विप्लव काफ्ले
भरतपुर, ३ माघ ।
सोमेश्वर माध्यामिक विद्यालय माडीमा शिक्षक कृष्णप्रसाद पाठकको स्मृतिमा अक्षय कोष स्थापना भएको छ । विद्यालयको ४६ औँ वर्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर पाठक परिवारले १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरेका छन् । २७ वर्ष सो विद्यालयमा लगातार शिक्षण गर्दै आइरहेका शिक्षक कृष्णप्रसाद पाठकको क्यान्सरका कारण साउन ७ गते निधन भएको थियो । उनको श्रीमति जानुका पाठकले उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई हरेक वर्ष सम्मान तथा छात्रवृत्ति दिने गरी अक्षय कोष स्थापना गरिएको जानकारी दिइन् । यस्तै द्वन्दकालमा ज्यान गुमाएका माडी–१ भंगेताका केशव क्षेत्रीको स्मृतिमा अक्षय कोष स्थापना भएको छ । १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरिएको स्वर्गीय केशवका बुबा दुर्गाबहादुर क्षेत्री पौडेलले जानकारी दिए । हरेक वर्ष अक्षय कोषमा बचत भएको रकमको व्याज मार्फत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए । विद्यालयमा हालसम्म १६ वटा अक्षय कोष स्थापना भएका छन् । हरेक अक्षय कोष मार्फत विद्यार्थीलाई हरेक वर्ष १ सय बढीलाई छात्रवृत्ति दिइदै आएको विद्यालयका लेखापाल सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।
यसैबीच, पूर्वप्रधानपञ्च, विद्यालयका पूर्व व्यवस्थापन समिति सदस्य डासिराम पाठकको स्मृतिमा निर्माण भएको विद्यालयको मूल प्रवेशद्वार विद्यालयलाई हस्तान्तरण गरिएको छ । शिक्षक कृष्णप्रसाद पाठकले भाइ प्रेम पाठक मिलेर दाजु बुबा तथा आमा ठगिसरा पाठकको स्मृतिमा प्रवेशद्वार निर्माण गरिने प्रतिवद्धता जनाएका थिए । तर, शिक्षक कृष्णप्रसाद पाठकको साउन ७ गते निधन भएको थियो । वार्षिकोत्सव कार्यक्रममा माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाल, पूर्वक्षिशा मन्त्री डिआर पौडेल, वडाध्यक्ष कृष्णप्रसाद पौडेल, नगर शिक्षा अधिकारी माधवप्रसाद पोखरेल, रेडक्रस बरुवाका सभापति छविलाल भट्टराई लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा ५ पटकसम्म विद्यालयको प्रधानाध्यापक भएका पूर्वशिक्षक पूर्णभद्र उपाध्याय, पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर पौडेल, अक्षय कोष दाता खगेश्वर सुवेदी, जानुका न्यौपानेलाई सम्मान गरिएको थियो । यसैबीच विद्यालयमा शुद्ध पीउने पानीका लागि स्थापना भएको खानेपानी तथा सरसफाई आयोजनाको हस्तान्तरण गरिएको शिक्षक गणेश बहादुर क्षेत्रीले जानकारी दिए । पूर्वविद्यार्थी उमाकान्त रेग्मीले पूर्वविद्यार्थीको सहभागितामा विद्यालयमा आवश्यक भौतिक पूर्वाधार विकासका लागि विशेष योजना ल्याइर सहयोग गरिने प्रतिवद्धता जनाए । कार्यक्रममा विद्यालयमा प्रर्चाय माधवप्रसाद सुवेदीले १ करोड २६ लाख बराबरको आयव्यय विवरण सार्वजनिक गरेका थिए । कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद दवाडीको अध्यक्षतमा भएको थियो । १२ कक्षासम्म अध्यापन हुने यो विद्यालयमा हाल १ हजार २ सय विद्यार्थी अध्ययनरत छन् ।