२४ पुस ।
सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको कारण मारमा परेका सर्वसाधारणलाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले यस्तो निर्णय लिएको हो । गृह मन्त्रालयले तराईका २२ जिल्लामा एउटा जिल्लामा १० लाख रुपैयाँको कम्बल, दाउरा लगायतका न्यानो सामग्री वितरण गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयले सरकारको मौज्दातमा रहेका कम्बल लगायतका सामग्रीहरु पनि तत्काल तराईका २२ जिल्लामा पठाउने तयारी गरेको छ ।
गृह मन्त्रालयले जिल्लास्थित स्थानीय विपत व्यवस्थापन समितिको सिफारिसमा उक्त राहत वितरण गर्ने निर्देशन समेत गरेको छ ।
गृहले तत्काल केन्द्रीय दैविप्रकोप उद्दार कोषबाट उक्त रकम वितरण गर्ने भएको हो । गृह मन्त्रालयले काठमाडौं स्थित मानवीय सहायता कक्ष र शशस्त्र प्रहरीको मौजदातमा रहेका न्यानो कपडा वितरण पनि सोमबारबाटै सुरु भएको जनाएको छ ।
गृह मन्त्रालयले तराईमा स्कुल लगायतका सार्वजनिक भवनमा बालबालिका र बुढापाकालाई न्यानोमा राख्न अस्थायी सेल्टर पनि खडा गर्ने सम्वन्धित जिल्लालाई निर्देशन गरेको छ ।