विप्लव काफ्ले/कायाकैरन
भरतपुर, २५ पुस ।
धार्मिक क्षेत्र देवघाटमा माघेसंक्रान्ति मेलाको तयारी थालिएको छ । देवघाट क्षेत्र विकास समितिले मेला व्यवस्थापनका लागि १ सय ५१ सदस्यीय मूल समिति गठन गरेको छ । पुस २९ गतेदेखि माघ २ गतेसम्म सञ्चालन हुने मेलालाई व्यवस्थित पार्न स्थानीय प्रशासनसँग समन्वय पनि गरिएको छ ।
देवघाट क्षेत्रमा हाल सरसफाइ अभियाननै चलाइएको छ । मेला व्यवस्थापन मूल समितिका संयोजक तथा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले सहजरुपमा मेला अवलोकन तथा स्नान गर्ने व्यवस्था मिलाइएको बताए । “भीड व्यवस्थापन गरिने छ, बेनी संगममा सुरक्षितरुपमा स्नान गर्ने व्यवस्था मिलाउँदै छौँ”, उनले भने, “राति उज्यालो पार्न विद्युत्को व्यवस्था मिलाउँदै छौँ, आवश्यक सुरक्षा अपनाएका छौँ ।” भक्तजनले स्नान गर्ने वेणीमा बाँस गाडेर डोरी लगाई सुरक्षित बनाइने छ । स्नान गर्ने ठाउँ वरिपरि आपतकालीन सुरक्षाको लागि डुँगामा स्वयंसेवक खटाइने छ । एम्बुलेन्सलाई तयारी अवस्थामा राखिने समितिले जनाएको छ ।
समितिको आह्वानमा सोमबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला पक्षबीच मेला तयारीबारे छलफल भएको थियो । कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल वेणीसंगममा स्नान गरे पुण्य मिल्ने धार्मिक विश्वास छ । देवताले ध्यान गर्ने क्षेत्रका रुपमा चिनिएको देवघाट देशकै प्रमुख धार्मिक स्थलमध्ये एक हो । “झोलुंगे पुल जीर्ण छ, केही मर्मत भएको छ”, उनले भने, “एकपटक ५०–५० भन्दा बढी आवतजावत गर्न दिइनेछैन ।” पुलमार्फत मालसामान ढुवानी गर्न पुस २५ गतेदेखि नै रोक लगाइने बताए । २ सय ५ सदस्यीय स्वयं सेवक परिचालन उपसमिति समेत बनाइएको छ । धुनी जगाउन प्रयाप्त काठको व्यवस्थापन गरिएको छ । देवघाट क्षेत्रलाई मेला अवधिभर उज्यालो पार्न बगरमा समेत बत्ती जडान गरिने छ । तनहुँतर्फ देवघाट गाउँपालिका र चितवनतर्फ भरतपुर महानगरपालिकाले बत्तीको व्यवस्थापन गर्दैछन् । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले मेलालाई लक्षित गरी १ सय केभिए क्षमताको ट्रान्सर्फमर समेत राख्दै छ ।
देवघाट जाने र फर्कने अलग अलग बाटो प्रयोग गर्ने गरी रुट तय भएको पौडेलले बताए । “देवघाट प्रवेश गर्दा नारायणगढ–आँपटारी–रामनगर र ठिमुरा–देवघाट सडक प्रयोग हुनेछन्”, उनले भने, “फर्कदा देवघाट–आँपटारी हुदै सवारी सञ्चालन हुनेछन् ।” उनले मेला अवधिभर देवघाट क्षेत्रमा सवारी चाप बढी हुनेभएकाले ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक कार्यालयसँग समन्वय गरिने बताए । ठिमुरा–देवघाट सडक मर्मतका लागि सडक डिभिजन कार्यालयलाई अनुरोध गरिएको बताए । काठ्माण्डौबाट देवघाट आउने सवारी दासढुङ्गाबाट प्रवेश गर्नेछन् । देवघाट जानको लागि रामनगरदेखि देवघाटसम्मको सडक अहिले केहि फराकिलो पारिएको छ ।
उद्वारका लागि डुँगा
मेला अवधिभर आकस्मीक उद्वार गर्न डुँगाको व्यवस्था मिलाइएको छ । रेडक्रसको झण्डासहितका काठे डुँगा सञ्चालन गरिने अध्यक्ष पौडेलले बताए । वारीपारी दुवैतर्फ स्नानघाट सुरक्षाको व्यवस्थापन मिलाइएको छ । उद्दार गर्न दुई वटा डुङ्गाको व्यवस्था मिलाइएको छ । आकस्मिक उद्वार गर्न सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरनिटारको समूह नै परिचालन हुनेछ ।
यस्तै जीर्ण पुलको प्रयोग नगर्न समेत आग्रह गरिएको छ । “झण्डै ३० वटा ¥याफ्टिङ सञ्चालन हुनेछन्”, उनले भने, “जेष्ठ नागरिक, अशक्त र असहायलाई वारपार गर्न निःशुल्क रुपमा डुङ्गा प्रयोग गर्न पाउनेछन् ।” महिलालाई स्नानघाटमा कपडा फेर्न स्थल समेत बनाइने बताए । मेला सुरक्षाका लागि झण्डै ५ सय सुरक्षाकर्मी परिचालन हुने उनले बताए ।
शुल्क निर्धारण
देवघाट क्षेत्र विकास समितिले मेलाको मौका छोपेर कालोबजारी गर्न खोज्नेलाई उच्च निगरानी गरेर कारवाहीका लागि पहल गर्ने जनाएको छ । समितिले विभिन्न सामाग्री तथा सेवा शुल्क समेत निर्धारण गरेको छ । मिनरल वाटर, दुघ चियाको २० रुपैयाँ, कालो चिया १५ रुपैयाँ, ¥याफ्टिङ एकातर्फि, कार, जीप लगायत हल्का सवारी साधनको पार्कीङ २५ रुपैयाँ निर्धारण गरिएको छ । यस्तै मोटरसाइकलको १० रुपैयाँ, साइकलको ५ रुपैयाँ, बस, ट्रक आदिलाई ५० रुपैयाँ पार्किङ शुल्क तोकिएको छ ।
पार्कीङका लागि चितवनतर्फ सीताराम माविको पूर्वतर्फ हल्का तथा ठुला सवारी र मोटरसाइकल स्कुलको मैदानमा हुने व्यवस्था मिलाइएको छ । यस्तै तनहुँतर्फ पार्कीङ गर्ने क्षेत्र एक दुई दिनमा पहिचान हुनेछ । सडकको क्षेत्राधिकार मिचेर फुटपाथ व्यवसाय सञ्चालन गर्न पूर्ण बन्देज लगाइएको उनले बताए । चौतारा, पार्टी पौवा, बाटामा अस्थाई व्यापार नगर्न आग्रह गरिएको छ । अस्थाईबजारका लागि तोकिएका क्षेत्रबाहेक अन्यत्र पसल सञ्चालन गरे कारवाही गरिने उनको भनाई छ । देवघाट क्षेत्र मांस–मदिरा, धु्रमपार्न, मद्यपान निशेषित क्षेत्र हो । मेलामा हुन सक्ने यस्ता गतिविधि भएको पाइएमा सुरक्षा निकायको पहलमा कारवाही गरिने उनको भनाई छ । मेलामा जुवा, तास खेल्ने खेलाउने, रिंग खेलाउने, जादु देखाउने, चिट्ट्ठा कार्यक्रम गर्ने जस्ता गतिविधिलाई निशेष गरिएको छ ।