धु्रवराज खनाल/कायाकैरन
२७ पुष ।
नेपालकै नमूना मन्दिरको रुपमा चिनाउँदै धार्मिक पर्यटकीय स्थल बनाउने उद्देश्यका साथ रत्ननगर नगरपालिका–११, जिरौनामा ठुलो लगानीमा मन्दिर निर्माण गरिएको छ । दक्षिण भारीतय प्यागोडा शैलीमा श्रीकृष्ण प्रणामी मन्दिरको काम करिब अन्तिम चरणमा पुगिसकेको छ ।
करिब पाँच वर्षअघि सो मन्दिरको निर्माण सुरु भएको थियो । दक्षिण भारतबाटै कालिगढहरु सुरुदेखि नै मन्दिर निर्माणका लागि खटिएका छन् । वि.सं. २०२४ सालमा स्थापना भएको श्रीकृष्ण मन्दिर जीर्ण भएपछि नयाँ निर्माण गरिएको हो । हालसम्म ४ करोड खर्च लागिसकेको मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष श्यामप्रसाद बरालले जानकारी दिए । मन्दिरलाई पूर्णता दिन अझै १ करोड रुपैयाँ लाग्ने बरालले बताए ।
“कलात्मक र सुन्दरताले भरिएको यस मन्दिर नेपालकै नमूनाको रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो”, मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष बरालले भने, “मन्दिर निर्माणपछि यस क्षेत्र धार्मिकस्थलको रुपमा समेत विकास हुने विश्वास छ ।” आन्तरिक पर्यटकीय गन्तव्यस्थलको रुपमा यस मन्दिरलाई विकास गर्ने समितिको तयारी छ । “यो मन्दिर सबै धर्मावलम्वीका लागि खुल्ला रहने छ”, बरालले थपे, “सौराहा आउने पर्यटकलाई यहाँ ल्याउने वातावरण मिलाउन सके यो मन्दिर धार्मिक पर्यटकीय स्थल बन्न धेरै समय लाग्दैन ।”
काठमाडौंस्थित नवतमधाम मन्दिर पनि कलाकौशलको हिसाबले निकै राम्रो भएपनि त्यहाँको भन्दा पनि फरक यहाँको मन्दिरमा रहेको बरालले बताए । स्थानीयस्तरबाट सहयोग जुटाएर सो मन्दिर निर्माण गरिएको हो । केही रकम भने पूर्व सांसद र वर्तमान सांसदबाट र रत्ननगर नगरपालिकाबाट सहयोग प्राप्त भएको थियो । “स्थानीयस्तरमै रकम संकलन गरेर यति ठूलो मन्दिर निर्माण गर्नु चानेचुने कुरा होइन”, मन्दिरका कार्यवाहक अध्यक्ष बरालले भने, “सबैले अपनत्व ग्रहण गरेकाले नै हामी सफल भएका छौं ।”
मन्दिर निर्माणका लागि छुट्टाछुट्टै कालिगढहरु खटिएका छन् । भवन निर्माण, झ्याल ढोका निर्माण, बुट्टा भर्ने कामका लागि छुट्टाछुट्ट समूहमा कालिगढहरुले काम गरिरहेको कार्यवाहक अध्यक्ष बरालले बताए । १५ कठ्ठा क्षेत्रफल रहेको स्थानमा मन्दिरसँगै विवाहमण्डप, विश्रामस्थल, यज्ञमण्डप, वृद्धाश्रमसमेत निर्माण गरिएको छ । अहिले ट्रष्ट, रङरोगन, झ्याल ढोका, परिसर, यज्ञमण्डप निर्माणको काम भइरहेको छ ।
स्वर्ण महोत्सव र उद्घाटन फागुनमा
श्रीकृष्ण प्रणामी मन्दिर जिरौनाको स्वर्ण महोत्सव एवं नवनिर्मित भवनको उद्घाटन आगामी फागुनको पहिलो साता हुने भएको छ । स्वर्ण महोत्सवका लागि मन्दिरका अध्यक्ष तिलकराज शर्माको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल समिति गठन गरिएको छ भने उपसमितिहरु धमाधम गठन भइरहको छ ।
स्वर्ण महोत्सव एवं मन्दिरको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गर्ने प्रयास भइरहेको कार्यवाहक अध्यक्ष श्यामप्रसाद बरालले जानकारी दिए । स्वर्ण महोत्सवको अवसरमा सात दिने महायज्ञसमेत हुनेछ । महायज्ञमा नवतमपुरीधाम गुजरातबाट १०८ आचार्य कृष्णमणि महाराज प्रमुख वाचक रहने तथा रोहितराज महाराज र १०८ अमृत महाराजले भागवत पारायण गर्ने बरालले बताए । मन्दिरमा बाहिरी जिल्लाबाट प्रत्येक दिन एक हजार भक्तालु आउने दावी गरिएको छ ।
उनीहरुका लागि स्थानीयको घरलाई होमस्टेको रुपमा प्रयोग गरिने कार्यवाहक अध्यक्ष बरालले बताए । भारतको मध्यप्रदेश, गुजरात, सिक्किमलगायत नेपालका विभिन्न जिल्लाबाट यहाँ भक्तालु आउने उनले बताए । मन्दिरको स्वर्ण महोत्सवकै तयारीको सिलसिलामा रत्ननगरको जयमंगलादेखि मन्दिर स्थल जिरौनासम्म ५० लाखको लागतमा सडक पिचको काम भइरहेको छ । सडक पिच उपभोक्ता समितिका अध्यक्ष समेत रहेका बरालका अनुसार रत्ननगर नगरपालिबाट ३० लाख र स्थानीयको २० लाखको सहभागीतामा पिच निर्माणको काम भइरहेको छ ।