विप्लव काफ्ले/कायाकैरन
भरतपुर, २६ पुस ।
गोरखाका किरण पन्त ३ वर्षअघि चितवन आए । दृष्टिविहीन किरण आफूजस्तै साथीसँगै बसेर पढ्ने भन्दै भरतपुरको नारायणी नमूना मावि आए । उनी हाल कक्षा ९ मा पढ्छन् । उनीसँगै ९ कक्षामा पढ्ने अरु दुई साथी पनि छन् ।
स्कूलको दृष्टिविहीन छात्राबासमा हाल २९ जना छन् । “साँघुरा कोठामा बस्छौँ”, किरणले भने, “टिन तातेर गर्मीमा साह्रै गर्मी हुन्छ, जाडोयाममा सित झरेर निकै चिसो हुन्छ । तर, पढ्ने वातावरण छ ।” उनी साधारण विद्यार्थीसँगै कक्षामा बसेर पढ्छन् । “सरले बोर्डमा लेख्नुहुन्छ, साथीले भनेर मैले ब्रेलपेपरमा लेख्छु”, उनले भने, “कक्षामा समस्या छैन । तर, छात्राबासमा बस्न गाह्रो छ ।” स्कूलले छुट्याएको छात्राबासमा ४ कोठा छन् । बस्नका लागि छुट्याइएका २ कोठालाई ‘पार्टिसन’ गरी ३ कोठा बनाइएको छ ।
“छात्राबासमा पढ्न समस्या छैन । तर, सुत्न भने समस्या छ”, किरणले भने, “फराकिला कोठा नहुँदा अलि अप्ठ्यारो छ, पढ्नलाई संघर्ष त गर्नैप¥यो ।” भान्छा र कार्यालय प्रयोजनका लागि अन्य दुई कोठा प्रयोग भएका छन् । उनकी बहिनी सरुजा पनि छात्राबासमा बे्रललिपि सिक्दैछिन् । सरुजासँगै ब्रेललिपि सिक्ने अन्य ७ जना साथी पनि छन् ।
“ठाउँकै अभाव छ, छात्राबास भवन पनि पुरानो छ”, स्रोत शिक्षक महेन्द्र थापाले भने, “३ फिटको खाटमा २ जनासम्म सुत्नुपर्छ, कोठामा खाटमाथि खाट राखेर व्यवस्थापन गरेका छौँ ।” उनले फराकिला कोठा नहुँदा विद्यार्थीलाई समस्या हुनु स्वाभाविक भएको उनको भनाइ छ । छात्राबासमा विद्यार्थीको रेखदेख गर्न अन्य दुई जना दिदिपनि छन् । २०५७ सालदेखि विद्यालयले दृष्टिविहीन एकाइ सञ्चालन गरेको हो । सुरुका वर्षमा स्कूल आसपासका दृष्टिविहीन विद्यार्थी मात्रै हुन्थे । हाल छिमेकी जिल्लाबाट समेत विद्यार्थी आउने भएकाले चाप बढेको छ ।
पुरानो भवनको २ कोठामा सञ्चालन भएको छात्राबास धेरै वर्ष पहिले टिनको छानो भएको भवनमा छात्राबासमा सारिएको थियो । स्कूलमा बौद्धिक अपाङ्ग एकाइसमेत सञ्चालनमा छ । त्यहाँ झण्डै ३० जना बौद्धिक अपाङ्ग बालबालिका छन् ।
“नयाँ भवन बनाउन प्रयाप्त स्रोत छैन”, दृष्टिविहिन छात्राबास व्यवस्थापन समितिकि सदस्य छायाँ श्रेष्ठले भनिन्, “दाताको खोजीमा छौँ, भवन राम्रो भएमा धेरै विद्यार्थीलाई व्यवस्थापन गर्न पनि सहज हुन्छ ।” श्रेष्ठकै पहलमा छात्राबासमा केही सामाजिक संस्थाले न्यानो कपडा, झुल, शैक्षिक सामाग्री सहयोग गर्ने गरेका छन् । जन्म, स्मृति स्मरण लगायतका अवसर पारेर छात्राबासलाई बेलाबखत सहयोग हुने गरेका छन् ।
“छात्राबास जस्तो भवन हुनुपर्दथ्यो, तर सानो भवनमा राख्नुपरेको छ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाले भने, “विद्यार्थी चाप बढेको छ, व्यवस्थापन गर्न कठिन छ ।” उनले दृष्टिविहिन विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामाग्री समेत साधरण विद्यार्थी भन्दा फरक हुने भएकाले केहि कठिनाई परेको बताउँछन् । “छात्राबासमा निःशुल्क राखेका छौँ, पढ्ने, खाने बस्ने सबै निःशुल्क छ”, उनले भने, “छात्राबास चलाउन दाताकै भरमा पर्नुपरेको छ ।” सरकारले दिने ‘छात्रवृत्ती’ मार्फत दैनिक खर्चको व्यवस्थापन गर्नुपरेको विद्यालयले जनाएको छ । “निर्वाह खर्चको व्यवस्था सरकारले गरे सहज हुनेथियो”, विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीले भने, “सबै खर्च व्यवस्थापन गर्न स्कुललाई पनि अप्ठ्यारो छ ।”
उनले साँघुरो भवनमा छात्राबास चलाउँदा विद्यार्थीलाई बस्न निकै समस्या परेको स्वीर्काछन् । “बसोबासको जटिलता छ, प्रयाप्त हावा खेल्ने ठाउँ छैन”, उनले भने, “तहगत खाट भएकाले सिलिङ फ्यान पनि राख्न मिल्दैन, भित्ते फ्यान राख्नुपर्छ, वर्षामा टिनको छानो चुहिन्छ, जाडोमा सित खस्छ ।” उनले शिक्षा विभागसँग छात्राबास भवन निर्माणका लागि पहिलेदेखि पहल गरेपनि यो वर्ष बजेट विनियोजन भएको बताए । “८३ लाख रुपैयाँ निकासा भएको छ, दाता खोजी गरी १ करोड बराबरको छात्राबास बनाउँछौँ”, उनले भने, “पढ्ने, खाने, सुत्ने अलग अलग फराकिला कोठा हुनेछन्, त्यसको प्रक्रिया सुरु गर्दैछौँ ।”
छात्राबासमार्फत अहिलेसम्म २९ जनाले प्रवेशिका परीक्षा दिइसकेका छन् । सोही छात्रासमा आवासीय रुपमा बसेका सागर चौधरी हाल सोही विद्यालयमा कक्षा ५ सम्म अंग्रेजी, विज्ञान विषय पढाउँछन् । यस्तै दुई जना दृष्टिविहिन विद्यार्थी उच्च शिक्षाका लागि अमेरिकामा छन् । प्रवेशिका परीक्षा दिएका मध्य धेरै स्वरोजगारतर्फ उन्मुख भएका छन् । छात्राबास सञ्चालनको सुरुका ४ वर्ष एक दातृ संस्थाले सबै खर्च बेर्होदा विद्यालयलाई आर्थिक स्रोत जुटाउने चिन्ता थिएन । तर, हाल छात्राबास सञ्चालनका लागि अरुबाट सहयोगकै भरमा छ । छात्राबास सञ्चालनका लागि स्थापना भएको अक्षय कोषमा हालसम्म २ लाख ४० हजार रुपैयाँ रकम जम्मा भैसकेको छ ।
छात्राबासलाई इनरह्विलको सहयोग
नारायणगढकी लक्ष्मी श्रेष्ठले नारायणी नमूना माविमा रहेको दृष्टिविहीन छात्राबासलाई सहयोग गरेकी छन् । इनरह्विल क्लब अफ भरतपुरको संस्थापक सदस्य श्रेष्ठले संस्थामार्फत नगद १ लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिन् ।
अक्षकोषमा जम्मा हुने गरी १ लाख रुपैयाँ र ५० हजार रुपैयाँबराबरका शैक्षिक सामग्री सहयोग गरेकी छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापालाई चेक र शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । छात्राबासमा हाल २९ जना दृष्टिविहिन आवासीयरुपमा रहेका छन् । मंगलबार एक कार्यक्रमको आयोजना गरी इनरह्विल क्लब अफ भरतपुर मार्फत सो सहयोग हस्तान्तरण गरिएको हो ।
अमेरिकामा बस्दै आएका जेठा छोरा सन्तोषले बालश्रमविरुद्ध अभियानमा सहयोग गर्ने लक्ष्यसहित आफ्नो आम्दानीबाट केहि रकम जम्मा गरिएको रकमबाट सो सहयोग गरिएको लक्ष्मी श्रेष्ठले बताइन् । छोरा सन्तोष बैंकका जागिरे हुन् । सन्तोषले ०६१ सालदेखि केहि रकम सामाजिक काममा लगानी गर्ने सोचले जम्मा गर्दै आएका थिए ।
सो कार्यक्रममा इनर ह्विल क्लब अफ डिष्ट्रक्ट ३५० का इडिटर मनकुमारी सेन, रोटरी क्लब अफ भरतपुरका अध्यक्ष नयनराज नेपाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम इनरह्विल क्लब अफ भरतपुरका अध्यक्ष शान्ति उपाध्यायको अध्यक्षतामा भएको थियो ।