भरतपुर,२३ पुष ।
उद्योग वाणिज्य संघ चितवनको पूर्व कार्यसमिति सदस्य ज्ञानेन्द्रमान शाक्यले संघको ‘छवि’ जोगाउन वर्तमान कार्यसमिति असफल बनेको आरोप लगाएका छन् । उनी डा. तिलचन्द्र भट्टराईसँग झिनो मातान्तरले अध्यक्ष पदमा हार व्यहोरेका व्यक्ति हुन् । संघमा ६ कार्याकाल काम गरिसकेका शाक्य नेपाल सुनचाँदी व्यवसायी महासंघको निर्वर्तमान उपाध्यक्ष हुन् । उनी सुनचाँदी व्यवसायी संघ चितवनमा १२ वर्ष नेतृत्वदायी भूमिकामा थिए । उवासंघको अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका शाक्यले पूर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानको ‘प्यानल’ लाई समर्थन गर्ने घोषणा गरेका छन् ।
“म व्याक भएको होइन, अग्रज र संस्थाको सल्लाहमा सहनजीलाई समर्थन गरेको हुँ”, नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “कुशल नेतृत्व गर्न सक्ने टीम सहनजीको प्यालन हो, त्यसैले समर्थन गरेको छु ।” उनले संघमो गरिमा कायम गर्न वर्तमान कार्यसमिति असफल बनेको उनको आरोप छ । “हालका अध्यक्ष एकल निर्णय गर्न बढी रुचाउनुहुन्छ, राजनीतिकर्मी जस्तो झुट बोल्नुहुन्छ”, उनले भने, “टिमवर्क संघलाई चाहिएको छ, त्यसैले सहनजीको पक्षमा उभिएको छु ।” उवासंघ चितवनको नेतृत्वका लागि हालका बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र पूर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानले प्यानलनै बनाएर चुनावी मैदानमा होमिएका छन् । श्रेष्ठको पक्षमा हालका अध्यक्ष र प्रधानको पक्षमा पूर्वअध्यक्षहरु खुलेरै समर्थन गर्दै व्यवसायीसँग भोट भाग्दै हिँडेका छन् ।
“अप्ठ्यारा पर्दा ज्ञानेन्द्र नार्गाजुन छाडेर दरबार आउँछ”, व्यंग्य गर्दै उनले भने, “संघलाई बचाउन अब लाग्नुपर्ने देखेका छौँ, व्यवसायीक हितमा काम गर्ने नेतृत्वको पक्षमा उभिएका छौँ ।” केहि दिन पहिले अध्यक्ष राजन गौतमले पत्रकार सम्मेलन गरी चितवन महोत्सव–२०७३ को बचत रकमबाट विभिन्न संघसंस्थालाई गरिएको सहयोगबारे जानकारी गराएका थिए । “फुडफेष्टिबल गरेपछि हामीले सहयोग माग्यौँ, कार्यसमिति सकारात्मक बन्दा अध्यक्षले हुँदैन दिन मिल्दैन भन्नुभयो”, नेवा पुचः नारायणगढका अध्यक्ष शाक्यले भने, “पत्रकार सम्मेलनमा रकम दिएको छु भन्नुभएछ, हामीले पाएकै छैनौँ, झुट कहिलेसम्म चल्छ ।” उनले संघको क्रेज बचाउन खुलेरै पूर्व बरिष्ठ उपाध्यक्षको समूहलाई सहयोग गरेको बताए । यस्तै संघका पूर्वअध्यक्ष मदनलाल जोशीले उवासंघलाई सफल नेतृत्वको खाँचो रहेको बताए । “संघको अलिकति छवि विग्रेला, भत्केला भन्ने डर छ”, उनले भने, “पूर्वअध्यक्षका हैसियतले समर्थन गरेको छु, सक्षम युवापुस्ता जो शैक्षिकरुपमा पनि सक्षम छ, त्यसैले समर्थन गरेको छु ।” सो अवसरमा कपडा व्यवसायी संघ चितवनका निर्वतमान अध्यक्ष शंकरलाल श्रेष्ठले कपडा व्यवसायीको माग सम्बोधन गर्न वर्तमान कार्यसमितिले वेवस्ता गरेको आरोप लगाए । “न्यूनबिजकीकरणको समस्या हल गर्न हामीले ५ प्रतिशत भन्सार दर कायम गरिदिन पहलको अपेक्षा ग¥यौँ, विज्ञप्ति बुझायौँ, महासंघमा पठाउन भन्यौँ”, उनले भने, “तर, त्यो कता हरायो, थाहै भएन, राष्ट्रिय मुद्धालाईनै वेवास्ता भयो, हामी निराश छौँ ।” उनले लक्ष्मीनारायण बस्त्रालयको करछलिको मुद्धा अझै समाधान हुन नसकेको बताउँदै भने, “हामीले समस्या समाधान ग¥यौँ भन्दै भोट माग्न हिँडेको पाइयो, त्यो अझै हल भएको छैन, व्यवसायीको हितमा निर्णय गराउन सक्ने नेतृत्व खोजेका छौँ ।” वर्तमान अध्यक्षले मेनरोड समस्या समाधानमा काम गर्न नसकेपछि पूर्वसांसदको अगुवाईमा भएको कामलाई आँफैले गरेको भनि जस लिने काम गरेको, कर्मचारीलाई दबाबमा जागिर छाड्न बाध्य बनाइएको, पूर्वअध्यक्ष, कार्यसमितिसँग समन्वय गर्न नसकेको जस्ता आरोप लगाइएको छ ।
सो अवसरमा अध्यक्षका दाबेदार संघका पूर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानले शाक्यले गरेको समर्थनको स्वागत गरेका छन् । उनले सबै व्यवसायीलाई मिलाएर लैजाने प्रतिवद्धता जनाए । उनले अधिकांस वस्तुगत संघले आन्तरिक रुपमै समर्थन गर्ने तयारी थालेकोमा समेत स्वागत गरे । उनले भने, “विगतको अनुभव मार्फत संघको गरिमा बढाउँदै सामूहिक भावनाले अघि बढ्नेछौँ, व्यवसायीकै पक्षमा वकालत गर्ने संस्थाका रुपमा विकास गर्नेछौँ ।”