विनोदबाबु रिजाल
भरतपुर, ३० पुस ।
अनाथ बालिकालाई आश्रयसहित शिक्षादीक्षा दिइरहेको संस्था ‘सानो घर’ को लागि नारायणगढमा चिया बेचेरै झण्डै १ लाख ३४ हजार रुपैयाँ संकलन गरिएको छ । ‘अ कप अफ टी’ नाम दिइएको अभियानअन्तर्गत आइतबार एक दिन चिया बेचिएको हो ।
रत्ननगर–२, नवीनचोकमा रहेको सानो घरका लागि उद्योग वाणिज्य संघ–चितवनको निर्वाचन भएको स्थलमा आइतबार दिनभर चिया बेचेर १ लाख ३३ हजार ८ सय १५ रुपैयाँ नगद संकलन गरिएको हो ।
संघको ५१ ओं साधारणसभा तथा अधिवेशनमा सहभागी हुन पुगेका व्यक्तिहरुलाई चिया खुवाएर उनीहरुबाट नगद सहयोग संकलन गरिएको आयोजक संस्थामध्ये एक लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले जानकारी दिए ।
कार्यक्रमलाई हर्ट टु हर्ट सोसाइटी, नारायणी मोटर्स, लायन्स क्लब अफ नारायणगढ बालकुमारी, हर्ट एण्ड लङ सोसाइटी, हर्ट फण्ड नेपाल र रोट¥याक्ट क्लब अफ भरतपुरले संयुक्तरुपमा आयोजना गरेका हुन् ।
सो क्रममा चिया खाएका व्यक्तिले स्वेच्छाले दान पेटिकामा पैसा खसालेका थिए । संकलित रकम सानो घर सञ्चालनका लागि अक्षयकोष स्थापना गरिने अभियान्ता छायाँ श्रेष्ठले जानकारी दिइन् ।
चियाबाट संकलन भएको ८२ हजार ९९५ रुपैयाँमा चुकेले १० हजार थपेका थिए । त्यस्तै उद्योग वाणिज्य संघ–चितवनको निवर्तमान कार्यसमितिका तर्फबाट विभिन्न कार्यक्रमको भत्ताबापत सञ्चित रकममध्ये ४० हजार ८२० रकम सोही कोषमा हस्तान्तरण गरेको छ ।
यसअघि गतसाल पनि यही कार्यक्रमबाट ५० हजार रुपैयाँ संकलन गरिएको थियो ।
सानो घरमा हाल ४ देखि १३ वर्षसम्मका १५ जना बालिका आश्रित रहेको सञ्चालक विमला श्रेष्ठले जानकारी दिइन् । उनीहरु नेपाल मावि रत्ननगर टाँडीमा नर्सरीदेखि ८ कक्षासम्म अध्ययनरत छन् । संस्था २०६७ सालमा स्थापना भएको हो ।