छ । आर्थिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७३÷७४ मा यस वनले ६९ लाख १९ हजार रुपैया आम्दानी गर्नुका साथै ६५ लाख ३६ हजार रुपैया खर्च भई कुल ३ लाख ८३ हजार रुपैया वचत भएको वनका अध्यक्ष गुरुङले बताए ।
वनको आम्दानी अनुसार वन संरक्षण,सम्र्वद्धन तथा व्यवस्थापन,वन पैदावार संकलन, पर्यटन कार्यक्रम सञ्चालन, सामुदायिक विकासमा पनि उत्तिकै खर्च गरेको छ । वार्षिक साधारण सभाको अवसरमा सो वनले आफ्नो सेवा क्षेत्र भित्रका ७ वटा विद्यालयका गरिव,विपन्न विद्यार्थीका लागि सहयोग रकम हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथी चितवन क्षेत्र नम्वर एक प्रदेश सभा सदस्य कृष्ण प्रसाख खनालले कपिया मावि, गवै मावि, जनकपुर निमावि, दिव्यज्योती निमावी, धर्मेश्वर निमावि, साना किसान प्रावि र सेतो गुरास वाल विकासलाई एक लाख रुपैया प्रदान गरे । माविलाई २० हजारका दरले, निमावीलाई १५ हजार, प्राविलाई १० हजार र वाल विकासलाई ५ हजार रुपैया प्रदान गरिएको कुमरोज सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिए ।
यस्तै संरक्षणको क्षेत्रमा योगदान पु¥याएवापत १४ जना संरक्षणकर्मीलाई सम्मान गरिएको छ । संरक्षण क्षेत्रमा योगदान पुर्याएको भन्दै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेंल,सहायक संरक्षण अधिकृत अभिनय पाठक, नेचर गाईडहरु विमिता भण्डारी, एककृष्ण श्रेष्ठ, धनलाल तामाङ, जीप चालकहरु मेघबहादुर जिसी, जीवन कुमाल, विक्रम तामाङ लगायतलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य खनालले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए । कुमरोज सामुदायिक वनका अध्यक्ष हिरावहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगाना, वुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमल्सीना,उपभोक्ताहरु गीतानाथ अर्याल,रेवती उप्रेती,वनका सचिव कल्याण लटौला लगायतले मन्तव्य राखेका थिए ।
पर्यटन विकासका २ करोड विनियोजन
खैरहनीको पर्यटन विकासका लागि खैरहनी नगरपालिकाले करिब २ करोड रुपैया विनियोजन गरेको जनाएको छ । खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीका अनुसार यस नगर भित्र पर्यटन विकासका लागि १ करोड ७४ लाख रुपैया विनियोजन गरेर काम सुरु भइसकेको छ ।
सौराहाबाट कुमरोज पर्यटनमा जोडिएको र त्यसलाई अझ विस्तार गर्दै कठार र कंकाल सामुदायिक वन सम्म पुर्याउन पर्याप्त वजेट विनियोजन गरिएको मेयर चौधरीले बताए । यस नगरपालिका भित्र रहेको कंकाली सामुदायिक वनमा टावर निर्माणका लागि ५९ लाख,यस वन क्षेत्रमा संचालित पिकनिङस्पटको पूर्वाधार विकासका लागि ३० लाख, कुमरोज सामुदायिक वनमा मेसजाली निर्माणका लागि १५ लाख,खगेन्द्रमल्ली मध्यवर्ती उपभोक्ता समिति अन्र्तगत रहेका वनमा पर्यटन मार्ग निर्माणका लागि ३० लाख रुपैया विनियोजन गरेर काम भईरहेको मेयर लालमणी चौधरीले जानकारी दिए । सौराहा आउने पर्यटक कुमरोज घुम्न आउँदा चिया खाने, कठार पुग्दा खाना खाने र कंकाली पुग्दा खाजा खुवाउने गरी गतिविधी संचालन गर्न सके यहाँका स्थानीयको आयआर्जनमा समेत वृद्धी हुने मेयर चौधरीले बताए ।