भरतपुर,२५ पुष ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले समुदायसँग मिलेर ट्राफिक व्यवस्थापन सुरु गरेको छ । भरतपुर महानगरपालिका र समुदायसँग मिलेर ‘महिनामा एक दिन ट्राफिक व्यवस्थापनलाई’ भन्ने अभियान सोमबार थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।
समुदायलाई सहभागी गराउँदै सचेतना बढाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको उनले बताए । प्रहरी निरीक्षक पन्तका अनुसार अभियानमा हरेक दिन एउटा संस्थालाई सहभागी गराइने बताए । महिनाको ३० दिन नै फरक–फरक संघ संस्थासँग मिलेर प्रहरीले ट्राफिक सचेतना कार्यक्रम चलाउँदै आएको छ । यसैक्रममा सोमबार बिहान पनि भरतपुर महानगरपालिका वडा नम्बर ९ को संगमटोल आमा समूहसँग मिलेर हाकिमचोकमा ट्राफिक सचेतना कार्यक्रम गरेको छ ।
‘जेब्राक्रसिङबाट मात्र बाटो काटौं’, ‘मापसे गरेर सवारी नचलाऔं’, ‘हर्न नबजाऔं, ध्वनी प्रदूषणबाट बचौं र बचाऔं’, ‘कम गति जीवन रक्षा’ लगायतका नारासहित भरतपुरमा कार्यक्रम गरिएको हो । संगमटोल आमा समूहका सचिव मीरा भण्डारीले सवारी नियमको पालनका लागि जनचेतना दिन प्रहरीसँग मिलेर कार्यक्रम गरिएको बताए । यसअघि बुधबार पनि ट्राफिक प्रहरीले नेपाल मैत्री समाज नामक संस्थासंग मिलेर सचेतना कार्यक्रम गरेको थियो ।
वे ग्रुप, लायन्स, रोट्र्याक्ट, रोटरी क्लब, सामथ्र्य नेपाल, आमा समूह, महिला समूह लगायत संघ संस्थाको सहकार्यमा दैनिकरुपमा यस्ता कार्यक्रमहरु गरिदै आएको छ । ट्राफिक प्रहरीका अनुसार चितवनमा नियमित सचेतनामूलक कार्यक्रम भइरहेको भए पनि नियम उल्लंघन र कारबाहीको क्रम भने न्यूनीकरण हुन सकेको छैन ।