धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,२३ पुष ।
थारु समुदायको सस्ंकृति संरक्षण गर्ने उदेश्यका साथ यही पुष २८ गतेदेखी पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सव हुदैछ । थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ को आयोजनामा थारु समुदायको महान पर्व खिचरा (माघी ) को अवसर पारेर महोत्सव हुन लागेको हो । महोत्सवको जानकारी र तयारीका बारे आयोजकले शनिवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । खैरहनी नगरपालिका ५ जवकौली स्थित गौचरनमा हुन लागेको यो महोत्सव पाँचौ संस्करणको हो । थारु खानाका परिकारहरुको प्रचार प्रचार,थारु सस्कृति र सास्कृतिक शीपको विकास तथा समग्र कृषि,पर्यटन,व्यापार व्यवसायको प्रर्वद्धन गर्ने उदेश्यसले आयोजना गर्न लागिएको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा महोत्सवका संयोजक नारायण महतोले जानकारी दिए । “चितवन जिल्ला आदिमकालदेखीनै थारु समुदायको वसोवास रहेको ठाउँ हो”, महोत्सव संयोजक महतोले भने, “लोप हुन लागेको हाम्रो संस्कृति संरक्षण र पहिचानका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।” विगत पाँच वर्षदेखी यो समुदायले खैरहनीमा खिचरा महोत्सव गर्दै आएको छ । करिव २ सय वटा स्टल रहने सो महोत्सवमा थारु खानाका परिकारहरु लगायत अन्य फुड स्टल, थारु परम्परागत सांस्कृतिक घर र मचान, थारु लगायत विभिन्न जातीका सास्कृतिक नाच, अटो परिसर, प्रतियोगितात्मक कृषि उपज प्रर्दशनी लगायतको स्टल रहने महोत्सवका संयोजक महतोले बताए ।
यस वर्ष महोत्सवलाई थप आकर्षक बनाउन थारु जातिका मुख्य खाना मध्ये घोंघी र चिचरको पाँच फिट अग्लो मूर्ती प्रर्दशनी, प्रतियोगितात्मक थारु सांस्कृतिक घरेलु हस्तकला प्रर्दशनी,सेल्फी फोटो प्रतियोगिता,४० वर्ष उमेर नाघेका महिला पुरुषहरुको छुटछुट्टै दौड प्रतियोगिता, राष्ट्रियस्तरको नकाआउट भलिवल प्रतियोगिता, कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारीको व्यवस्था रहेको महोत्सवका संयोजक महतोले जानकारी दिए । महोत्सवको करिव ८० प्रतिशत भन्दा बढी काम पुरा भएकोे अयाोजकले जनाएको छ । पत्रकार सम्मेलनमा महोत्सवका प्रचार प्रसार समितिका संयोजक कारी महतोले थारु समुदायले प्रयोग गर्ने घोंघी र चिचरको महत्वबारे जानकारी गराएका थिए । माघ ८ गते सम्म चल्ने महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । पत्रकार सम्मेलनमा वोल्दै उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठ र चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डेले संघको समेत सयुक्त आयोजनामा महोत्सव गर्नु पर्नेमा जोड दिए । करिव २ लाख दर्शकले अवलोकन गर्ने सो महोत्सवमा १० करोड वरावरको कारोबार हुने आयोजकको अनुमान छ ।
पुरस्कारलाई मात्रै ४ लाख
खिचरा महोत्सव अन्र्तगत आयोजना गरिने विभिन्न प्रतियोगिताका लागि आयोजकले ठुलो धनरासी खर्च गर्ने तयारी गरेको छ । महोत्सवमा आयोजना गरिने थारु सास्कृतिक हस्तकला प्रर्दशनी,कृषि उपज प्रर्दशनी,भलिवल प्रतियोगिता, अन्तर हाजिरीजवाफ प्रतियोगिता, सेल्फी फोटो प्रतियोगिता, दौड प्रतियोगिता लगायत उत्कृष्ठ पत्रकारलाई नगद पुरस्कार प्रदान गर्न ४ लाख ३ हजार रुपैया खर्च हुने आर्थिक समितिका सयोजक संजय चौधरीले बताए । चौधरीका अनुसार कृषि उपज प्रर्दशनीमा २० वटा उपजका विजेताहरुलाई १ लाख,भलिवल प्रतियोगिताका प्रथम,द्धितिय र तृतियलाई ९० हजार,थारु सास्कृतिक हस्तकला प्रर्दशनीका लागि ४६ हजार,वक्तृत्वकला प्रतियोगिताका लागि १० हजार,दौड प्रतियोगिताका लागि ६० हजार रुपैया पुरस्कार प्रदान गरिने छ ।
एक टिकट एक जुस
महोत्सव अवलोकनका ५० रुपैयाँ र विद्यार्थीका लागि परिचयपत्रका आधारमा ३० रुपैया तोकिएको छ । महोत्सव अवलोकनका लागि उक्त रकम तिरेपनि दर्शकले भने यसमा अफर स्वरुप एउटा जुस समेत प्राप्त गर्नेछन् । महोत्सवका संयोजक नारायण महतोले प्रति टिकट एउटा जुस निशुल्क प्रदान गरिने जानकारी दिए । महोत्सवको मुख्य प्रायोजक रहेको पल्पी जुस प्रालिले प्रति टिकट २५ रुपैयाको एउटा जुस उपलव्ध गराउन लागेको हो । रु ५० को टिकटका लागि मात्रै जुस उपलव्ध गराईनेछ । यस्तै महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार वरावरको वम्पर उपहार समेत प्रदान गरिने छ ।