२७ पुष ।
उद्योग वाणिज्य संघ चितवनको चुनाव निकै महँगो हुने देखिएको छ । प्यानलै बनाएर चुनावी घरदैलोमा होमिएका व्यवासीयले भेटघाटमा थुप्रै खर्च गरेका छन् । उनीहरुले व्यक्तिगतरुपमा खर्च गर्दै व्यवसायी रिझाउन लागिपरेका छन् ।
पर्चा, पम्प्लेट, विज्ञापन, खाजा, भेटघाटलगायत शीर्षकमा उनीहरुले मन खुलाएरै खर्च गरेको भेटिन्छ । यतिमात्रै होइन, उम्मेदवारी दर्ता शुल्क पनि विगतभन्दा यसपालि दोब्बर बढी तिरेका छन् । भर्खरै सकिएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी मनोनयन गर्न नेताले तिर्नुपरेको खर्चभन्दा व्यवसायीले तिर्नुपरेको शुल्क धेरै छ । प्रतिनिधि सभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ ५ हजार शुल्क मनोनयन दर्ता गर्दा बुझाउनुपर्ने व्यवस्था थियो । तर, उवासंघ चितवनले साधरणसभा र अधिवेसनको खर्च व्यवस्थापन गर्ने बहानामा उम्मेदवारबाटै खर्चको चाँजोपाँचो मिलाउन लागेको छ । विगतको चुनावमा उवासंघ–चितवनको नेतृत्वका लागि अध्यक्षमा २० हजार, वरिष्ठ उपाध्यक्षमा १२ हजार, उपाध्यक्षमा ८ हजार र सदस्यमा ४ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था थियो ।
तर, वर्तमान कार्यसमितिको २३ औं बैठकले सो शुल्क दोब्बर बढीले बढाएको छ । वर्तमान कार्यसमितिका अधिकांश व्यवसायी उम्मेदवारका आकांक्षी रहेकाले सो प्रस्ताव पारित भएको थियो । “व्यवसायीले प्रतिनिधिपत्र लिन थप दस्तुर ५ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था हटायौँ”, अध्यक्ष राजन गौतमले भने, “व्यवसायीलाई आर्थिक भार नथोपरौँ, बरु उम्मेदवारबाट उठाउँ भनेर पहिलो पटक यसो गरिएको हो ।” उनले उम्मेदवारबाट लिइने उम्मेदवारी शुल्कको खर्च पारदर्शी हुने भएकाले यो सकारात्मक कदम भएको दावी गरे ।
कार्यसमितिले अध्यक्षका लागि ५० हजार रुपैयाँ, वरिष्ठ उपाध्यक्षका लागि ३० हजार रुपैयाँ, उपाध्यक्षका लागि २० हजार, सदस्यका लागि १० हजार उम्मेदवारी शुल्क निर्धारण गरेको थियो । “निर्णय त्यस्तै भयो, हामी त उम्मेदवारका आकांक्षी थियौँ बोल्नै भएन”, वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका विष्णुप्रसाद कँडेलले भने, “संघका सबै सदस्यलाई न्याय भएको छ । उम्मेदवारलाई केही आर्थिक भार परेको छ । तर, यो जटिल होइन ।”
यस्तै कार्यसमितिभित्रबाटै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका चुननारायण श्रेष्ठ उम्मेदवारी शुल्क दोब्बर बढी हुँदा आगामी दिनमा साना तथा मझौला व्यवसायीलाई नेतृत्वमा जान अप्ठ्यारो थपिएको बताउँछन् । “साधरणसभाका लागि सबैलाई निःशुल्क छ, यो ज्यादै राम्रो भएको छ”, उनले भने, “उम्मेदवारी दिदाको यो शुल्क आगामी दिन घटाउनुपर्छ । तर, संघमा आबद्ध अरु व्यवसायीलाई आर्थिक भार पार्नु हुँदैन ।” उनले अन्य उवासंघका चुनावमा उम्मेदवारबाट यहि हाराहारीको उम्मेदवारी शुल्क लिने व्यवस्था रहेको बताए ।
अध्यक्षको मनोनयन शुल्क ५० हजार !
अध्यक्षको मनोनयन शुल्क ५० हजार !
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस