लेखराम सापकोटा/कायाकैरन
गैंडाकोट,२६ पुस ।
भोलि पुस २७ गतेदेखि सुरु हुने दोस्रो गैंडाकोट महोत्सवलाई कृषि विशेष बनाइदै छ । माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको आयोजक उद्योग वाणिज्य संघ–गैंडाकोटले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
महोत्सवको सहआयोजकमा गैंडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर, देवचुली उद्योग वाणिज्य संघ, नवलपुर उद्योग वाणिज्य संघ र प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेका छन् । महोत्सवमा दुग्धजन्य पदार्थको प्रदर्शनी विशेषरुपले गरिने आयोजकले जनाएको छ । स्थानीय उत्पादन सामग्री, स्थानीय सांस्कृतिक पहिचान झल्काउने स्टल, व्यापारिक प्रयोजनका स्टल, अध्ययन अवलोकनका लागि स्टल, खेल उद्यानदेखि लिएर बंगलादेश, श्रीलंका, भारत, भुटान र पाकिस्तानका अन्तर्राष्ट्रिय उत्पादनका स्टलसमेत रहने उद्योग वाणिज्य संघ गैडाकोटका कोषाध्यक्ष एवं महोत्सव प्रचारप्रसार समिति संयोजक शालिकराम सापकोटाले बताए ।
सर्वसाधरणका लागि रु. ५० प्रवेश शुल्क राखिएपनि समूहमा विद्यालय र कलेजबाट सिफारिस भई आएका विद्यार्थीलाई निःशुल्क प्रवेश दिइने र अन्य विद्यार्थीको हकमा रु. ३० प्रवेश शुल्क राखिएको जनाइएको छ । महोत्सवमा करिब २५ लाख आम्दानी गर्न सफल भएको दोस्रोमा पनि त्योभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएको र कूल आम्दानीको १० देखि १५ प्रतिशत ज्येष्ठ नागरिक, बालबालिका, एकल महिला र दलितका लागि लगानी गर्ने पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष अमृत भट्टचनले बताएका छन् ।
महोसवमा ३ सय २० स्टल रहनेछन्, जसमध्ये ४० वटा प्रवद्र्धनात्मक स्टल रहने, कृषिका १७ स्टल, स्थानीय सीमान्तकृत वर्गका उत्पादन, अपांगता भएका व्यक्तिहरुका उत्पादन, एकल महिला पैरवी मञ्चका उत्पादन र विभिन्न जातजातिका मौलिकता झल्कने घरसमेत रहने छन् । १० दिनसम्म चल्ने महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ भने १ दिन कवि गोष्ठी र १ दिन स्मार्ट सिटीका बारेमा सेमिनारसमेत हुनेछ । आईटी र अटो स्टल पनि मेलाका थप आकर्षण रहने संघका उपाध्यक्ष एवं दोस्रो गैंडाकोट महोत्सव मूल समारोह समिति संयोजक दीपक सापकोटाले बताए । महोत्सवको उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्घाटन गर्नेछिन् ।