भरतपुर,२९ पुष ।
चितवन उद्योग वाणिज्य संघको आसन्न चुनावमा दुई समूह बनाएरै व्यवसायी नेतृत्व लिन कस्सिएका छन् । अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र पूर्ववरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानले आ–आफ्नो समूह (प्यानल)नै बनाएर व्यवसायी मतदाता रिझाउने काममा लागेका छन् ।
अध्यक्षसहित पदाधिकारीमा प्यानलमा उम्म्ेदवारी दिएका हरेक उम्मेदवार एकै दलका शुभचिन्तक छन् । शुक्रबार दुवै समूहले छुट्टाछुट्टै पत्रकार सम्मेलन आयोजना गरी राजनीतिक दलको समर्थनबारे बोले । अध्यक्षका उम्मेदवार सहनलाल प्रधानले भने, “मैले थाहा पाएसम्म मैले सहयोग पाएको छु ।” उनले पूर्वअध्यक्षहरुले समर्थन गरेका उम्मेदवारलाई जिल्लामा क्रियाशील राजनीतिक दलले सिरोपर गर्दै आइरहेको इतिहास रहेको बताए । उनले घुमाउरो पारामा आफ्नो समूहलाई राजनीतिक दलले भित्रीरुपमा सहयोग गरेको संकेत गरे । “लिखित गरेर बाहिर ल्याउने कुरा होइन, माइन्युट गर्ने कुरा होइन”, उनले भने, “विगतमा पूर्वअध्यक्षले समर्थन गरेको उम्मेदवारलाई समर्थन गर्ने राजनीतिक दलले सपोर्ट गरेका हुन्, यसपालि पूर्वअध्यक्षको समर्थन मलाई छ, त्यसैले अनुमान लगाउन सक्नुहुन्छ ।”
तर, श्रेष्ठ समूहले खुलेरै आफ्नो समूहलाई राजनीतिक समर्थन नरहेको जनाएको छ । “हामीलाई राजनीतिक समर्थन छैन, हामीलाई चाहिदैन”, श्रेष्ठ प्यानलको खुलेरै समर्थन गर्दै अघि बढेका संघका अध्यक्ष राजन गौतमले पत्रकार सम्मेलनमा भने, “हामी विशुद्ध व्यावसायिक संस्था हौँ, हामी व्यवसायी हौँ ।” उनले आफूले जिल्लाका मुख्य तीन राजनीतिक दलका अध्यक्ष, सभापतिसँग कुनै समूहको पक्षमा अभिव्यक्ति नदिन मौखिक प्रतिबद्धता पाएको बताए ।
यसैबीच अध्यक्षका उम्मेदवार राजु श्रेष्ठले आसन्न निर्वाचनलाई लक्षित गरी १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले यसअघि चुनावी घरदैलोमा वितरित १८ बुँदे प्रतिबद्धतालाई संशोधन गरी १७ बुँदे नयाँ प्रतिबद्धता तयार गरेका हुन् । उनले घरबहालमा बस्ने व्यवसायीलाई दबाब र तनावमुक्त बनाउन घरबहालसम्बन्धी आवश्यक कानून निर्माण गर्न घरबहाल उपभोक्ता मञ्चसँग समन्वयात्मक पहल गर्ने पहिलो प्रतिबद्धता गरेका छन् । उनको प्रतिबद्धतापत्रमा रुग्ण उद्योग कलकारखाना सञ्चालन, भान्सर महसुल दर पुनरावलोकन गर्ने, बैंक ऋणको अनिश्चित व्याजदर जस्ता व्यवस्था सरलीकरण गर्ने, नारायणगढ मुग्लिङ सडक निर्माणमा पहल गर्ने जस्ता प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् ।
यस्तै अध्यक्षका उम्मेदवार सहनलाल प्रधानले १९ बुँदे सामुहिक प्रतिबद्धता कायमै रहेको जनाएका छन् । यस्तै उनले पत्रकार सम्मेलनमा प्रतिपक्षि उम्मेदवारले अहमता प्रदर्शन गरेको आरोप लगाएका छन् । “चिराग फर्म र लक्ष्मीनारायण बस्त्रालय प्रकरणमा आफैले लडाकु कार्य गरे भनेर भन्नुले केह भन्न खोज्नुभएको हो”, उनले भने, “चिराग फर्मको समस्या समाधान गर्न मपनि संघमा थिएँ, पूर्वअध्यक्ष तथा तत्कालिन अध्यक्षहरु र कार्यसमितिको उपस्थिति रहेको थियो, बस्त्रालय प्रकरणमा संघ, महासंघ समेत लाग्दा आजसम्म समस्या समाधान भएको छैन ।” उनले पूर्वअध्यक्षहरुको योगदानको अवमूल्यन गर्ने काममा लागेको आरोप लगाए । श्रेष्ठ समूहको पत्रकार सम्मेलनमा हालका अध्यक्षबाहेक पूर्वअध्यक्ष सहभागि थिएनन् । यता प्रधान समूहको पत्रकार सम्मेलनमा केहि पूर्वअध्यक्षहरु सहभागि थिए ।