चितवन, २७ पुस ।
चितवन जिल्ला फुटबल संघको अध्यक्षमा श्रीकृष्ण कार्की निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न संघको सातौं अधिवेशनले कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिल शाक्य, द्वितीय उपाध्यक्षमा विजय घले, तृतीय उपाध्यक्षमा जीवनकुमार लामा चयन भएको निर्वाचन समिति संयोजक अधिवक्ता चुडामणि सापकोटाले जानकारी दिए ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा शकुन्तला खड्का, श्यामकुमार पिया, सञ्जीव मिश्र, प्रवीण जोशी, गोपालबहादुर तामाङ, प्रकाश भुजेल र रामहरि ढकाल चयन भएका छन् । कार्यसमितिको सचिव र कोषाध्यक्ष भने विधानअनुसार अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ ।
अध्यक्ष निर्वाचित भएपछि कार्कीले जिल्लामा खेलकुद संरचना निर्माण र फुटबलको गतिविधि बढाउन आफू लाग्ने बताए । साथै सदस्य क्लबहरु विस्तार गरी फुटबललाई बलियो बनाउन आफ्नो ४ वर्षे कार्यकाल केन्द्रित रहने उनले बताए । “चितवनमा फुटबलको टिम स्पीरिट राम्रो छ”, उनले भने, “हामीले सर्वसम्मत नेतृत्व चयन गरेर पनि यसको सन्देश दिएका छौं, थप मजबुत भएर काम गर्नेछौं ।”
अखिल नेपाल फुटबल संघबाट अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिका रुपमा आएका रमेश रायमाझीले चितवन जिल्ला निकै सक्रिय र सम्भावना भएको जिल्ला भएकोले पनि नयाँ कार्यसमितिबाट धेरै आशा गरेको बताए ।
अधिवेशन कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले आगामी दिनमा फुटबल संघले चितवनमा खेलमैदान निर्मााणको नेतृत्व गर्नुपर्ने बताए । पूर्वसचिव हेरम्बकुमार असीमले चितवनमा क्लब सदस्य बढाउन आगामी नेतृत्वको ध्यान जानुपर्ने बताए ।
साधारणसभा तथा अधिवेशनमा सचिव नारायण ढकालले पेश गरेको प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो । अधिवेशन कार्यक्रमको अध्यक्षता गरेका संघका अध्यक्ष राजेशराम श्रेष्ठले आफ्नो कार्यकालमा अपूरो रहेका काम पनि आगामी कार्यसमितिले पूरा गर्ने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रममा संघका तृतीय उपाध्यक्ष कृष्ण महतोले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
केन्द्रीय उपमहासचिव चितवनबाट निर्वाचित
अखिल नेपाल फुटबल संघ (एन्फा) का उपमहासचिव तथा प्रवक्ता सञ्जीव मिश्र चिवतनको कार्यसमिति सदस्य बनेका छन् । केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि बन्ने बाटो बनाउन उनी चितवनको कार्यसमितिमा आएका हुन् ।
नेपाली फुटबलका विश्लेषकका रुपमा चिनिने मिश्रले फ्याक्समार्फत मनोनयन दिएर कार्यसमितिमा चयन भएको जानकारी दिए । चितवनमा फुटबलको सम्भावना भएका कारण यहाँबाट काम गर्न चाहेको उनले बताए । उनी लामो समयदेखि फुटबलमा छन् । काठमाडौं क्लबको १५ वर्षसम्म नेतृत्व गरेका उनी एन्फामा पनि विज्ञका रुपमा चिनिन्छन् ।
….