भरतपुर, २ माघ ।
उद्योग वाणिज्य संघ–चितवनकोे अध्यक्षमा सहनलाल प्रधान विजयी भएका छन् । प्रतिद्वन्द्वी राजु श्रेष्ठलाई ३ सय ४३ मतान्तरले पछि पार्दै आगामी २ वर्षे कार्यकालका लागि प्रधान विजयी भएको निर्वाचन समिति संयोजक अधिवक्ता जगन्नाथ भण्डारीले जानकारी दिए ।
संघको यअसघि नै मनोनयन दर्ताको समयमै तीन जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । यस निर्वाचनबाट सहनलाल प्रधान प्यानलका पदाधिकारीसहितका बहुमत सदस्य निर्वाचित भएका छन् । राजु श्रेष्ठ प्यानलका सदस्यमा ईं कृष्णप्रसाद रिजाल र थिरप्रसाद धिताल बाहेक सबै सदस्य र पदाधिकारी पराजित भएका छन् ।
सोमबार राति करिब १० बजे सकिएको मतगणनाको अन्तिम परिणाममा प्रधानले १४८९ मत प्राप्त गर्दा श्रेष्ठले ११४६ मत ल्याए । प्रधान पूर्व वरिष्ठ उपाध्यक्ष हुन् भने श्रेष्ठ निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । सानैदेखिका साथी यी दुई पहिले संघमा मिलेर काम गर्थे । तर, गत कार्यकालमा अध्यक्ष लडेका सहन राजन गौतमसँग चुनाव हारेपछि संघबाट टाढा भए । एक कार्यकाल सँगै काम गरेपछि राजु र राजन नजिकिएका थिए । र अन्ततः दुई साथीलाई नै समयले अध्यक्षमा पतिद्वन्द्वी बनाइदियो ।
अध्यक्ष जितेपछि सहनले राजुको नेतृत्व सीप र क्षमताको पनि कदर गरेर अघि बढ्ने बताएका छन् । “चुनाव लड्दा हामी दुई खेमामा भयौं”, जितेलगत्तै सञ्चारकर्मीसँग उनले भने, “अब हामी एक भयौं, राजुजीसँग पनि सधैं सल्लाह गरेरै काम गर्नेछु ।” उनले सबै मतदाता व्यवसायीहरुलाई धन्यवाद दिएका छन् ।
संघको ५१ औं साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ १६१९ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद कँडेलले १०१८ मत प्राप्त गरे ।
यसैगरी वाणिज्यतर्फको उपाध्यक्षमा ई. भोजराज कौडाल १४७६ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी विपेन्द्र रामुदामु ‘विपिन’ ले ११५९ मत प्राप्त गरे । उद्योगतर्फको उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ १४१३ मतका साथ निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नवीन कँडेलले १२१९ मत प्राप्त गरे । त्यस्तै वस्तगुततर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी (१४६१) मतका निर्वाचित भए । उहाँका निकटतम प्रतिद्वन्द्वी राजेन्द्र कँडेलले (११६४) मत प्राप्त गरे ।
त्यसैगरी उद्योगतर्फको कार्यसमिति सदस्यहरुमा अशोक अधिकारी (१९१०), सोमप्रसाद काप्री (१६८०), सिद्र्धालाल चुके (१६३७), ई.कृष्णप्रसाद रिजाल (१४६१), चन्द्रमणि सापकोटा (१४१३), रोहितकुमार श्रेष्ठ (१४२५) मतका साथ निर्वाचित भए । यसबाट विजयी हुने रिजालमात्रै राजु श्रेष्ठका प्यानलका हुन् ।
यस्तै वाणिज्यतर्फको सदस्यमा ईश्वरीप्रसाद खराल (१६०५), राजेन्द्र ओली (१३६१), ज्ञानुप्रसाद न्यौपाने (१२६२), लक्ष्मी रिमाल पौडेल (१२१६), तारानाथ पाठक (११९५) र थिरप्रसाद धिताल(१०७१) मतका साथ निर्वाचित भए । यसमा पनि थिरप्रसाद एक्लो राजु प्यानलबाट विजयी सदस्य बनेका छन् । महिला सदस्यमा पनि सहन प्यानलकै रजनी मास्के (१६९५) मतका साथ निर्वाचित भइन् ।
त्यस्तै वस्तुगततर्फ शिवप्रसाद ओझा(२३), विकास थापा(२२), दीपक शर्मा पौडेल(२०) र किरण कुमार खनाल(१७) विजयी भए ।
संघको नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनमा जिल्लाका कूल २८५६ मतदातामध्ये २७४७ ले मतदान गरेका थिए आइतबार बिहान १० बजेबाट सुरु भएको मतदान साँझ साढे ५ बजे सम्पन्न भएको थियो । सोमबार बिहान १० बजेबाट मत गनिएको थियो ।