धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,२९ पुष ।
थारु समुदायको नयाँ वर्ष माघी(खिचरा) को अवसर पारेर पूर्वी चितवनको खैरहनीमा पाँचौं खिचरा महोत्सव सुरु भएको छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ को आयोजनामा खैरहनी–५, जवकौलीमा सुरु भएको महोत्सवको एक समारोहबीच भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले उद्घाटन गरे ।
सो अवसरमा वोल्दै भूमिसुधारमन्त्री दहितले जात, धर्म, संस्कृतिको संरक्षण भएमात्रै राष्ट्रिय एकता हुने बताए । “नेपाल बहुभाषिक, बहुजाति, बहुधार्मिक मुलुक हो” मन्त्री दहितले भने, “यी सबै जातजातिको भाषा, संस्कृति संरक्षण भएमात्रै राष्ट्रिय एकता हुन्छ । खिचरा पर्वलाई पनि सरकारले राष्ट्रिय पर्वको रुपमा विदा दिदै आएको भन्दै मन्त्री दहितले शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंमा खिचरा महोत्सव मनाउन १५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।
यस्ता मेला महोत्सवले आदिवासी थारु समुदायको संस्कृति पहिचान हुनुका साथै यो समुदायले उत्पादन गर्ने हस्तकलाको प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । अब बन्ने प्रदेश र संघीय सरकारले विभेद नहुने गरी ऐन कानून बनाउनुपर्नेसमेत उनको सुझाव थियो । कार्यक्रममा चितवन निर्वाचन क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य रामलाल महतोले पर्यटन विकासका लागि थारु समुदायको भुमिका उल्लेख्य गरेको बताए । थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ का सभापति एवं महोत्सव मूल समितिका संयोजक नारायण महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा खैरहनी नगरपालिकाका उपप्रमुख सुनिता थपलिया, थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष विश्राम महतो, खैरहनी–५ का वडाध्यक्ष विश्वविजय बस्नेत, महोत्सवका अतिथि सत्कार समितिका संयोजक चन्द्र चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । महोत्सव प्रचारप्रसार समितिका संयोजक कारी महतोका अनुसार थारु समुदायले प्रयोग गर्ने खानाका परिकार प्रवद्र्धन गर्ने गरी २० वटा स्टल राखिएको जानकारी दिए ।
थारु सँस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको महोत्सवमा प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनीलाई प्रमुख प्राथमिकतामा राखिएको छ । यस्तै यसवर्ष महोत्सवको अर्को आकर्षणको रुपमा थारु जतिको मुख्य खानाको परिकार मध्येको ‘घोङघी’ र ‘चिचर’को ५ फिटको विशाल मूर्ती प्रदर्शनमा राखिएको छ । सो मूर्तीले भूमिसुधार मन्त्री दहितले अनावरणसमेत गरेका थिए । महोत्सवअन्तर्गतनै राष्ट्रियस्तरको भलिबल प्रतियोगिता, सेल्फी प्रतियोगिता, दौड प्रतियोगितालगायत हुनेछन् । यो पटक महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहार स्वरुप काठको पलङ राखिएको छ भने प्रत्येक ५० रुपैयाँको टिकटमा २५ रुपैयाँ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको छ ।
महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र झण्डै १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आर्थिक समितिका संयोजक संजय चौधरीले जानकारी दिए । महोत्सव अवधिभर प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ ।