राजु श्रेष्ठ उवासंघ चितवनको अध्यक्ष पदमा पहिलो पटक चुनाव लड्दै छन् । उनी २०६४, २०६६ सालमा संघको कार्यसमिति सदस्य थिए । २०६८ मा तृतीय उपाध्यक्ष, २०७० मा प्रथम उपाध्यक्ष, २०७२ मा वरिष्ठ उपाध्यक्षका रुपमा नेतृत्व गरिसकेका छन् । उनी होटल व्यवसायी हुन् । उनले होटल ग्राण्ड भ्यू सञ्चालन गर्छन् । । उनी नेशनल सिटी अस्पतालका सञ्चालक, चितवन खेलकुद विकास समितिका अध्यक्ष, एन्फाका केन्द्रीय सदस्य, राष्ट्रिय खेलकुद परिषदका सदस्यसमेत भएर उनले नेतृत्वदायी भूमिका खेलिसकेका छन् । उनी चितवनको खेलकुद विकासका एजेण्डामा पनि सधै अग्रस्थानमा देखा पर्ने व्यक्ति हुन् । व्यवसायीलाई परेका समस्यामा तुरुन्त सम्बन्धित निकाय दौडिन पुग्ने व्यक्तिका रुपमा उनी चर्चित छन् । अध्यक्ष पदका उम्मेदवार श्रेष्ठसँग विप्लव काफ्लेले गरेको कुराकानीः ः
अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ, किन ?
संघको १० वर्षे यात्रामा म सदस्य हुँदै वरिष्ठ उपाध्यक्षसमेत भएँ । मेरो नेतृत्वमा जाने स्वाभाविक कुरा हो । वरिष्ठ उपाध्यक्ष भएपछि कहाँ जाने ? वरिष्ठ उपाध्यक्ष भएरै बस्न मिलेन । त्यसैले अध्यक्ष पद मेरा लागि स्वाभाविक थियो । त्यसैले अध्यक्षमा उम्मेदवारी दिएको छु । साँच्चिकै व्यवसायीप्रति इमान्दारीपूर्वक मैले निर्वाह गरेको भूमिका र जिम्मेवारीले पनि व्यवसायीको हित, प्रवद्र्धन र विकासमा सहयोग पुगेकै थियो । र फेरि नेतृत्वमा आउन चाहेको हुँ ।
वरिष्ठ उपाध्यक्ष हुँदा उल्लेख्य काम नगरेको आरोप लाग्ने गरेको छ । फेरि अध्यक्षमा जितिएला भन्ने लाग्छ ?
चुनावी दौरानमा आरोप लाग्नु स्वाभाविक हो । तर, उद्योगी व्यवसायीको पक्षमा वकालत गर्ने व्यक्तिका रुपमा मलाई धेरैले चिन्छन् । तमाम वस्तुगत संघका अध्यक्ष साथीहरु, मेरो कामको मूल्यांकन गर्ने व्यवसायीको साथ र सहयोगले जित्छु भन्नेमा कुनै आशंकानै छैन । हामी धेरै उत्साहित छौँ । टिम नै जिततर्फ उन्मुख भएको पाएका छौँ । दिनरात, घामपानी केहि नभनी व्यवसायीको सेवामा समर्पित भएको थिएँ । लक्ष्मीनारायण वस्त्रालय, लायन्सचोकको सब्जीमण्डी समस्या, व्यवसायीमाथि धरपकड हुँदाका बेला संघको तर्फबाट नेतृत्व गर्दै म कडा विरोधमा उत्रिएर समस्या समाधान गर्न भूमिका खेलेको अवगतै छ ।
कपडा व्यवसायी संघले सबै प्रकारका कपडाको भन्सार दर एउटै बनाउन केन्द्रीय तहमा पहल गर्न भनेको थियो । विज्ञप्ति पनि बुझाएका थिए । वर्तमान कार्यसमितिले केहि वास्तै गरेन भन्ने आरोप छ नि !
बुटवल, मकवानपुरलगायतका व्यवसायीसँग यो विषयमा हामीले छलफल गरेका हौँ । कपडा व्यवसायीकमा समस्या जटिल छ । ‘अण्डरबिलिङ’ हाम्रो मात्रै होइन देशभरिको साझा समस्या हो । भारतबाट आयातित हुने सबैप्रकारका कपडामा ५ प्रतिशत भन्सार कर लगाइएमा हाल उठ्दै आएको भन्दा बढी राजस्व संकलन हुन्छ । वैज्ञानिक भन्सार दर पनि हुन्छ । महासंघ, अर्थमन्त्रीसँग पनि कुरा गरेकै हो । त्यसैले काम गरेन भन्नुमा सत्यता छैन ।
तपाईंको प्यानलविरुद्ध पूर्वअध्यक्षहरु खनिएका छन् । वर्तमान कार्यसमितिले संघमा ‘डिजास्टर’ ल्याउन लाग्यो भनेर आरोप लगाइरहेका छन् नि !
निर्वतमान अध्यक्षलाई महासंघमा निर्वाचित गर्न वर्तमान अध्यक्ष र मेरो भूमिका ठूलो थियो भन्नेमा दुईमत छैन । जहाँसम्म पूर्वअध्यक्षहरुले छरपष्टरुपमा पत्रकार सम्मेलनै गरेर डिजास्टर ल्याउन लाग्यो भनेर आफैले जन्माएको संघलाई आरोप लगाउनुभएको छ । के राजन गौतम आएपछि डिजास्टर गरेको हो त ? होला उहाँले घरदैलो गरेर ज्यू हजुरी नगरेकै हो । हामी व्यवसायीप्रति उत्तरदायी छौं कि छैन ? जिम्मेवार, लगनशील छौं कि छैनौँ ? त्यो हेर्नुपर्छ । १३ जना पूर्वअध्यक्षहरु त सहनजीकै नातेदार छन् । नून बार्ने मान्छेहरु छन् । उनीहरु सबै एउटै परिवारका हुन् । त्यसहिसावले लागे होलान् ।
यसको मतलब पूर्वअध्यक्षहरुले समर्थन नजनाएपनि चुनावमा असर गर्दैन ?
अध्यक्षहरुले समर्थन नगर्दैमा कमजोर हुने होइन । अहिलको संस्थापन पक्ष भनेको राजन गौतम हो । उहाँले मेरो कामको मूल्यांकन गर्नुभएको छ । निवर्तमान अध्यक्षले पनि मलाई ‘एक्सलेन्स अवार्ड’ दिएकै हो । गौतमजीले पनि अवार्ड दिएकै हो । म व्यवसायीमाझ लोकप्रिय व्यक्ति भएको चर्चा सुन्नुभएकै छ होला । मलाई घेराबन्दीमा पारिदैछ । अन्यायपूर्ण काम गरिदैछ । व्यवसायीले त्यो अन्यायलाई न्यायमा परिवर्तन गरिदिनुहुनेछ भन्ने विश्वास छ ।
संघको नेतृत्व लिदा कस्तो बनाउने सोच छ, चुनावी एजेण्डा के–के छन् ?
व्यवसायीले विगतमा १० प्रतिशतमा ऋण लिएर काम गरेका थिए । हाल १५ प्रतिशत व्याज पुगेको छ । तर, ५ प्रतिशत बढ्यो भनेर व्यवसायी भन्न आएका छैनन् । योबारे पनि हामीले सम्बोधन गर्नु जरुरी छ । घरबहाल र घरबेटीको समन्वयात्मक भूमिका विकास गरेर भावनात्मक सम्बन्ध विकास गर्नुपर्छ । सलामी प्रथाको खारेजी गर्नेछौँ । सलामी लिने, अर्कोबाट बढी सलामी लिएर आउने व्यवसायीलाई स्थापित गर्ने र पुरानालाई वञ्चित गरेर विस्थापन गर्ने काम भएका छन् । यो कामको घोर विरोध गर्छु । निर्वाचित भएपछि सलामी प्रथा तोडेरै छाड्छु । चितवनको जनघनत्व बढेको छ । सोहीअनुसार ट्राफिक व्यवस्थापन र यातायात व्यवस्थापन गर्न चूनौती छ । अब जेब्राक्रसिङ मात्रै होइन, आकाशे पुल बनाउन पहल गर्नेछु । संघअन्तर्गतका वस्तुगत संघलाई सुदृढ र सबल बनाउने छौँ । सदस्यको व्यावसायिक अभिवृद्धि गर्न सघन कार्यक्रम चलाइनेछ । सुदृढ सचिवालय तथा व्यवसायीको सहज पहुँचलाई व्यवस्थित गरिनेछ । अटोल्याण्ड निर्माण, फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गरिनेछ । पोके व्यापारीले गर्दा ५० हजार तिरेर व्यवसाय सञ्चालन गरेका व्यवसाय निकै हैरानीमा परेका छन् । फुटपाथ व्यवसायीले राज्यलाई कर तिर्दैनन् । अब यो समस्या हल गरेरै छाडिनेछ । व्यवसायीको एकतालाई सहकारी कार्यक्रममार्फत मजबुत बनाउने लक्ष्य लिएका छौँ । चितवनको पर्यटन प्रवद्र्धन गर्न सिटी हल, रंगशाला, क्षेत्रीय विमानस्थल निर्माणका लागि दबाबमूलक कार्यक्रम गर्नेछौँ । चितवनलाई आर्थिक राजधानि बनाउनुपर्छ भन्ने आवाज बुलन्द पार्नेछौँ । तीन खम्बे अर्थनीतिमा निजी क्षेत्रको भूमिकालाई अझ सशक्त पार्नेछौँ । संघीय संरचनामा औद्योगिक नीति, आर्थिक नीति, कर नीतिलगायत धेरै विषयमा हामीले लबिङ गर्नुपर्ने देखिएको छ । उवासंघ ‘क’ वर्गको संस्था हो । अझै गरिमा बढाउन लाग्नेछौँ । स्थानीय तहसँगको समन्वय अझै सुधार गरिनेछ ।
उवासंघप्रति व्यवसायी आकर्षित हुन सकेका छैनन् , सीमित सदस्यहरु छन् नि !
