विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२७ पुष ।
उद्योग वाणिज्य संघ–चितवनको नयाँ नेतृत्वका लागि ४७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीले पदाधिकारीमा दुई–दुई जनाको उम्मेदवारी परेको जानकारी दिए । अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र पूर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानको उम्मेदवारी परेको छ ।
२५ सदस्यीय कार्यसमितिका लागि ४७ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहे आज बिहीबार लिन पाउनेछन् । “बिहीबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता गर्ने समय तोकिएको छ”, भण्डारीले भने, “दिउँसो उम्मेदवारबीच परिचयात्मक कार्यक्रम गरिने छ ।” उनका अनुसार उद्योग र वाणिज्यतर्फ ६÷६ पदका लागि क्रमशः १२ र १४ जनाको उम्मेदवारी परेको छ । वस्तुगत संगठित सदस्यतर्फ ४ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । यस्तै महिला उद्यमी व्यवसायी सदस्यतर्फबाट १ पदका लागि २ जनाको उम्मेदवारी परेको छ ।
यस्तै ३ जना सदस्य पदमा निर्विरोध निर्वाचित भएको उनले बताए । कर्पोरेट सदस्यतर्फ यमबहादुर विक र शिरीष पन्त र क्षेत्रीय संगठित सदस्यबाट रेशमलाल आचार्य निर्वाचित भएपनि औपचारिक घोषणा हुन बाँकी रहेको उनले बताए । अन्य आकांक्षि नदेखिएपनि कर्पोरेट र क्षेत्रीय सदस्यतर्फ निर्विरोध निर्वाचित भएका हुन् । यसैबीच निर्विरोध निर्वाचित भएका तीन सदस्य अध्यक्षका उम्मेदवार रहेका सहनलाल प्रधानको समूहले आफ्नो पक्षका भएको दावी गरेको छ ।
उद्योग वाणिज्य संघ चितवनको यहि ३० गते हुने अधिवेसनका लागि बुधबार उम्मेदवारी दर्ता गराएका हुन् । प्रधानको समूह एकैसाथ उम्मेदवारी दर्ता गर्न पुगेको थियो तर श्रेष्ठको समूह एक्लाएक्लै उम्मेदवारी दर्ता गर्न पुगेका थिए । नयाँ कार्यसमितिमा आउन चाहनमध्ये अधिकांस पदाधिकारी पदमा वर्तमान कार्यसमितिकै छन् । यस्तै सदस्य पदमा पुनः नेतृत्व दोहो¥याउन चाहने पनि देखिएका छन् । यस्तै वाणिज्यतर्फ सदस्य पदमा उम्मेदवारी दिएका नारायण काफ्ले र बद्री पौडेलले स्वतन्त्ररुपमा उम्मेदवार देखिएका छन् । प्यानलमा यी दुई खुलेरै लागेका छैनन् । तर, अन्य उम्मेदवार भने खुलेरै श्रेष्ठ र प्रधान मध्य एक प्यानलमा समावेश छन् । यस्तै वस्तुगततर्फ निर्माण व्यवसायी शिवप्रसाद ओझा, फर्निचार व्यवसायी रविन्द्र बराल, फेन्सी व्यवसायी दिपक शर्मा पौडेल, इलेक्ट्रोनिक्स व्यवसायी विकास थापा, अटोमोबाइल व्यवसायी कृष्णप्रसाद काफ्ले र पुस्तक व्यवसायी किरण कुमार खनालले उम्मेद्वारी दिएका छन् । वस्तुगत संघबाट नेतृत्वमा आउन चाहेका यी उम्मेदवार पनि प्यानलमा समावेश छैनन् ।
