विनोदबाबु रिजाल
चितवन, ३० पुस ।
माघे संक्रान्तिको अवसरमा नारायणी नदी किनारमा गर्न लागिएको ‘नेपथ्य लाइभ–२०१८’ को तयारी पूरा भएको छ ।
आइतबार दिनभर आयोजकले नारायणी किनारमा सबै तयारी गरेको हो । कन्सर्टस्थलमा बार लगाइएको छ । त्यसमा ५ सय र १ हजारका टिकट लिने दर्शकका लागि छुट्टाछुट्टै स्थल बनाइएका छन् । करिब १० हजार दर्शक अट्ने गरी कन्सर्टस्थलको व्यवस्थापन गरिएको आयोजक दाताज इभेन्ट म्यानेजमेन्टका अध्यक्ष दाताराम घिमिरेले जानकारी दिए ।
अधिकांश टिकट बिक्री गरिसकेको र कन्सर्टकै दिन किन्न चाहनेको लागि केही टिकट बाँकी रहेको घिमिरेले जानकारी दिए ।
कन्सर्टका लागि नेपथ्य टोलीले आइतबार साँझ साउण्ड सिस्टम तथा लाइट परीक्षण गरेको छ । ब्याण्डका मुख्य गायक अमृत गुरुङसमेतले आइतबार स्टेज चढेर साउण्ड सिस्टम परीक्षण गरेका छन् ।
फरक र मौलिक स्वाद लिएर सांगीतिक क्षेत्रमा चर्चित रहेको ‘नेपथ्य’ ब्याण्डले माघ १ गते साँझ ६ बजेबाट करिब ३ घण्टा गीत गाउनेछ ।
नेपथ्यले २५ औं वर्षगाँठ मनाइरहेको छ । यही अवसरमा मुलुकका विभिन्न सहरमा गर्न लागेको कार्यक्रमअन्तर्गत चितवनमा पनि यो कार्यक्रम गर्न लागिएको हो । “४ वर्षदेखि हामीले धेरै सांगीतिक कार्यक्रम गरेका छौँ”, घिमिरेले भने, “यसपालि ज्यादै ठूलो ‘क्राउड’का बीचमा नेपथ्यलाई ल्याउँदैछौँ, यो ठूलो कार्यक्रम हो ।” नेपाली लोक, आधुनिक क्षेत्रमा सर्वोत्कृष्ट व्याण्डका रुपमा स्थापित नेपथ्यलाई चितवन ल्याउनु ठूलो उपलब्धी भएको उनले बताए ।
यो कार्यक्रमलाई मेट्स एजुकेसन प्रालिको मुख्य प्रायोजन गरेको छ । कार्यक्रम स्थलमा साँझ ६ बजे अघि नै प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रवेशका लागि टिकटको मूल्यअनुसारका दुई–दुई वटा गेटको व्यवस्था गरिएको छ । साँझ ६ बजेदेखि सुरु हुने सो कार्यक्रममा उच्चस्तरीय साउण्ड सिष्टमको व्यवस्था गरिएको छ । कार्यक्रम स्थलमा मदिरा तथा सूर्तिजन्य पदार्थको प्रयोगमा निषेध गरिएको छ ।
नेपथ्यका ‘रेशम’, ‘छेक्यो–छेक्यो देउराली डाँडा’, ‘तालको पानी’ ‘हिमाल चुचुरो’ जस्ता चर्चित गीत युवाले खुबै रुचाएका छन् ।