संघ हिजो त ९ सयमा सीमित थियो । वर्तमान कार्यसमितिले झण्डै १३ सय सदस्य थप गरेको छ । सानो दायरामा राख्ने र नेतृत्वमा आफ्नो पोल्टाकोलाई जिताउने रणनीति विगतमा थियो । अब त्यस्तो छैन । हामीले दायरा फैलाएका छौँ । ५ वटा वस्तुगत संघ थपिएका छन् । चितवनको तीन नम्बर क्षेत्र सबै उवासंघ चितवनको क्षेत्र बनेको छ । हिजोजस्तो संकुचित सोच राखेर हुँदैन । अब हामी निर्वाचित भएपछि १० हजार सदस्य पु¥याउन लाग्नेछौँ ।
संघ मेला महोत्सव गर्ने र चन्दा र सहयोग दिने संस्था मात्रै बन्यो भन्ने आरोपलाई के भन्नुहुन्छ ?
चितवनमा उत्पादन भएका वस्तुलाई बजारीकरण गर्न प्रत्येक दुई–दुई वर्षमा चितवन महोत्सव हुने गरेको हो । यद्यपि यसको आलोचना र समालोचना हुनु स्वाभाविक हो । तर, यसपालि हामीले के ग¥यौँ त ? करको दायरामा ल्यायौँ । महोत्सवमा बालउद्यान हटायौँ । जसले विदेशिने रकम जोगियो । प्यान वा भ्याटमा दर्ता भएका व्यवसायीलाई मात्रै महोत्सवमा स्टल दियौँ । जसले राज्यको करका पनि हामीले राम्रो भूमिका खेल्यौँ । स्थानीय जनप्रतिनिधि नहुँदा हामीले केहि सामाजिक काम ग¥यौँ । तर, अब हामी समग्र जिल्लाको आर्थिक एजेण्डा–माथिका बहसमा केन्द्रित हुनेछौँ ।
सहनलाल प्रधान पनि अध्यक्षका प्रत्यासी छन् । विगतमा एउटै प्यानलमा हुनुहुन्थ्यो, अहिले किन विपक्षमा उठ्नुभयो ?
सहनजी अध्यक्ष पदको उम्मेदवार हुँदा म वरिष्ठ उपाध्यक्षका रुपमा एउटै प्यानलमा थियौँ । तर, उहाँ निर्वाचित हुन सक्नुभएन । उहाँको टिकाटिप्पणी गर्न चाहन्न । उहाँ मेरो बच्चैदेखिको साथी हो । वरिष्ठ उपाध्यक्ष भइसकेको साथी चुनाव लड्न खोज्दा उहाँले ठाउँ छोडिदिनुपर्दथ्यो । वरिष्ठ उपाध्यक्ष भएपछि म अध्यक्षकै दाबेदार हो नि । पद्धतिले दिएको कुरा हो । सहनजी फराकिलो मनको साथी हुनुहुन्छ । उहाँले सोचेर छोड्नुहुन्छ कि जस्तो लाग्छ । विगतमा एउटै प्यानल भएपनि अहिले मेरो पक्षमा बलियो समूह छ । फरक समूहका साथीहरु पनि छन् ।