“निकै उत्साहित छु, जितको नजिक छौँ, प्यानलकै जित निश्चित छ”, उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिदै अध्यक्षका उम्मेदवार सहनलाल प्रधानले भने, “पूर्वअध्यक्षहरु, वस्तुगत संघको समर्थन र व्यवसायीको साथ छ, सामुहिकताले संघको छविलाई अझै बलियो र उचाइ दिनेछौँ ।” उनले कर तथा राजस्व, घरबहाललगायत समस्यामा सहजीकरण तथा परामर्श दिन संघमा हेल्पडेस्क स्थापना गर्ने बताए । उनले संघलाई व्यक्ति होइन, विधिको शासनबाट चल्ने संस्थाका रुपमा लैजाँदै व्यवसायीको पक्षमा काम गर्ने बताए । “विगतमा व्यवसायीकै पक्षमा मैले गरेका वकालत, सहयोग र सहजीकरण नै मेरो जितको आधार हो”, अध्यक्षका उम्मेदवार राजु श्रेष्ठले भने, “व्यवसायीको समर्थन छ, संघलाई नेतृत्व गर्न सक्ने सबल टिम लिएर चुनावी मैदानमा छौँ, संघको गरिमा कायम गर्नेछौँ ।” उनले चितवनको समग्र आर्थिक विकासका एजेण्डालाई व्यवसायीक हितका सवालसँगसँगै लिएर जाने बताए । “कर तथा राजश्व समस्या हल गर्नेकाम मेरो मुख्य काम हुनेछ”, उनले भने, “व्यवसायीमाथि हुने अनावश्यक धरपडकको विरोधमा संघ शशक्तमा उभिने बनाउनेछु ।”
उवासंघ नेतृत्व चयनका लागि २ हजार ८ सय ५६ जनाले मताधिकार प्रयोग गर्नेछन् । ३ हजार ८७ जना व्यवसायीले संस्थामा नवीकरण गराएपनि २ सय ३१ जना प्रतिनिधिपत्र लिन आएनन् । उद्योगतर्फ १ हजार ४८ जनामध्ये ९ सय ४९ जना, वाणिज्यतर्फ २ हजार २ सय २ जनामध्ये २ हजार ४३ जनाले नवीकरण गरेका थिए । यस्तै कर्पोरेटतर्फ ६१ जना मध्य ५४ जनाले मात्रै नविकरण गरेका थिए । संघमा ३० वटा वस्तुगत संघ आबद्ध भएपनि ३ वटा संघले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् ।
नवीकरण नगरेको संस्था तेल उत्पादक संघ चितवन र साउन यतामात्रै संघमा आबद्ध भएको संस्था चितवन कवाड व्यवसायी संघ र ट्रान्सपोर्ट एशोसिएशनले यो पालि नेतृत्व चयनमा आफ्नो मताधिकार प्रयोग गर्न नपाउने भएको सचिवालयले जनाएको छ ।
अध्यक्ष ः सहनलाल प्रधान, राजु श्रेष्ठ,
बरिष्ठ उपाध्यक्ष ः चुननारायण श्रेष्ठ, विष्णुप्रसाद कँडेल,
उपाध्यक्ष उद्योग तर्फ ः सुमन कुमार श्रेष्ठ, नविन कँडेल,
उपाध्यक्ष वाणिज्य तर्फ ः भोजराज कौडाल, बिपेन्द्र रामुदामु (विपिन)
उपाध्यक्ष वस्तुगत तर्फ ः चिरञ्जिवी सुवेदी, राजेन्द्र कँडेल
सदस्य उद्योगतर्फ सदस्यः दिनेशकुमार राठी, सूर्यमणि पौडेल, दुर्गाप्रसाद गौतम, लिलबहादुर क्षेत्री, ई.कृष्णप्रसाद रिजाल, केपी भण्डारी, रोहितकुमार श्रेष्ठ, अशोक अधिकारी, सिद्धार्थलाल चुके, चन्द्रमणि सापकोटा, सोम प्रसाद काप्री, विनोद पौडेल
सदस्य वाणिज्य तर्फ ः बद्री पौडेल, नारायण काफ्ले, थिरप्रसाद धिताल, विद्यासागर चालिसे, बाबुराम कँडेल, लक्ष्मी रिमाल पौडेल, शंकर प्रसाद घिमिरे, मुना गुरुङ, प्रभात ढुंगाना, राजेन्द्र ओली, ज्ञानुप्रसाद न्यौपाने, बलराम भण्डारी, इश्वरी प्रसाद खराल, तारानाथ पाठक
सदस्य वस्तुगत तर्फ ः शिवप्रसाद ओझा, रवीन्द्र बराल, दीपक शर्मा पौडेल, विकास थापा, कृष्णप्रसाद काफ्ले र किरण कुमार खनाल
सदस्य महिलातर्फ ः रजनी मास्के र सुलोचना श्रेष्ठ
निर्विरोध चयन ः
कर्पोरेट सदस्य ः शिरीष पन्त, यमबहादुर वि.क, क्षेत्रीय सदस्यः रेशमलाल आचार्य