२८ पुस । नेपाल बार एशोसिएसनले डा. गोविन्द केसीको मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गर्दै अनसन बसेर न्यायालयमाथि दबाव नदिन डा. केसीलाई आग्रह गरेको छ ।
डा. केसीको अनसन, अदालतको अवहेलना मुद्दा र सर्वोच्चको आदेशबारे बारले एक विज्ञप्ती जारी गर्दै अदालतको आदेशलाई सबैले पालना गर्नु पर्ने र अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टिकाटिप्पणी मात्र नगरी व्यक्तिगत लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्नु गलत भएको बताएको छ ।
बारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ‘आफ्नो अनुकुलतामा फैसला आदेश नभए प्रधानन्यायाधीशको राजीनामा माग गर्ने, माग पुरा नहुन्जेलसम्म आमरण अनसन जारी राख्ने जस्ता विषयबस्तुले प्रश्रय पाउने हो भने र त्यसलाई अन्य पक्षले समर्थन गर्दै अगाडि बढ्ने हो भने कुन विषयबस्तु कुन ठाउँमा उठाउने, कसले उठाउने र उपचार पाउने माध्यम के हो भन्ने विषयमा जटिलता मात्र देखिने नभई गलत प्रक्रिया र पद्दतीको विकास हुनेतर्फ ध्यानाकर्षण गराइन्छ ।’
बारले कुनै मुद्धामा न्यायाधीशविरुद्ध उजुरी गर्नु परे न्याय परिषद् जानुपर्ने कानुनी व्यवस्था पनि स्मरण गराएको छ । उजुरी परेमा न्याय परिषद्ले अध्ययन गर्ने भन्दै भनेको छ, ‘उक्त कानुनी व्यवस्थाको परिपालना गरी स्वतज्ध न्यायपालिकाको गरिमा कायम राख्न अनुरोध गरिन्छ ।’
बार एशोसिएसनले डा. केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेशको स्वागत पनि गरेको छ ।
उसले अनसन स्थगित गर्न पनि आग्रह गरेको छ ।